१४ पुस, काठमाडौं । ‘हावाले भरिएको बलुन (बोट)मार्फत त्रिपोलीबाट ग्रिस जाँदैछौं । हामी चढेको बोटमा ३० जना छौं । नेपाली भने ५ जना मात्रै छौं । ग्रिस पुगेपछि सम्पर्क गरौंला,’ २४ जुन २०२४ मा ह्वाट्स एपमार्फत एउटा जानकारी रुकुममा रहेका आफन्तलाई आयो ।
यसरी जानकारी गराउने ती नेपाली युवा (परिवर्तित नाम २६ बबरमहल-४९६) ग्रिस पुगे वा त्रिपोली नै फर्किए ? कि अन्तिम गन्तव्य अमेरिका पुगे ? वा कुनै दुर्घटना भयो ? लिबियाको राजधानी त्रिपोलीबाट समुद्रको बाटो हुँदै ग्रिस जाने जानकारी आएको अहिले ठ्याक्कै डेढ वर्ष बित्यो । तर यी प्रश्न अहिलेसम्म उत्तरविहीन छन् ।
ती युवाको खबरबारे आफन्त, परिवार अहिले पनि बेखबर छ । सपनामा ती युवक देख्नु बाहेक न उनीहरूसँग बातचित भएको छ, न कसैले केही खबर नै गरेको छ । डेढ वर्षदेखि ती युवाको परिवार बेचैनीमा बाँचिरहेको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागदेखि मानव बेचबिखन अनुसन्धान ब्युरोसम्म हारगुहार गरेको पनि वर्ष दिन नाघ्यो । राज्यले समेत ती युवाको अहिलेसम्म कुनै सुईँको पाउन सकेको छैन ।
बबरमहल-४९६ मात्रै होइन, यसैगरी डेढ वर्षदेखि बेपत्ता छन् पाँच नेपाली युवा । २० देखि २७ वर्ष उमेर समूहका चार जना पश्चिम रुकुमका र एक जना बाँकेका गरी पाँच युवा करिब डेढ वर्षदेखि लिबियाको राजधानी त्रिपोलीबाट बेपत्ता भएका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख तथा एसएसपी कृष्ण पंगेनीका अनुसार २४ जुन २०२४ मा परिवारसँग अन्तिमपटक सम्पर्क भएपछि पाँचै युवा अहिलेसम्म सम्पर्कविहीन छन् ।
उनीहरूलाई अमेरिका लैजाने भन्दै त्रिपोली पुर्याएर त्यहाँबाट सम्पर्कविहीन भएको देखिएको छ । आफन्तलाई ह्वाट्स एपमा जानकारी गराएअनुसार पाँच नेपाली युवासहित ३० जनालाई स्थानीय समयअनुसार बिहानको ४ बजे त्रिपोलीबाट ग्रिस लैजाने भन्दै बोटमा राखिएको थियो । त्यसपछि ती पाँचै नेपाली युवा सम्पर्कविहीन भएको भन्ने जानकारी आफन्तले ब्युरोमा गराएका छन् ।
यसअघि ५ असार २०७८ अहिले बताएजस्तै शैलीमा कोलम्बियास्थित क्यारेबियन सागरमा डुंगा पल्टिँदा सात नेपाली बेपत्ता भएका थिए । डुंगामा १८ जना सवार थिए । तीमध्ये एक नेपाली र पाँच बंगलादेशीको उद्धार भएको थियो । अन्य सात नेपालीसहित १२ जना हराएका थिए । त्यतिबेला दाङका एन्जल बुढामगर, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, दाङ तुलसीपुरकै हेमराज अधिकारी, पर्वत कुश्माका दिनेश गौतम, राजु गुरुङ बेपत्ता भएका थिए ।

त्यतिबेला बेपत्ता भएका सात नेपाली जस्तै गरी अहिले अमेरिका हिँडेका पाँच नेपाली बेपत्ता भएका छन् । डेढ वर्षदेखि बेपत्ता भएको जानकारी परिवारले गराएपछि प्रहरीसमेत झस्केको थियो । त्यसपछि इन्टरपोलमार्फत सम्पर्क गरेर ब्युरोले लिबियाको प्रहरीसँग समेत समन्वय गरेको थियो ।
