+
+
Shares
राजकिशोर यादवसँग वार्ता :

‘विगतमा विभाजनको तितो भोग्यौं, अब मधेश कसिलो बनाएर लैजान्छौं’

अहिले हामी जो बढी जनतामा छौं, त्यही जाने हो । छाता चिन्हलाई अगाडि बढाउँछौँ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेसका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएको छ।
  • जसपा नेता राजकिशोर यादवले राष्ट्रिय राजनीतिमा ध्रुवीकरण बढेको र बलियो राजनीतिक शक्तिको आवश्यकता महसुस भएर एकता भएको बताए।
  • एकताको मोडालिटीमा प्रमुख नेतृत्व बसेर काम गर्ने र समानुपातिक उम्मेदवार चयन प्रक्रिया छिटो अघि बढाउने योजना छ।

बितेको दुई दशकमा मधेशमा आधारित राजनीतिक शक्तिहरू विभिन्न चरणमा टुटफुटको शिकार भए । जेनजी आन्दोलनपछि घोषित निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरण भइरहेका छन् ।

यसैबीच, मधेसका दुई ठूला शक्ति जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएको छ । यो एकता किन भयो र कसरी सम्भव भयो ? मधेशमा थप राजनीतिक ध्रुवीकरणको गृहकार्य भइरहेको हो ? यिनै विषयमा जसपा नेता राजकिशोर यादवसँग अनलाइनखबरले गरेको कुराकानीः

जसपा र लोसपाबीच हिजो एकता गर्ने सहमति भयो । यो सहमति यतिबेला किन आवश्यक पर्‍यो ? जबकि केही वर्ष अगाडि मात्रै तपाईंहरू विभाजित हुनुभएको थियो । अहिले फेरि एकतामा किन जानुपर्ने अवस्था आयो?

नेपालको अहिलेको राष्ट्रिय राजनीति ध्रुवीकृत भइरहेको छ । मूलतः नेपाललाई माया गर्ने, नेपालमा रहेको विविधतालाई बचाएर, नेपाललाई सजाएर, सबै नेपालीहरूको अपनत्व हुने समृद्ध नेपाल निर्माण गरेर, यसको समृद्धि, शान्ति स्थापना गर्नुपर्ने छ । नेपाली जनताले आफ्नो जीवनमा जुन आमूल रूपान्तरण र परिवर्तन खोजेका छन्, त्यसका लागि एउटा दह्रो, कसिलो, बलियो राजनीतिक शक्तिको आवश्यकता महसुस गरेर यो कदम चालिएको हो।

निश्चित रूपमा, हामी विभिन्न आरोह–अवरोहहरू पार गर्दै यो अवस्थामा आइपुगेका छौँ । विगतका कमी–कमजोरीहरूबाट पाठ सिक्दै, ती अनुभवहरूलाई एक प्रकारको ‘लेसन’ को रूपमा लिँदै, अब हामीलाई भावनाले मात्रै हुँदैन भन्ने बोध भएको छ ।

हामीले मुद्दा जहिले पनि सही उठायौं । संविधान निर्माणकै बखत पनि यो संविधान गलत ढङ्गले बनिरहेको छ, यसले पूरै नेपाली जनतालाई समेट्न सक्दैन, यसले समस्या ल्याउँछ भन्यौं । तर, कांग्रेस, एमाले र माओवादीले कुरा नसुनेर संविधान निर्माण गरे । १० वर्ष नपुग्दै आज मुलुकले ठूलो समस्या र सङ्कट झेल्नुपर्‍यो। यो सबै कुरालाई मनन गर्दै अब एउटा वैकल्पिक शक्तिको आवश्यकता महसुस गरेर, त्यो ठाउँलाई पुर्नको लागि, भर्नको लागि या त्यो ‘स्पेस’ लाई अवसरमा रूपान्तरण गर्नको लागि यो एकताको आवश्यकता महसुस भएको हो र यो यात्रा जारी रहन्छ।

चुनाव अगाडि यसैगरी एकता गर्ने, मोर्चाबन्दी गर्ने अनि चुनावपछि सत्तामा जाने कुरा आइसकेपछि या सत्तामा रहने बेलामा विभाजन हुने यो त तपाईंहरूको नियति नै होइन र?

दुर्भाग्यपूर्ण र तपाईंले भनेको जस्तै, तितो यथार्थ हो । र, म सुरुमै निवेदन गर्छु— तीबाट पाठ सिक्ने क्रममा हामी छौँ। हामी त भावनामा, एउटा विद्रोह मार्फत, हामीले सोचेको जस्तो राज्यले हामीसँग व्यवहार गर्ला, अरू पार्टीहरूले यस्तो व्यवहार गर्लान् भनेर अगाडि बढ्यौँ। ती क्रममा दुर्घटनाहरू भएकै हो। त्यसमा हामी सबैबाट केही न केही कमी–कमजोरीहरू भएकै हो। त्यसैले, सबैले विगतको समीक्षा गर्ने, विगतको कमजोरीलाई फेरि नदोहोर्‍याउने गरी एकप्रकारको प्रतिबद्धता सहितको यो यात्रा सुरुवात गरेको हो।

दुईटा पार्टीको बीच एकताको मोडालिटी चाहिँ के हुन्छ?

