News Summary
Generated by OK AI. Editorially reviewed.- एलन मस्कले भविष्यमा युनिभर्सल हाई इनकमले गरिबी पूर्णरूपमा समाप्त हुने दाबी गरेका छन्।
- उनले एआई र प्रविधिको प्रयोगले उत्पादन प्रक्रिया छिटो र सस्तो हुने र सबैलाई उच्च आम्दानी प्राप्त हुने बताए।
- मस्कको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा गरिबी अन्त्य र उत्प्रेरणाको विषयमा व्यापक बहस सुरु भएको छ।
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्ना अभिव्यक्तिका कारण प्रायः चर्चा तथा विवादमा आइरहने गर्छन् । उनको सोच सधैं समयभन्दा एक कदम अगाडि रहेको मानिन्छ । कहिले उनी एआइका कारण भविष्यमा मानिसलाई कार्यालय गएर जागिर गर्नुपर्ने आवश्यकता नरहने बताउँछन् त कहिले पृथ्वीबाहिर मानव बस्ती बसाउने कल्पना प्रस्तुत गर्छन् । उनका यी विचारलाई विश्वले गम्भीरतापूर्वक लिने गरेको छ ।
पछिल्लोपटक एलन मस्क यस्तै अभिव्यक्तिका कारण समाचारको विषय बनेका छन् । यसपटक उनले भविष्यमा संसारबाट गरिबी पूर्णरूपमा समाप्त हुने दाबी गरेका छन् । अर्बपति लगानीकर्ता रे डालियोले ‘ट्रम्प अकाउन्ट्स’ प्रस्तावको समर्थन गरेपछि त्यसप्रति प्रतिक्रिया जनाउँदै मस्कले यस्तो बताएका हुन् ।
‘ट्रम्प अकाउन्ट्स’ प्रस्ताव बालबालिकाका लागि लगानी खाता खोल्ने अवधारणासँग सम्बन्धित छ, जसलाई अमेरिकाको ट्रम्प प्रशासनले अघि बढाइरहेको छ । एलन मस्कले यस पहललाई सकारात्मक कदम भनेका छन् । तर भविष्यमा यसको आवश्यकता नै नपर्ने दाबी उनको छ । मस्कका अनुसार भविष्यमा प्रत्येक व्यक्तिलाई विश्वव्यापी उच्च आय (युनिभर्सल हाई इनकम) प्राप्त हुनेछ र गरिबी एकादेशको कथा बन्नेछ।
युनिभर्सल हाई इनकम भनेको के हो ?
युनिभर्सल हाई इनकम भन्नाले यस्तो प्रणालीलाई जनाउँछ, जहाँ हरेक व्यक्तिको आम्दानी यति पर्याप्त हुन्छ कि आधारभूत आवश्यकताका लागि उसले संघर्ष नै गर्नुपर्दैन । एलन मस्कका अनुसार एआई र प्रविधिको प्रयोगबाट उत्पादन प्रक्रिया अत्यन्तै छिटो र सस्तो हुनेछ जसका कारण सबै मानिसलाई सम्मानजनक र उच्च आम्दानी उपलब्ध हुन सक्छ।
अर्बपति डालियो र मस्कको सवालजवाफ
सोसल मिडिया प्लेटफर्म एक्समा अर्बपति रे डालियोले एउटा पोस्ट गर्दै लेखे- म व्यक्तिगत रूपमा ट्रम्प प्रशासनले ट्रम्प अकाउन्ट्स सुरु गरेकोमा प्रशंसा गर्छु । डेल परिवारको समर्थन तथा डालियो फिलान्थ्रोपिज लगायत अन्य संस्थाहरूलाई यसमा सहभागी गराउने निर्णय पनि सह्रानीय छ।
डालियोको उक्त पोस्टमा प्रतिक्रिया जनाउँदै एलन मस्कले डेल परिवारको सो पहल निश्चय नै राम्रो भएता पनि भविष्यमा गरिबी नै नहुने भएकाले पैसा बचत गर्नुपर्ने आवश्यकता नै नपर्ने दाबी गरेका छन् । उनका अनुसार भविष्यमा सबैले युनिभर्सल हाई इनकम प्राप्त गर्नेछन् ।

एलन मस्कको सो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ । एकजना प्रयोगकर्ताले प्रश्न उठाएका छन्- यदि सबै कुरा लगभग निःशुल्क हुने हो भने मानिसहरूले के उत्प्रेरणाले वस्तु उत्पादन गर्ला त ?
साथै अर्का एकजना प्रयोगकर्ताले चाहिं ५ वर्षको बालकले समेत बुझ्ने गरी यस विषयको व्याख्या गर्न अनुरोध गर्दै वर्तमानमा सबै पैसा जसको हातमा छ उसले नै किन यस्तो चाहन्छ ? भन्ने प्रश्न गरेका छन् ।
त्यसैगरी गरिबी अन्त्य गर्नु प्रविधिसँग सम्बन्धित विषय भएता पनि मानव सोच छिट्टै नयाँ अवस्थासँग अभ्यस्त हुने र सापेक्ष गरिबी अन्त्य भएपनि गरिबीको मानसिकता सधैँ रहिरहने कतिपयको तर्क छ।
केहीले चाहिँ सयौं अर्ब डलरका मालिक मस्कले अरूलाई पैसा बचत नै गर्नु पर्दैन भन्नु हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।
स्मरण रहोस् काम र रोजगारीबारे एलन मस्कले यस्ता खालका धारणा व्यक्त गरेको यो पहिलो पटक होइन। यसअघि सन् २०२४ मा पेरिसमा आयोजित एक सम्मेलन क्रममा उनले भनेका थिएः यदि सबै कुरा अहिलेकै दिशमा अघि बढ्यो भने भविष्यमा सायद हामीमध्ये कसैसँग पनि जागिर नै रहनेछैन ।
एजेन्सी
प्रतिक्रिया 4