+
+
Shares

घरको भर्‍याङ कस्तो बनाउने ? चलनचल्तीमा के छ ?

लैला श्रेष्ठ लैला श्रेष्ठ
२०८२ पुष १७ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घरमा भर्‍याङले सौन्दर्य, सुरक्षा र ऊर्जा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्छ र विभिन्न प्रकारका डिजाइनहरू छन्।
  • भर्‍याङ बनाउँदा स्थान, चौडाइ, राइजर उचाइ, प्रकाश, हावा प्रवाह जस्ता कुरामा ध्यान दिनुपर्छ ।

घरको एक अभिन्न अंग हो, भर्‍याङ । यो केवल एक तलाबाट अर्को तलामा जाने माध्यम मात्र नभई घरको समग्र सौन्दर्य, सुरक्षा, कार्यक्षमता र ऊर्जा प्रवाहलाई पनि गहिरो प्रभाव पार्ने भाग हो । राम्रोसँग डिजाइन र निर्माण गरिएको भर्‍याङले घरलाई आकर्षक बनाउँछ, हिड्न सहज र सुरक्षित तुल्याउँछ तथा आपतकालीन अवस्थामा जीवनरक्षकको भूमिका निर्वाह गर्छ ।

कस्ता भर्‍याङ चल्तीमा छन् ?

१.सिधा भर्‍याङ

सबैभन्दा सामान्य, बनाउन सहज र सस्तो छ, सिधा भर्‍याङ । यसमा न कुनै मोड हुन्छ, न त घुमाउरो घुम्ती । सिधा भर्‍याङ सानो घरका लागि उपयुक्त हुन्छ । आधुनिक र परम्परागत दुवै घरहरूमा लोकप्रिय रहेको यो भर्‍याङ जहाँ चौडाइको ठाँउ सीमित छ तर लम्बाइमा पर्याप्त छ, त्यहा राख्ने गरिन्छ ।

सानो क्षेत्रफलमा बनेका घर, डुप्लेक्स वा दुई–तीन तले आवासीय भवनहरूमा यो ठिक हुन्छ, किनकि यसले कम चौडाइ भाग ओगट्छ । ठूला घरहरूमा भने यो धेरै लामो सिंढी राख्दा राम्रो देखिँदैन र चढ्न पनि असहज हुन्छ । त्यसैले, बीचमा ल्यान्डिङ (रेस्ट प्लेटफर्म) राखेर बनाइन्छ ।

परम्परागत नेपाली वा ग्रामीण घरहरूमा काठको सिधा भर्‍याङ बढी प्रयोग हुन्छ भने आधुनिक अपार्टमेन्ट वा भिल्लाहरूमा मार्बल, सिसाका रेलिङ वा फ्लोटिङ स्टाइलसहितको सिधा डिजाइन चलनचल्तीमा छ ।

यो वृद्धवृद्धा र बालबालिकाका लागि पनि सहज हुन्छ, किनकि घुम्ती नहुँदा लड्ने जोखिम कम हुन्छ । स्थानको कुरा गर्दा, सिधा भर्‍याङ घरको मध्य भाग वा प्रवेशद्वार नजिकै राख्नु राम्रो हुन्छ, जसले सबै कोठाबाट सजिलै पहुँच मिलोस् । यो भित्ताको साइडमा वा हलको छेउमा राखिन्छ ।

आधुनिक ट्रेन्डमा यसलाई सिसा वा केबल रेलिङसहित बनाएर खुला र हलुका देखाइन्छ ।

२.यु–आकारको भर्‍याङ

हेर्दा आकर्षक र पृथक देखिने भर्‍याङ हो, यु–आकारको डिजाइन । यो अहिले बनेका आधुनिक घरहरूमा यो नजारा देख्न सकिन्छ । यो १८० डिग्रीको मोडसहित दुई समानान्तर उकालो र बीचमा ल्यान्डिङ (रेस्ट प्लेटफर्म) हुन्छ, जसले ‘यू’ आकार दिन्छ । यो डिजाइन ठूला र मध्यम आकारका घरहरूमा उपयुक्त हुन्छ, जहाँ खाली ठाँउ पर्याप्त छ ।

यो प्रकार आधुनिक भिल्ला, डुप्लेक्स वा धेरै तले घरमा चलनचल्तीमा छ । किनकि, यो भर्‍याङमा हिँड्न सहज हुन्छ र थकान पनि बढी लाग्दैन । यसमा हुने बीच-बीचको ल्यान्डिङले सामान बोक्न वा आराम गर्न पनि सहज बनाउँछ ।

