News Summary
Generated by OK AI. Editorially reviewed.- तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बैशाख ४ देखि सुर्खेतमा सुरु हुँदैछ र यसले कर्णालीका कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्य राखेको छ।
- महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्रमार्फत पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताउनुभयो।
- वन तथा वातावरणमन्त्री माधव चौलागाईंले कर्णालीको आत्मविश्वास बढाउने प्रमुख माध्यम चलचित्र भएको उल्लेख गर्दै कला मानिसको सोच परिवर्तन गर्न सक्ने माध्यम भएको बताउनुभयो।
काठमाडौं । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ ।
विहिबार आयोजित पत्रकार सम्मेलन तथा समारोहमा यसबारे जानकारी दिइयो । महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णालीका लुकेका कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यले ‘गन्तव्य कर्णाली’ अभियान अघि बढाइएको हो ।
‘कर्णालीका कथालाई चलचित्रमा रूपान्तरण गर्न हामीले कथा आह्वान गरेका छौँ । उत्कृष्ट कथालाई वैशाखमा सम्मान गरिनेछ र सम्भव भए चलचित्र निर्माण पनि गरिनेछ’ उनले भने ।
चलचित्रमार्फत पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्नु महोत्सवको अर्को उद्देश्य रहेको उनले बताए ।
वन तथा वातावरणमन्त्री माधव चौलागाईंले कर्णालीको आत्मविश्वास बढाउने प्रमुख माध्यम नै चलचित्र भएको उल्लेख गर्दै भने, ‘कला यस्तो माध्यम हो जसले छोटो समयमा मानिसको सोच परिवर्तन गर्न सक्छ । मौलिक कथाका लागि कर्णाली उत्कृष्ट ‘हटस्पट’ हो ।’
अभिनेता प्रदीप खड्काले कर्णालीलाई दयाको दृष्टिले होइन, गौरवको दृष्टिले हेर्नुपर्नेमा जोड दिए । ‘कर्णाली हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल हो । नेपाली चलचित्र ढिला सुरु भए पनि मौलिकतामा हामी पछि छैनौँ । यदि नेपाली चलचित्रलाई नयाँ उचाइमा लैजाने हो भने त्यसको केन्द्र कर्णाली हुन सक्छ’ उनले भने ।
पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले यस्तो किसिमका कार्यक्रमले नीतिगत तहमा समेत सकारात्मक बहस सिर्जना गर्ने बताए । उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणाले महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने विश्वास व्यक्त गरिन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्म पर्यटनको प्रभाव प्रत्यक्षरूपमा मापन गर्न नसकिए पनि चलचित्रमा देखाइएका दृश्यले पर्यटकलाई स्वाभाविक रूपमा आकर्षित गर्ने बताए ।
महोत्सव ४ चरणमा सञ्चालन हुने आयोजकले जनाएको छ । सुर्खेतमा तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बैशाख ४ मा हुनेछ । गुराँस चलचित्र पर्यटन संवाद वैशाख ५ मा, कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड काठमाडौंमा बैशाख २६ मा, जुम्ला तातोपानी पर्यटन चलचित्र जलवायु समिट जेठ २७ मा हुनेछ ।
प्रतिक्रिया 4