+
+
Shares

कर्जा निक्षेप अनुपात ७४ प्रतिशतमा झर्दा पनि केही बैंकको पूँजीकोष दबाब कायमै 

कर्जा माग न्यून हुँदा पनि बैंकहरूको जोखिम भारित सम्पत्तिमा कमी नआउँदा पूँजी कोष दबाब कायमै देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आधा दर्जन बैंकको प्राथमिक पूँजी कोष नियामकीय सीमा नजिक रहेको जनाएको छ।
  • बैंकहरूको कर्जा माग न्यून हुँदा पनि जोखिम भारित सम्पत्तिमा कमी नआउँदा पूँजी कोष दबाब कायमै रहेको छ।
  • असोजसम्म बैंकहरूको औसत खराब कर्जा कुल कर्जाको ५.०३ प्रतिशत रहेको र नौ वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा बढी रहेको केन्द्रीय बैंकले खुलाएको छ।

१३ पुस, काठमाडौं । बैंकिङ क्षेत्रमा कर्जा माग न्यून भएपछि बैंकहरूको पूँजी कोष दबाबमा भने सुधार आउन सकेको छैन ।

कर्जा माग न्यून हुँदा पनि बैंकहरूको जोखिम भारित सम्पत्तिमा कमी नआउँदा पूँजी कोष दबाब कायमै देखिएको हो ।

चालु आर्थिक वर्ष पहिलो त्रैमासका आधारमा करिब आधा दर्जन बैंकको प्राथमिक पूँजी कोष नियामकीय सीमा नजिक रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्राथमिक पूँजी कोष नियामकीय सीमा नजिक हुँदा थप कर्जा लगानी गर्ने अवस्था हुँदैन । पछिल्लो समय बैंकहरूको कर्जा लगानी विस्तार सुस्त छ । यसबाट अधिक तरलताको अवस्थामा समेत पूँजी कोषमा दबाब कायम रहनु सम्पत्ति गुणस्तर कमजोर भएको स्पष्ट हुन्छ ।

केन्द्रीय बैंकका अनुसार असोजसम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७३.९९ प्रतिशत छ । यस्तो अनुपात अधिकतम ९० प्रतिशतभित्र हुनुपर्छ ।

सरकारी लगानी र निजी क्षेत्रका बैंकहरूको कर्जा निक्षेप अनुपात हेर्दा सरकारी बैंकहरूको औसत ६५.०३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । कर्जा माग नभएपछि करिब ११ खर्ब कर्जा लगानीयोग्य रकम प्रयोगविहीन हुँदा पनि सिटिजन्स बैंक र प्राइम कमर्सियल बैंकको ८२ प्रतिशत छ ।

बैंकहरूमा निक्षेप थपिने क्रम जारी छ । नयाँ कर्जा जाने अवस्था छैन । आर्थिक गतिविधिमा आएको सुस्तता र समग्र मागमा आएको कमीले नयाँ उद्योगधन्दा स्थापना हुन सकेका छैनन् भने भएकाले पनि उत्पादन कटौती गरेको अवस्था छ । त्यसले गर्दा कर्जा माग नबढेको देखिन्छ ।

त्यसका साथै बैंकहरूको खराब कर्जा बढेका कारण कर्जा प्रवाहमा धेरै सर्त राख्न थालेपछि माग न्यून भएको एक बैंकरले बताए ।

‘राष्ट्र बैंकले कर्जा नीति खुकुलो बनाए पनि बैंकहरूले खराब कर्जा नबढोस् भनेर कर्जा प्रवाहमा कडाइ गरेको देखिन्छ,’ ती बैंकरले भने, ‘खराब कर्जा बढ्ने बित्तिकै पूँजी कोषदेखि नाफामा असर पुगिहाल्छ ।’

सामान्य अवस्थामा भन्दा कर्जा माग नभएको र अधिक तरलताको अवस्थामा पूँजी कोष दबाब नहुने पूर्वबैंकर भुवनकुमार दाहालले बताए ।

‘बैंकहरूले कोरोना महामारी र आर्थिक मन्दीका कारण समस्यामा परेको कर्जाले गर्दा केही बैंकको पूँजी कोष कसिलो अवस्थामा पुगेको हो,’ दाहालले भने, ‘विगतका समस्यामा परेको कर्जाका कारण वितरणयोग्य नाफा अझै पनि नकारात्मक भएका बैंकहरू पनि छन्, त्यसले रिटेन अर्निङ पनि ऋणात्मक भएको अवस्थामा पूँजीको दबाबमा परेको देखिएको हो, अहिले पूँजी कोष कसिलो अवस्थामा भएका बैंकहरूको पुरानै सेटल नभइसकेकाले हो । ’

केन्द्रीय बैंकका अनुसार पूँजी कोष नियामकीय सीमा नजिक भएका बैंकमा हिमालयन, माछापुच्छ«े, कुमारी र सिटिजन्स छन् । यी बैंकको कर्जा निक्षेप अनुपात क्रमश ७६.१४, ७९.२५, ७९.८९ र ८२.४३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी बैंकहरूको औसत प्राथमिक पूँजी कोष अनुपात ९.८३ छ । यो औसत अनुपात क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ ले तोकेको ८.५ प्रतिशतभन्दा धेरै हो ।

केन्द्रीय बैंकका अनुसार असोजसम्म बैंकहरूको औसत खराब कर्जा कुल कर्जाको ५.०३ प्रतिशत छ । सरकारी लगानीका बैंकको औसत ४.६१ प्रतिशत छ भने निजी क्षेत्रका बैंकको औसत ५.११ प्रतिशत छ ।

खराब कर्जामा कर्जा नोक्सानी व्यवस्था नगरिएको अर्थात् औसत खुद खराब कर्जा १.३१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । बैंकहरूको बढ्दो खराब कर्जाले पूँजी कोषमा दबाब परेको हो ।

खराब कर्जाका लागि नोक्सानी व्यवस्था गर्दा संस्थाको आम्दानी समेत ऋणात्मक हुन गई त्यसको असर पूँजी कोषसम्म देखिएको हो ।

केन्द्रीय बैंकका अनुसार हालसम्म ९ वाणिज्य बैंकको खराब कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा धेरै छ । त्यसभन्दा माथि हुने बैंकमा नेपाल बैंक ५.४९, नेपाल इन्भेस्टमेन्ट मेगा ६.६३, हिमालयन ७.३९, एनआईसी एसिया ६.९९, कुमारी ६.९८, लक्ष्मी सनराइज ५.४२, सिटिजन्स ६.८४, प्राइम कमर्सियल ५.८६ र प्रभु बैंकको ५.७८ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?