तर, ती युवाले आफन्तलाई जानकारी गराएको समयमा ३० जना सवार डुंगा दुर्घटनामा परेको जानकारी नरहेको लिबिया प्रहरीले जवाफ पठाएको थियो ।
‘३० जना सवार डुंगा पल्टिएको भनेपछि अन्तर्राष्ट्रिय समाचार नै बन्ने हुँदा जानकारी हुनुपर्ने हो । तर डुंगा पल्टिएको भन्ने केही जानकारी नै आएन,’ ब्युरो स्रोतले भन्यो ।
डुंगामार्फत जाँदैछौं भनेर परिवारमा खबर गर्न लगाउनु, त्यसपछि सम्पर्कविहीन हुनु, अनि डुंगा पल्टिएको भन्ने जानकारी पनि केही नहुनुले उनीहरू सम्पर्कविहीन हुनुलाई निकै शंकास्पद तरिकाले हेरिएएको छ । द्वन्द्वग्रस्त मुलुक लिबियामा पुगेपछि डेढ वर्षदेखि उनीहरू सम्पर्कविहीन भएकाले घटनालाई निकै शंकास्पद तरिकाले हेरिएको छ ।
यद्यपि, लिबियाबाट डंगामार्फत जोखिमपूर्ण यात्रा गर्दै मानव तस्करले ग्रिस पुर्याउने भने गरेका छन् । लिबियाबाट ग्रिस जाने सामुद्रिक मार्ग भूमध्यसागरको एक प्रमुख र अत्यन्त खतरनाक आप्रवासन मार्ग मानिन्छ । यो यात्रा प्रायः पूर्वी लिबियाको टोब्रुरक क्षेत्रबाट सुरु भई गाभ्डोस र क्रेटजस्ता दक्षिणी ग्रिस टापुहरूमा पुग्ने गर्छ ।
तस्करहरूले यस विशाल समुद्री क्षेत्रको दुरुपयोग गर्दै असुरक्षित डंगाहरू प्रयोग गर्दै आएका छन् । जसका कारण बेलाबेलामा दुर्घटनाका खबरहरू पनि आउने गरेका छन् ।
परराष्ट्रदेखि ब्युरोसम्म हारगुहार
पाँच नेपाली युवा बेपत्ता भएपछि उनीहरूका आफन्त २३ पुस २०८१ मा खोजबिन गरिदिन भन्दै परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा पुगेर उजुरी दिएका थिए ।
आफन्तको जानकारीअनुसार उनीहरू १० जुन २०२४ मा लिबिया पुगेका थिए । त्यसको १० दिनपछि २४ जुनमा त्यहाँबाट समुद्रको बाटो हुँदै ग्रिस जान लागेको बताइएको थियो । तर उनीहरू बेपत्ता छन् । परराष्ट्रमार्फत केही पत्तो नलागेपछि उनीहरूका आफन्त अहिले ब्युरोमा धाइरहेका छन् ।
ब्युरोको अनुसन्धानको क्रममा एक जना ३० सेम्टेम्बर २०२३ मा अजरबैजानको भिसा लगाएर यहाँको अध्यागमनबाट बाहिरिएको भेटिएको थियो । अर्का बेपत्ता युवा यूएईको भिसा लगाएर ३० मे २०२४ मा युएई प्रस्थान गरेको भेटिएको छ ।
अर्का बेपत्ता दुई युवा ११ अप्रिल २०२४ मा काठमाडौंबाट ओमान गएको अध्यामनको रेकर्डमा भेटिएको छ । बेपत्तामध्ये एक जनाको विवरण भने केही पनि फेला परेको छैन । जसका कारण उनी स्थलमार्गबाट दिल्ली पुगेर त्यहाँबाट हवाई मार्ग हुँदै गएको आशंका गरिएको छ ।
दुई पटक बीच बाटोबाटै फर्किए, तेस्रोपटक जाँदा बेपत्ता