अहिले आधुनिक घरहरूमा मार्बल, काठ वा सिसाका रेलिङसहित यो बढी रुचाइन्छ ।

स्थानको कुरा गर्दा, घरको मध्य भाग वा हलको छेउमा राख्नु राम्रो हुन्छ । दक्षिण, पश्चिम वा दक्षिण–पश्चिम साइडमा राख्दा घडीको सुईजत्तिकै क्लकवाइज घुम्ती हुन्छ । क्लकवाइज अर्थात् घडीको सुईजस्तै घुम्नु । यस्तो राख्नुको कारण हो, धेरैजसो दाहिने हात प्रयोग गर्ने मानिसहरूलाई माथि जाँदा वा तल झर्दा दाहिने हातले रेलिङ वा पर्खाल समात्न सजिलो र सुरक्षित हुन्छ । अनि हेर्दा पनि आकर्षक देखिन्छ ।

यो सिधा भर्‍याङभन्दा ठाउँ बढी लिए पनि हेर्दा भव्य सुन्दर र सुरक्षित हुन्छ ।

३.फ्लोटिङ वा क्यान्टिलिभर्ड भर्‍याङ

अहिलेको सबैभन्दा ट्रेन्डी डिजाइन हो, फ्लोटिङ वा क्यान्टिलिभर्ड भर्‍याङ । यो भित्तामा मात्र अड्काएर बनाइन्छ, जुन हेर्दा हावामा झुन्डिएको जस्तो लाग्न सक्छ । आधुनिक घरहरूमा यो अत्यधिक रुचाइन्छ । स्टिल वा कंक्रीटको स्ट्रिङ्गर प्रयोग गरेर यस्तो डिजाइन सम्भव हुन्छ ।

४.सर्पिल भर्‍याङ

सर्पिल भर्याङ भनेको केन्द्रीय भागमा एउटा खम्बा हुन्छ, त्यस वरिपरि घुमेर बनेको सिँढी हो, जसले सर्प जस्तै घुमाउरो आकार बनाउँछ । त्यसैले, यसलाई सर्पिल भर्‍याङ भन्ने गरिन्छ । यसले कम ठाउँ ओगट्छ । २–३ मिटर व्यास भए पुग्ने यो भर्‍याङ हेर्दा पनि सुन्दर र आधुनिक देखिन्छ । यो काठ, फलाम वा सिसाबाट बन्छ । यसले सानो घरलाई नै डुप्लेक्स जस्तो स्टाइलिस देखाउँछ ।

यसको बेफाइदा भनेको ठूलो सामान बोक्न गाह्रो र खुड्किला साँघुरो हुने भएकोले बच्चा÷बूढाका लागि जोखिमपूर्ण हुनसक्छ । यद्यपि, आधुनिक घरहरूमा धेरै रुचाइन्छ । किनकि स्पेस बचाएर लक्जरी लुक दिन्छ ।

५.एल–आकारको भर्‍याङ

यो घरको कुनामा राख्न उपयुक्त हुन्छ । मोनो–स्ट्रिङ्गर डिजाइनमा एउटा मात्र साइड सपोर्ट हुन्छ, जसले खुला र सफा लुक दिन्छ । नेपालका आधुनिक घरहरूमा यु–आकार, फ्लोटिङ र सिधा भर्‍याङ बढी चलनचल्तीमा छन् ।

यी भर्‍याङमा एलइडी लाइटिङ, स्मार्ट सेन्सर र सस्टेनेबल सामग्रीहरूको प्रयोग व्यापक भएको छ, जसले सुनमा सुगन्ध थप्ने काम गर्छ । अर्को कुरा, यु आकारको भर्‍याङमा भने आकर्षक क्यानाभास र फोटोग्राफहरु क्रमबद्धरुपमा राखेर स्टाइलिस लुक दिन सकिन्छ ।

कस्तो भर्‍याङ बनाउनुपर्छ, त ?

यो बनाउँदा केही टेक्निकहरू छन्, त्यसलाई आधार बनाएर बनाउनुपर्छ ।

स्थान

घरको भर्‍याङ सकेसम्म प्रवेशद्वार नजिकै र मध्य भागमा राख्नु उचित हुन्छ, जसमा सबै कोठाबाट सजिलै पहुँच हुन्छ । उकालो चढ्दा क्लकवाइज दिशामा घुम्नुपर्छ अर्थात् घडीको सुईजस्तै बायाँबाट दायाँतिर मोडिनुपर्छ ।

चौडाइ

आवासीयमा घरमा कम्तीमा ३ फिट (९०० देखि ११०० एमएम) हुनुपर्छ । कमर्सियल वा सार्वजनिक भवनमा ४ फिटङ वा सो भन्दा बढी राखिन्छ ।

