News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले अर्घाखाँचीको सितगङ्गा–११ मा प्रहरी छापामारीको विरोधमा चार दिने देशव्यापी संघर्ष कार्यक्रम घोषणा गरेको छ।
- माओवादीले १२ देखि १५ पुससम्म मशाल जुलुस, कोणसभा, विरोध प्रदर्शन र अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ।
- प्रहरीले ११ पुसमा कम्युनमा छापा मारेपछि माओवादीले सरकारले शान्तिपूर्ण निकास नचाहेको र स्वेत आतंक मच्चाएको आरोप लगाएको छ।
१२ पुस, काठमाडौं । अर्घाखाँचीको सितगङ्गा–११ मा रहेको कम्युनमा प्रहरीले छापा मारेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
नेकपा माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले मशाल जुलुस, कोणसभा, विरोध प्रदर्शनलगायत संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले चार दिने देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरिएको जनाए ।
उनका अनुसार केन्द्रीय कम्युनमा प्रहरी हस्तक्षेप र अपरेशनको विरोधमा आज शनिबार बेलुकी ६ बजे मशाल जुलुस निकालिनेछ ।
१३ पुसमा दिउँसो २ बजे कोणसभा, १४ पुस दिउँसो २ बजे विरोध प्रदर्शन र १५ गते दिउँसो १ बजे काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
११ पुसमा सुरक्षाकर्मीको एक टोलीले अर्घाखाँचीको सितगङ्गा ११ मा रहेको नेकपा माओवादीले सञ्चालन गरिरहेको कम्युनमा छापा मारेको थियो । त्यसक्रममा केही हतियार र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
नेकपा माओवादीले भने सरकारले आफ्नो कम्युन र सर्वसाधारण जनताको घरमा छापा मारेर स्वेत आतंक मच्चाएको दावी गरेको छ ।
११ पुसमै विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डले सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने प्रचार गर्ने र अर्कोतिर माओवादीका उत्पादन केन्द्र र सर्वसाधारण जनताका घरमा छापा मार्ने कार्य गरेर स्वेत आतंक मच्चाएको जिकिर गरेका थिए ।
विज्ञप्ति मार्फत् उनले छापामारीको घटनाले सरकारले शान्तिपूर्ण निकास नचाहेको र देशलाई अशान्तितिर घकेल्न चाहेको पुष्टि भएको दावी गरेका छन् ।
प्रतिक्रिया 4