अमेरिका पठाउने भन्दै त्रिपोली पुर्याएर पाँच जनालाई बेपत्ता पारे पनि अहिलेसम्म ब्युरोमा भने एक जना युवाका आफन्तले मात्रै जाहेरी दिएका थिए । तर कन्सुलर सेवा विभागले उनीहरूको अवस्था केही पनि पत्ता लगाउन सकेन ।
७२ लाख रुपैयाँ असुलेर बेपत्ता पारिएको बताइएको छ । अमेरिका जाने सबै प्रक्रिया मिलाउने र त्यहाँ पुगेपछि राम्रो कमाइ हुने प्रलोभन देखाएर त्रिपोलीसम्म पुर्याएर बेपत्ता पारिएको जाहेरीमा उल्लेख छ । ती युवालाई सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लगेर राखेको बताइएको छ ।
दुबईबाट टर्की हुँदै स्पेन पुर्याइएको र स्पेनको एयरपोर्टमा ५४ दिन बसेपछि त्यहाँको प्रहरीले पक्राउ गरेर टर्की हुँदै नेपाल फिर्ता पठाएको थियो ।

त्यति गर्दा पनि एजेन्टले ती युवालाई अमेरिका पठाउने आश्वासन देखाउन छाडेनन् । दोस्रो पटक भने नेपालबाट दुबई ट्रान्जिट हुँदै उजबेकिस्तान, अजरबैजान पुर्याएको बेपत्ता युवकका दाजुले दिएको जाहेरीमा उल्लेख छ । दोस्रो पटक ती युवा अजरबैजानबाट फिर्ता भएर काठमाडौं आएका थिए ।
तेस्रो पटक भने २९ चैत २०८० मा नेपालबाट ओमान हुँदै लिबिया पुर्याइएको बताइएको छ । त्यति बेलासम्म ७२ लाख रुपैयाँ असुली सकिएको थियो । त्रिपोलीबाट डुंगामार्फत ग्रिस हुँदै अमेरिका लैजाने बताइएको थियो । हावाले भरिएको बलुनमार्फत ग्रिस जाँदैछौ भन्ने जानकारी आएपश्चात् १२ असार २०८१ देखि आफ्नो भाइको केही खबर अहिलेसम्म नआएको उनका दाजुले दिएको जाहेरीमा उल्लेख छ ।
किन परेन चार युवाको उजुरी ?
बेपत्ता पाँच जना भए पनि अहिलेसम्म ब्युरोमा एक युवाको तर्फबाटै जाहेरी आएको छ । जाहेरी नआउनुको पछाडि बेपत्ता युवाहरू चिनेजानेकै तथा आफन्तमार्फत नै अमेरिका जाने भनेर हिँडेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
एक अनुसन्धान अधिकृतका अनुसार बेपत्ता एक युवा त आफ्नै मामा नाता पर्नेमार्फत नै अमेरिका जान भनेर हिँडेका थिए । ‘आफन्त तथा चिनेजानेका व्यक्तिमार्फत नै अमेरिका हिँडेकाले बेपत्ता भएका आफन्तहरूले जाहेरी नदिएको हुनसक्छ,’ एक अनुसन्धान अधिकृत भन्छन् ।
अर्कोतर्फ भने अमेरिका लैजाने दलालहरूले विभिन्न प्रलोभनमा पारिराख्ने, सम्पर्क गराउँछौं भनेर आश्वासन दिने, रकम फिर्ता गर्छौं भन्ने विश्वास दिलाउने जस्ता बहाना बनाएर उजुरी हाल्नै नदिने अवस्था सिर्जना गर्ने गरेका ती अनुसन्धान अधिकृतको भनाइ छ ।
अहिले हराएका पाँचै नेपाली युवालाई फरकफरक एजेन्टले अमेरिका लैजाने भन्दै बेपत्ता पारेको खुलेको ब्युरोका एसएसपी पंगेनी बताउँछन् । ‘एकै समयमा उनीहरूलाई त्रिपोली हुँदै अमेरिका लगिने बताए पनि फरकफरक एजेन्टले त्यहाँ पुर्याएको देखिन्छ,’ एसएसपी पंगेनीले भने ।
प्रतिक्रिया 4