+
+
Shares

कार्यकारी भूमिका खोज्दा रवि-बालेन एकतामा छुटे कुलमान

रास्वपा र बालेनले प्रमुख दुई कार्यकारी पदमा भागबण्डा गरेपछि उज्यालो नेपाल एकताबाट बाहिर परेको छ । तीन शक्तिबीच एकताका लागि प्रयास भइरहँदा तेस्रो शक्ति उज्यालो नेपाललाई अवमूल्यन गरिएको उक्त दलको निष्कर्ष छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ पुष १३ गते १८:११

वैकल्पिक शक्तिहरूको एकताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरका प्रमुख बालेन शाह अघि ऊर्जामन्त्री कुलमान घिसिङसँग संवाद गरेको थियो । कुलमान संलग्न उज्यालो नेपाल पार्टी गठन गर्नुअघि रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसँग उनको लामो संवाद भएको थियो ।

रास्वपाको सभापति आफू हुनुपर्ने अडान कुलमानले राखे । उपसभापतिसहित पार्टीमा आउन स्वर्णिमले आग्रह गरे । भावी प्रधानमन्त्री कुलमानलाई बनाउन पनि रास्वपा तयार भएको थियो । तर, उनी सभापतिको अडानमै रहँदा दुईपक्षमा सहमति जुट्न सकेन ।

रास्वपासँग मिल्न नसक्ने निचोडसहित उनी पार्टी गठनमा लागे । पूर्वसचिव अनुप उपाध्यायलाई अध्यक्ष बनाएर निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टी दर्ता गरियो ।

यता, रास्वपाले भने कुलमानसँगको च्याप्टर क्लोज भइरहेको बेला काठमाडौं महानगरका प्रमुख बालेन पक्षसँग संवाद जारी राखेको थियो । रास्वपा उपसभापति वाग्ले, नेता शिशिर खनाल लगायत बालेनका सल्लाहकार कुमार बेनसँग निरन्तर संवादमा थिए ।

त्यसै क्रममा रास्वपा सभापति रवि लामिछाने कारागारबाट रिहा भएसँगै दुवै पक्षसँग संवाद सुरु भयो । रवि–कुलमान, रवि–बालेन, कुलमान–बालेनबीच गत साता पटक पटक संवाद भयो ।

बालेन रास्वपामा जोडिने वा उज्यालो नेपालमा एकीकृत हुने वा बालेनको रुची अनुसार गठन भएको देशविकास पार्टीमा उज्यालो नेपाल पार्टी समायोजन हुने गरी फरक-फरक विकल्पमा छलफल भइराखे ।

अन्ततः बालेन रास्वपामा प्रवेश गरेका छन् । तीन शक्ति मिलाएर एकता गर्ने विषय तत्कालका लागि टरेको छ । कुलमानसहितको एकतामा जोड दिएका बालेन एउटा पक्ष विना एकता गर्न तयार भएका छन् ।

आइतबार बिहानी प्रहरमा भएको सहमतिमा ‘रास्वपाको नेतृत्व रविले गर्ने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने’ उल्लेख छ ।

रास्वपाको दोस्रो वरीयतामा बालेन हुने सहमति बनेको छ ।

संवादमा संलग्न नेताहरूका अनुसार कुलमानसँग एकता हुन नसक्नुको प्रमुख कारण शक्ति भागबण्डा हो । तीन शक्तिको मिलन हुँदा एकपक्षको अवमूल्यन गरेर एकता हुन नसक्ने उज्यालो नेपालका नेताहरूको भनाइ छ ।

तीन उपसभापति हुने र समान वरीयताको हुने गरी जोडिन आग्रह गरेका हौं । त्यो भन्दा माथिल्लो पद दिने अवस्था थिएन- रास्वपाका एक नेता

उज्यालो नेपालका शीर्ष तहका एक नेता भन्छन्, ‘एउटा पार्टीको नेतृत्वमा हुने अर्को व्यक्ति भावी प्रधानमन्त्री बनाउने भनेर सहमति उन्मुख भइसकेपछि तेस्रो शक्तिको स्थान कहाँ भयो ?’ रास्वपासँग एकता गर्दा लतारिएर नजाने संकेत शनिबार बिहान नै कुलमानले गरेका थिए । बालेनसँग संवाद हुनुअघि बौद्धमा आयोजित कार्यक्रममा कुलमान अस्तित्व नामेट हुने गरी एकता नहुने प्रष्टाएका थिए ।

कुलमानको भनाइ थियो, ‘एकताको अर्थ अरुलाई समाप्त गर्नु होइन । सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुनेगरी अघि बढ्नु नै साँचो एकता हो ।’ रास्वपाको नाम नलिई अरुको अस्तित्व स्वीकार्न कुलमानले सुझाव दिएका थिए ।

