+
+
Shares

क्यान्सर बिरामीको उपचार कोष बनाउन एक महिने ‘साइक्लिङ’

झापा, इलाम हुँदै पाँचथरको चिवाभञ्याङसम्म हुनेछ साइक्लिङ

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ पुष १२ गते १५:१२

१२ पुस, काठमाडौं । विभिन्न क्यान्सर रोगबाट पीडित भएकाहरूको उपचारका लागि कोष निर्माण गर्ने उद्देश्यले १८ सय किलोमिटर लामो साइकल यात्रा हुने भएको छ ।

आगामी जनवरी १ बाट सुरु हुने यो यात्राको अन्तिम तयारी पूरा भएको शनिबार आयोजकहरूले जानकारी गराएका छन् ।

साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्यसहित विभिन्न संघसंस्था तथा व्यक्तिसँगको समन्वय र सहयोगमा साइकल यात्रा गर्न लागेको हो ।

क्यान्सर विजेताहरुको अगुवाइमा मध्यपहाडी लोक मार्गमा साइक्लिङ गरेर उपचार कोष निर्मार्ण गर्न लागिएको हो । यस वर्षको साइक्लिङ झापा, इलाम हुँदै पाँचथरको चिवाभञ्याङसम्म हुने आयोजकले बताएको छ ।

कोष निर्माणको उद्देश्य गरिबीको रेखा मुनि रहेका असाहाय क्यान्सर विमारीहरुको उपचारमा सहयोग पुरर्‍याउनु रहेको संयोजक तारालाल श्रेष्ठले अनलाइनखबरसँग भने ।

‘स्वस्फूर्त आर्थिक तथा अन्य सहायतालाई एकत्रित गरि प्राप्त सहयोग निमुखा क्यान्सर बिमारीको उपचारमा टेवा पुर्‍याउन प्रयोग गरिने ,’ उनले भने, ‘हामी यसबाट वृहत सन्देश फैलाउनेगरी लागेका छौं ।’

यस वर्ष क्यान्सर बिमारी सहायता कोषका लागि ऐतिहासिक साइकल यात्राको थालनी गरिएको हो ।

उक्त यात्रामा जान लागेका साइक्लिस्टहरूलाई मनोबल बढाउनेगरी शनिबार एक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममार्फत साइक्लिङमा निस्कन लागेकाहरूलाई शुभकामना पनि आदानप्रदान गरिरएको छ ।

एक महिनासम्म जारी रहने यस साइकल यात्रामा विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरिने छ । कतिपय स्थानमा स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिने छ । स्थानीय संघसंस्थाले आफ्नो क्षेत्रमा विविध कार्यक्रमको आयोजनासहित यस यात्रालाई सहयोग गर्न सक्ने छन् ।

क्यान्सरबाट संघर्षरतको अगुवाइ

संयोजक श्रेष्ठका अनुसार, पाँचथर चिवाभञ्याङबाट सुरु भई बैतडी झुलाघाट पुगेर अन्त्य गरिने यस साइकल यात्राको नेतृत्व क्यान्सरसँग संघर्षरत साइक्लिस्ट हर्क लामाले गर्ने छन् ।

लामाको सन् २०२० मा उनको पिसाव थैलीमा क्यान्सर देखिएपछि धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा पनि उनले पहिलेझै सक्रिय साइक्लिङलाई निरन्तरता दिएका थिए ।

क्यान्सर उपचार पश्चात पनि साइकल प्रतियोगिताहरू जित्दै आइरहेका उनी अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताहरुमा समेत सहभागी भइरहन्छन् । अफ्रिकामा आयोजित साइकल प्रतियोगिता केप इपिक–२०२५ मा पनि उनी सहभागी भएका थिए ।

उनी तीन पटक राष्ट्रिय साइकल प्रतियोगिताको विजेता बनेका थिए ।

त्यस्तै, स्तन क्यान्सरको तेस्रो चरणबाट उठेर साइकलमार्फत सक्रिय सकारात्मक जीवनशैली अपनाई आएकी कविता चित्रकार हर्क लामासँगै उक्त साइकल यात्रामा सहभागी हुनेछिन् ।

उनले संसारकै उच्चतम हिमालमा आयोजना गरिने अन्तर्राष्ट्रिय साइकल प्रतियोगिता याक अट्याक–२०२५ मा सहभागी भइ अन्नपूर्ण सर्किट थोरोला पास यात्रा सम्पन्न गरेकी थिइन् ।

नेपाली महिला साइकल समुदाय माझ कविता चित्रकार एक नमुना साहसिक नवसाइक्लिस्टको रुपमा परिचित छिन् ।

जन्मदिने आमा र दिदी दुवै उनको काखमै क्यान्सरका कारण वितेको यथार्थ भोगेकी कविताले आफू पनि क्यान्सरको अन्तिम स्टेजमा पुगेको यथार्थ सामना गर्न असमर्थझै बनेको अवस्थामा साइकलको सहाराबाट नयाँ जीवन पाएको बताउँदै आएकी छिन् ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?