+
+
Shares

पुस्तागत जिम्मेवारी र जेन–वाईको भूमिका

सहदेव धमला (बिमल) सहदेव धमला (बिमल)
२०८२ पुष ११ गते ८:००

संसारका प्राय: सबै सफल परिवर्तन र आन्दोलनहरू स्पष्ट उद्देश्य, निश्चित गन्तव्य र ठोस कार्ययोजनामा आधारित देखिन्छन् । राजनीतिक होस् वा सामाजिक, परिवर्तन तब मात्र अर्थपूर्ण हुन्छ जब त्यसले व्यक्तिको प्रत्यक्ष जीवनमा अनुभूतियोग्य सुधार ल्याउँछ । तर, नेपालमा भएका पछिल्ला परिवर्तनहरूले त्यस्तो विश्वासको वातावरण निर्माण गर्न सकेका छैनन् । यसको पछिल्लो प्रमाणका रूपमा जेन्जी पुस्ताको नेतृत्वमा भइरहेका आन्दोलन र बढ्दो असन्तुष्टिलाई लिन सकिन्छ ।

यो अवस्थाको मूल कारण के हो ? आजको भाषामा भन्दा सत्ता सञ्चालनमा रहेका पुस्ताहरूको अदूरदर्शिता, सत्ता मोह र परिवारवाद नै यसका प्रमुख कारक हुन् । राजनीति सेवाभाव र नवीन सोचको माध्यम बन्नुपर्नेमा राज्य स्रोतको दोहनमार्फत व्यक्तिगत र पारिवारिक आर्थिक सुरक्षाको साधन बन्दै गएको छ ।

राज्य राज्यजस्तो नबन्नु र प्रशासनले सुशासन कायम गर्नुको सट्टा ‘नाफा केन्द्र’ को रूपमा काम गर्नु गम्भीर चिन्ताको विषय हो । नीति निर्माणमा वस्तुगत मूल्यांकन र उत्तरदायित्वको सट्टा घुसखोरी र पहुँचका आधारमा निर्णय हुने प्रवृत्तिले राज्य संयन्त्रप्रति जनविश्वास कमजोर बनाएको छ । सेवा अवधिपछि पनि नीतिगत निर्णयमा प्रभाव जमाइरहने र विदेशी सहायता वा सामाजिक प्रशंसालाई ‘आर्थिक हैसियत’सँग जोड्ने संस्कारले संस्थागत सुशासनलाई ध्वस्त पारेको छ ।

प्रहरी प्रशासनले सार्वजनिक सुरक्षाभन्दा व्यक्तिगत लाभलाई प्राथमिकता दिनु र त्यसरी अकुत सम्पत्ति आर्जन गर्नेहरू समाजमा सम्मानित हुनु राज्य असफलताको संकेत हो । सैनिक संस्थासमेत आफ्नो मूल भूमिकाभन्दा बाहिर व्यवसाय र नाफातर्फ आकर्षित हुनु र क्षणिक लाभका लागि सामरिक संवेदनशीलतालाई नजरअन्दाज गर्नु राष्ट्रिय सुरक्षाका लागि चुनौतीपूर्ण छ ।

शिक्षा र मानव संशाधनमा देखिएको रिक्तता

शिक्षा र मानव संसाधन विकासमा राज्यको असफलता झनै गहिरो छ । उत्पादित शैक्षिक जनशक्तिलाई उपयुक्त क्षेत्रमा प्रयोग गर्न नसक्नु र विदेशिनुलाई नै सामाजिक सफलता ठान्नु आजको ठूलो दुर्भाग्य हो । विकासका मोडेलहरू प्रयोगमै सीमित छन्, नवप्रवर्तनमा युवाको सहभागिता न्यून छ र प्रतिभा पलायनलाई नै उपलब्धिका रूपमा प्रस्तुत गरिँदैछ ।

सेवाभावबाट अघि बढ्नुपर्ने शिक्षक, डाक्टर, इन्जिनियर, पाइलट र वैज्ञानिकजस्ता पेशाहरूलाई पनि आज योगदानभन्दा आम्दानीको आधारमा मूल्यांकन गर्न थालिएको छ । यो प्रवृत्ति असफल राज्यको परिचायक हो ।