प्रमुख दुई पदमा भागबण्डा गरिसकेपछि उज्यालो नेपाल बिच्किएको थियो । रास्वपा नेताहरूका अनुसार उपसभापति पद सहित एकतामा आउन कुलमानलाई आग्रह गरिएको थियो । त्यसका लागि कुलमान तयार भएनन् ।

रास्वपाका एक नेता भन्छन्, ‘तीन उपसभापति हुने र समान वरीयताको हुने गरी जोडिन आग्रह गरेका हौं । त्यो भन्दा माथिल्लो पद दिने अवस्था थिएन ।’ दुई अध्यक्ष हुनेगरी विकल्प खोज्न सकिने हुँदा समेत रास्वपा र बालेन तयार नभएको उज्यालो नेपाल पार्टीका नेताहरूको बुझाइ छ । ‘महाधिवेशनसम्म दुई सभापति वा कुलमानलाई सह-अध्यक्ष बनाएर एकता गर्न सकिने थियो । उहाँहरूले दुई पक्ष भएपछि अरु नचाहिने जस्तो गर्नुभयो,’ उज्यालोका एक नेता भन्छन् ।

शुक्रबार साँझदेखि रवि–बालेनको संवाद अनिश्चित बनिरहेको बेला शनिबार कुलमानको उक्त भनाइ आएको थियो । रास्वपाले अवमूल्यन गरेको निष्कर्ष उज्यालोको केन्द्रीय समिति बैठकले समेत निकालेको थियो । शनिबारको केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘सबैको सहअस्तित्वलाई स्थापित हुनेगरी उज्यालो नेपाल पार्टी सदैव एकताको पक्षमा रहेको आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरियो ।’

बौद्धमा भएको केन्द्रीय समितिको बैठकमा सहभागी एक नेताका अनुसार सभापति, भावी प्रधानमन्त्री पदमा भागबण्डा गर्दा उज्यालोलाई ‘माइनस’ गरिएको हुँदा एकतामा समस्या परेको हो । उनका अनुसार पार्टीको नाम र चुनाव चिह्न उज्यालो नेपाल पार्टी र चिम राखेमा आफूहरू सभापतिदेखि प्रधानमन्त्रीसम्म छोड्न उनेपा तयार थियो ।

नेताहरूका अनुसार रास्वपाको जोड कुलमानसँग भन्दा बढी बालेनसँग थियो । कुलमानको महत्वकांक्षा बढी रहेको हुँदा मिल्नका लागि कठिनाइ भएको रास्वपाका नेताहरूको भनाइ छ । कुलमानसँग संवाद गर्दै आएका रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले भन्छन्, ‘उहाँको चाहना बढी कार्यकारी भूमिकातिर थियो । उहाँ प्रधानमन्त्रीकै पनि आकांक्षी हुनुहुन्थ्यो । त्यो पनि सम्भव छ भनेर हामीले भनेका थियौं । तर पहिला निर्वाचनमा जानुपर्‍यो, जित्नुपर्‍यो र उल्लेख्य मत ल्याउनुपर्‍यो भन्ने थियो । त्यहाँ अलिकति ‘सिक्वेन्सिङ’ नमिलेको हो कि जस्तो मलाई लागेको छ ।’

एकतामा सम्भव नहुनुमा आफूलाई कम आकलन गरिएको निष्कर्षमा कुलमान पुगेका छन् । आइतबार पोखरा पुगेर रास्वपासँग एकता हुन नसक्नुको कारण खुलाएका छन् । पार्टीको नाम, चुनाव चिह्न पनि रास्वपाकै र नेतृत्व तथा प्रधानमन्त्री पनि उनीहरूले नै भनेको हुने अडानपछि वार्ता नमिलेको उनले बताए ।

‘सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अगाडि बढ्ने हो,’ उनले भने ।

रवि र बालेनले हस्ताक्षर गरेको सहमतिपत्र अनुसार रास्वपा जोडिने हो भने पार्टीको सिद्धान्त, नेतृत्व चुनाव चिन्ह स्वीकारेर मात्रै प्रवेश सम्भव छ ।

कदाचित् कुलमानले एकता गर्दा नेतृत्व, चुनाव चिह्न लगायत स्वीकारेर मात्रै सम्भव हुनेछ । त्यही सातौं बुदाँमा उल्लेखित सहमति अनुसार अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई एकतामा जोडिन आह्वान गर्ने उपसभापति वाग्ले बताउँछन् ।

एकताको सम्भावना सम्पूर्ण रुपमा नसकिएको कुलमान बताउँछन् । आइतबार पोखरामा उनले भने, ‘आगामी दिनमा रिजल्ट पनि आउनेमा म विश्वास व्यक्त गर्न चाहन्छु ।’

उज्यालो नेपाललाई अवमूल्यन गरेको निष्कर्षमा पुगेका उक्त दलका नेताहरू दुई पक्षको एकतालाई सहजै लिन सकेका छैनन् । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम लामाले रास्वपासँग बालेन पक्षको एकताले जेनजी आन्दोलनको मूल भावनालाईे समेट्न नसकेको बताउँछन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?