News Summary
Generated by OK AI. Editorially reviewed.- बोराबाँधमा सूर्यास्त हेर्न आउने आन्तरिक पर्यटकको संख्या गत शनिबार करिब २० हजार पुगेको छ।
- स्थानीय साहसी व्यक्तिहरूको प्रयासले बोराबाँधलाई नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित गरेको छ।
गत कार्तिक २१ गते शुक्रबारको कुरा हो । बोराबाँधमा अस्ताउँदै गरेको सूर्य देखेर मैले सहजै मोबाइल निकालें र तस्बिर खिचें। दृश्य एकदमै सुन्दर थियो । मनले भन्यो, यो क्षण अरूले पनि देख्नुपर्छ । त्यसपछि छोटो भिडियो बनाएर ‘नानो खबर’ फेसबुक पेजमा पोस्ट गरें । सुरुमा एक–दुई जना मात्र आए । उनीहरूकै पनि भिडियो बनाएँ, फेरि पोस्ट गरें । यसरी लगातार पोस्ट हुन थाल्यो, अनि मान्छेको आगमन पनि बिस्तारै बढ्न थाल्यो।
मलाई विश्वास थियो, यो ठाउँलाई आफ्नै गाउँमा सीमित नराखी बाहिर देखाउन सक्यौं भने पर्यटक अवश्य आउँछन् । त्यो विश्वास गलत रहेन । दिनप्रतिदिन मान्छे थपिँदै गए। कतिपय दिन त यति धेरै मानिस आए कि सम्हाल्नै गाह्रो भयो ।

आज ५१औं दिन पुगिसक्दा पनि बोराबाँधमा सूर्यास्त हेर्न आउनेहरूको कमी छैन । गत शनिबार मात्र करिब २० हजारभन्दा बढी आन्तरिक पर्यटक आएको अनुमान बोराबाँध टप्पु पर्यटन प्रवर्द्धन समितिले गरेको छ । विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिन यहाँ भीड झनै बढ्ने गरेको छ ।

ठूला मिडियाले कभर नगर्ने गाउँघरका लागि साना तर अर्थपूर्ण खबर नै ‘नानो खबर’ हो । यही सोचका साथ मैले चार वर्षअघि यो फेसबुक पेज सुरु गरेको हुँ । उद्देश्य एउटै थियो, गाउँको आवाज बाहिर पुर्याउने र स्थानीय पर्यटनलाई टेवा दिने। आज बोराबाँधको सूर्यास्त त्यसैको एउटा उदाहरण बनेको छ ।
नानो खबरको पोस्टले मात्र होइन, यहाँका केही साहसी व्यक्तिहरूको आँटले पनि बोराबाँधलाई नयाँ पहिचान दिलायो । सप्तकोशी जल यातायात प्रालिका अध्यक्ष दिनेश भुजेलले यहाँ जेट बोट ल्याउने साहस गरे । सुरुमा दुई हप्ता जति बोट त्यत्तिकै नदी किनारमा बाँधेर राख्नुपर्यो । जोखिम थियो, तर विश्वास पनि । अर्का साथी इन्द्र तामाङले पनि हिम्मत देखाए । घाटा परे पनि सहन्छु भन्दै उनी अघि बढे । उनी विगत सात वर्षदेखि यहाँ सामान्य खाजा–नास्ताको व्यापार गर्दै आएका थिए । अहिले त्यही पसल धेरैको विश्राम थलो बनेको छ।

यसरी ‘सूर्यास्त हेर्न बोराबाँध जाऔं’ भन्ने नारालाई बिस्तारै स्थापित गरियो । सुरुमा नजिकका साथीभाइ, आफन्तलाई बोलाएर फोटो र भिडियो बनाइयो, सामाजिक सञ्जालमा पोस्ट गरियो । यही क्रम दोहोरिरह्यो । परिणाम आज सबैका सामु छ। अहिले त पर्यटक आफैं आएर फोटो खिच्छन्, भिडियो बनाउँछन् र पोस्ट गर्छन् ।
वास्तवमा बोराबाँधमा सूर्यास्त आज मात्रै देखिन थालेको होइन । वर्षौं पहिलेदेखि यहाँ सूर्य अस्ताउँदै आएको हो । फरक यत्ति हो, यसअघि कसैले यसलाई चिनाउने प्रयास गरेन । सूर्यास्त सुन्दर देखिन बालुवा, पानी र आकाशको मिलन हुनुपर्छ । जब यी तीन तत्व एकै ठाउँमा भेटिन्छन्, तब सूर्यास्तको रङले आफ्नो कला देखाउँछ । यही फ्युजन बोराबाँधमा छ ।
आज बोराबाँध केवल सूर्य अस्ताउने ठाउँ मात्र होइन, सम्भावनाको प्रतीक बनेको छ । सही सोच, निरन्तर प्रयास र स्थानीयको विश्वासले गाउँकै एउटा कुनालाई गन्तव्य बनाउन सकिन्छ भन्ने उदाहरण बोराबाँधले देखाएको छ ।

प्रतिक्रिया 4