अब प्रमुख नेतृत्व बसेर मोडालिटीमा काम गर्नुहुनुछ । यो टेक्निकलभन्दा पनि अलिकति भावनात्मक एकता मजबुत होस् भन्ने हाम्रो ध्येय हो। विगतमा कुन–कुन कारणले पार्टीहरू विभाजन भए ? पार्टीहरू गतिशील किन भएनन्? हामी जब समान विचार लिएर अगाडि बढेका छौँ, त्यहाँ कहाँ कमी–कमजोरी भयो? त्यो सबैलाई ध्यानमा राखेर हामी अगाडि बढ्छौँ। त्यसको लागि अब मुख्य नेतृत्वहरूको बीचमा एउटा को-अर्डिनेसन कमिटी जस्तो बनेर त्यसपछि सबको जिम्मेवारी कसरी दिने, के गर्ने, त्यो चाहिँ हुन बाँकी छ।

अहिले चुनावको लागि उम्मेदवार चयन गर्ने क्रम सुरु भयो । उम्मेदवार चयन कसरी अगाडि बढ्छ?

अब हामीसँग समय एकदम कम छ । यो ‘इलेभन्थ आवर’ भन्छन् नि, त्यो बेला हो। समानुपातिकको उम्मेदवार चयन गर्ने कुरामा हामीले दुइटै दलले आफ्नो सूची अहिले बुझाउने काम हुन्छ। त्यसपछि, संशोधनको समयमा मिल्न बाँकी अरू प्रक्रियाहरू अगाडि बढाउँछौं । प्राथमिकताको आधारमा कसलाई कसरी राख्ने भन्ने मिलाउँछौँ।

कुन पार्टीको सूची अन्तर्गत जान्छ त? जस्तो लोसपा र जसपा दुईटा पार्टी भएपछि दुईटै पार्टीको सूची त जाँदैन होला। एउटै पार्टीमा जाने होला। मूल पार्टी कुनलाई मानेर जाने हुन्छ?

अहिले हामी जो बढी जनतामा छौं, त्यही जाने हो । छाता चिन्हलाई अगाडि बढाउँछौँ । अहिले खासगरी समानुपातिकको सवालमा जुन टेक्निकल कुराहरू छ, त्यसलाई कसरी मिलाउने भन्ने अलि टाइमिङको कुरा छ। संशोधन जतिबेला हुन्छ, त्यसलाई अब हामी पार्टी एकता गर्न लागेका छौँ, त्यसमा दुईटैलाई समेट्नेगरी गर्छौं ।

हाम्रो लक्ष्य प्रमुख हो। त्यो भनेको बलियो संगठन निर्माण हो, बलियो राजनीतिक शक्ति निर्माण हो। अरू कुरा तपसिलका हुन् । भावनात्मक एकता गरेर जाने भन्ने कुरा भएको छ।

समानुपातिकको सूची जसपाकै नामबाट दर्ता हुने, चुनाव चिन्ह पनि जसपाकै हुने, नेताहरू चाहिँ दुई जना समानर समानान्तर हैसियतको रहने भन्ने खालको सहमति भएको हो?

अहिले त्यही अनुसार अगाडि बढ्ने कुराहरू भएको छ। हामीले कार्यकर्ताको भावनालाई सम्मान गर्दै, कसैलाई ठेस नपुग्ने गरी दुइटै पक्षलाई लिएर जान्छौँ। किनभने, यो दुइटा मात्रै होइन, अर्को समूह पनि आज तपाईंहरूले १० बजे सुन्नुहुनेछ- अर्को समूह पनि यो प्रक्रियामा सामेल हुँदै छ।

कुन समूह हो यो?

जसपाबाट रेणुदेवी यादवजीहरू छुटेर जानुभएको थियो, उहाँहरू फर्किँदै हुनुहुन्छ।

अशोक राई सहितको समूह?

अहिले अशोक राईसँग कुरा भइरहेको छ । अब त्यहाँ दुई थरीको छ— एकाथरि साथीहरूको अब दुई–चार दिन अलिकति ढिलो गरौँ, अरू कुरा मिलाऔँ भन्ने छ भने अर्काथरीको यही एकतामा सामेल हौँ भन्ने पनि छ। अहिले कुरा भइरहेको छ । १०-११ बजेसम्म त्यो फाइनल भएर आउँछ ।

मधेशमा त जनमतलगायतका पार्टीहरू पनि छन्। उनीहरूसँग पार्टी एकता वा कार्यगत एकता हुने सम्भावना के छ?

हामी नेतृत्वको बीचमा कुरो भएको छ, मुलुक इतिहासकै सबभन्दा सङ्कटको घडीमा छ। मुलुकको अस्तित्व नै खतरामा पर्नेगरी अहिले हस्तक्षेपहरू भइरहेका छन् । त्यसैले, एउटा शक्ति निर्माण गरेर एउटा विकल्प दिने र मुलुकलाई एउटा सकारात्मक दिशा दिने सोचका साथ हामी अगाडि बढिरहेका छौँ। र, त्यसको सिलसिला सुरु भएको छ।

हामीले मधेश केन्द्रित मात्रै होइन, पहिचानमा आधारित र एउटा वैकल्पिक र खासगरी परिवर्तन पक्षधर शक्ति बीचमा ध्रुवीकरण, एकीकरण, मोर्चाबन्दी हुँदै अगाडि बढ्न पर्छ भन्ने हो।

त्यसमा हाम्रो त जनमत या रेशम चौधरीजीहरू या अरू शक्तिहरूलाई पनि स्वागत गर्छौं । हाम्रो सकारात्मक पहलकदमी भइरहेको छ। अब अहिले नै त्यो ठोस स्थिति बनिसकेको छैन, तर मलाई लाग्छ भविष्यमा सबै साथीहरू ध्रुवीकृत हुँदै यही बाटोमा आउनुहुनेछ भन्ने हाम्रो विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?