अभाव र आधुनिकताको साक्षी पुस्ता

जेन–वाई पुस्ता नेपालको सबैभन्दा अनुभवी र संक्रमणकालीन पुस्ता हो । यो पुस्ताले अभाव र सम्पन्नता दुवै भोगेको छ– कोदोको रोटीको अभावदेखि पाँचतारे होटलको व्यञ्जनप्रतिको अरुचिसम्म । रोदी, मेला र पर्वजस्ता परम्परागत संस्कृतिदेखि आधुनिक पप क्लबसम्मको यात्रा यही पुस्ताले देखेको छ । गुरुकुल शिक्षादेखि अनलाइन कक्षासम्म, हतियारयुक्त संघर्षदेखि शान्तिपूर्ण जनआन्दोलनसम्म र अहिलेको डिजिटल तथा एआई (कृत्रिम बौद्धिकता) को युगलाई यही पुस्ताले आत्मसात् गरेको छ ।

पैदल हिँडेर सहर पुग्ने समयदेखि विश्व भ्रमणसम्म, अनि सुका–मोहरबाट जीवन धानेको अवस्थादेखि डिजिटल र माइनिङ करन्सीमार्फत अन्तर्राष्ट्रिय कारोबार गर्ने समयसम्मको साक्षी यही पुस्ता हो । त्यसैले, अब यो पुस्ता जिम्मेवारीबाट पन्छिन मिल्दैन । यदि यो पुस्ता अग्रसर भएन भने नेपाल भूगोलमा मात्र सीमित भई यसको सामाजिक संरचना, सांस्कृतिक मूल्य र राष्ट्रिय पहिचान गुम्ने जोखिम छ ।

परिवर्तनको सामाजिक प्रभाव र भ्रम

पछिल्लो राजनीतिक परिवर्तनले समाजमा व्यापक निराशा र नकारात्मक सोच बढाएको छ । उद्यमशीलताभन्दा ‘दलाली प्रवृत्ति’ हावी भएको छ । विदेशिनुलाई प्रतिष्ठासँग जोड्ने गलत भाष्य निर्माण गरिएको छ । खाडी मुलुकमा श्रम गर्ने युवाप्रति सम्मान हुनुपर्छ, तर उनीहरूको बाध्यतालाई देशप्रति वितृष्णा फैलाउने अस्त्र बनाउनु भ्रम मात्र हो ।

भ्रष्टाचार वा अनुचित माध्यमबाट प्राप्त धनलाई सफलताको मापदण्ड मान्ने सोच स्थापित हुँदैछ । विकास दिगोपनभन्दा देखावटी र क्षणिकतामा सीमित छ । समाजसेवालाई प्रचार सामग्री बनाएर व्यापार गर्ने संस्कारले सामाजिक विश्वासमा गम्भीर संकट थपेको छ ।

अबको निकास र कार्यदिशा

अब समाधान खोज्नु अपरिहार्य छ । यसका लागि निम्न कदमहरू चाल्नुपर्छ:

१. अनुभवीको सम्मान, युवाको नेतृत्व : लामो समय योगदान दिएका व्यक्तिहरूलाई संरक्षकको भूमिकामा राखी उनीहरूको अनुभव उपयोग गर्ने र कार्यकारी भूमिकामा युवालाई अघि सार्ने ।

२. जवाफदेहिता : सार्वजनिक पदमा बसेका व्यक्ति वा उनीहरूको परिवारको सम्पत्ति र भूमिकामाथि निष्पक्ष छानबिन गर्ने ।

३. सिर्जनशीलताको प्रयोग : जेन–जेड र जेन–वाई पुस्ताको ऊर्जा र नवप्रवर्तनलाई उत्पादन र उद्यमशीलतासँग जोड्ने ।

४. पेशागत मर्यादा : शिक्षक, डाक्टर, इन्जिनियर र वकिलजस्ता सेवामूलक पेशाप्रति उच्च सामाजिक सम्मान पुनर्स्थापित गर्ने ।

५. प्रशासनिक सुधार : निजामती प्रशासनलाई पारदर्शी र सेनालाई राष्ट्रिय सुरक्षा एवं गोपनीयतामा केन्द्रित गर्ने । राज्यलाई धोका दिनेहरूमाथि कडा कारबाही गर्ने ।

अन्त्यमा,

राष्ट्रिय पूँजीको संरक्षण गर्दै उद्यमशीलतालाई युवाको आकर्षण बनाउनु आजको मुख्य आवश्यकता हो । जेन–वाई पुस्ताले यी समस्याको समाधानमा सेतुको भूमिका खेल्नुपर्छ । परिवर्तनको वास्तविक दिशानिर्देश गर्ने ऐतिहासिक जिम्मेवारी अब यही पुस्ताको काँधमा आएको छ ।

लेखक
सहदेव धमला (बिमल)

धमला पर्यटन व्यवसायी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?