News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार मुकेश श्रेष्ठको आठौँ एकल चित्रकला प्रदर्शनी \'भैरवभाव\' दरबारमार्गस्थित ग्यालरी १०८ मा सुरु भएको छ।
९ पुस, काठमाडौं । कलाकार मुकेश श्रेष्ठको आठौँ एकल चित्रकला प्रदर्शनी ‘भैरवभाव’ सुरु भएको छ । दरबारमार्गस्थित ग्यालरी १०८ मा उपत्यकाका विभिन्न स्थानमा स्थापित रक्षा र न्यायका देवता ‘भैरव’का विविध स्वरूपहरूलाई समेटेर यस प्रदर्शनी सुरु भएको हो ।
कलाकार श्रेष्ठका अनुसार यस ‘भैरव शृङ्खला’ को जन्म गत भदौ २३ र २४ गते सुशासनको माग गर्दै भएको जेनजी विद्रोहको पृष्ठभूमिमा भएको हो । भ्रष्टाचार विरोधी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको पीडा र युवा जमातले खोजेको न्यायपूर्ण व्यवस्थालाई उनले भैरवको स्वरूपसँग तुलना गरेका छन् । जुन यस प्रदर्शनीमा हेर्न सकिने छ ।
जेनजी विद्रोहपछि नेपाली युवाले चाहेको पारदर्शी र जवाफदेही व्यवस्थाका लागि समय (काल) अनुसार न्याय गर्ने देवता भैरव हुन् भन्ने अठोटका साथ यो शृङ्खलामा काम गरेको कलाकार श्रेष्ठको भनाइ छ ।
प्रदर्शनीमा कालभैरव, बाघभैरव, आकाशभैरव, उन्मत्तभैरव, बटुकभैरव, कीर्तिमुखभैरव र श्वेतभैरवका साथै उमामहेश्वरको चित्रकला समावेश छन् । प्रदर्शनी ३१ जनावरीसम्म हेर्न सकिनेछ ।
प्रतिक्रिया 4