राइजरको उचाइ

प्रत्येक खुड्किलोको उचाइ ६–७ इन्च (१५०–१८० एमएम) बीचमा राख्नु राम्रो हुन्छ । सबै राइजर समान हुनुपर्छ (३ देखि ८ इन्चभन्दा बढी फरक नहोस्) ।

ट्रेडको गहिराइ/चौडाइ

ट्रेड अर्थात् टेक्ने भागको गहिराइ १०–१२ इन्च (२५०–३०० एमएम) उपयुक्त हुन्छ । कम्तीमा १० इन्च हुनुपर्छ जसले पूरा खुट्टा अडिन सकोस् । यो मापदण्डले लड्ने जोखिम कम गर्छ ।

प्रकाश

राम्रो प्रकाश अनिवार्य छ । प्राकृतिक उज्यालो नपर्ने ठाउँमा एलइडी र स्ट्रिप लाइट, सेन्सर लाइट वा वाल लाइट राख्नुहोस् । खुड्किलाको किनारा (नोसिङ) मा लाइटिङ राख्दा सुरक्षित हुन्छ । अँध्यारोमा हिँड्दा दुर्घटना हुन सक्छ ।

हावा जाने व्यवस्था

भर्‍याङमा राम्रो हावा खेल्नुपर्छ जहाँ घाम र हावा आओस् । बन्द ठाउँमा झ्याल वा भेन्टिलेसन ओपनिङ राख्नुहोस् । प्राकृतिक भेन्टिलेसन राम्रो हुन्छ, तर आवश्यक परे फ्यान वा एक्जस्ट सिस्टम पनि राख्न सकिन्छ । यसले भर्‍याङलाई ताजा र सुरक्षित राख्छ ।

सामग्री

काठ (ओक, पाइन, टिक आदि) सबैभन्दा लोकप्रिय र आरामदायी मानिन्छ । मार्बल, ग्रानाइट वा टाइल प्रयोग गर्दा नपिप्लिने खालको राख्नुपर्छ । किनकि, चिप्लो हुँदा लड्ने जोखिम बढ्छ । आधुनिक डिजाइनमा स्टिल, सिसा वा कंक्रीट पनि प्रयोग हुन्छ । ह्यान्डरेलमा स्टिल वा सिसा राम्रो देखिन्छ ।

ढलान/उकालोको कोण

भर्‍याङको उकालो कोण ३०–३७ डिग्री बीचमा राख्नु उत्तम हुन्छ । यो कोणले हिँड्न सहज हुन्छ । धेरै ठाडो (४५ डिग्रीभन्दा बढी) भए थकान र दुर्घटना बढ्छ । राइजर र ट्रेडको अनुपातले यो कोण निर्धारण गर्छ ।

ल्यान्डिङ/विश्राम प्लेटफर्म

लामो उकालोमा १०–१२ सिँढीपछि ल्यान्डिङ राख्नुहोस् । यसले विश्राम गर्न र दिशा परिवर्तन गर्न सजिलो बनाउँछ । ल्यान्डिङको चौडाइ भर्‍याङ जति नै हुनुपर्छ ।

सुरक्षा

कम्तीमा एकतिर वा दुवैतिर ह्यान्डरेल हुनुपर्छ, उचाइ ३४–३८ इन्च (८६५–९६५ एमएम) रेलिङ बलियो र सजिलै समात्न सक्ने राख्न सकिन्छ ।

रङ कस्तो ?

१. अफ–ह्वाइट : खुड्किलाको राइजर र साइड भागलाई अफ–ह्वाइट वा क्रिम रङ लगाउन सकिन्छ । यसले घरलाई खुला, उज्यालो र आधुनिक देखाउँछ, अध्याँरो रङले ठाउँ साँघुरो देखाउँछ । लुकेका फोहोर पनि देखाउँदैन ।

२. ट्रेडमा वुड टोन वा लाइट ग्रे : टेक्ने भाग (ट्रेड) मा प्राकृतिक काठको रङ वा हल्का खैरो÷ग्रे राख्न सकिन्छ । जसले कन्ट्रास्ट लुक आउँछ र चिप्लने जोखिम कम हुन्छ।

३. ह्यान्डरेलमा ब्ल्याक/डार्क वुड : रेलिङलाई कालो, डार्क ब्राउन वा स्टिल कलर बनाउन सकिन्छ । यसले डिजाइनमा हाइलाइट थप्छ र समग्र हेर्दा आकर्षक र सुन्दर बन्छ।

वास्तुशास्त्रले के भन्छ ?

वास्तुशास्त्रले भर्‍याङलाई घरको ऊर्जा प्रवाहको महत्वपूर्ण भाग मान्छ । गलत डिजाइन र दिशाले नकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ । भर्‍याङ दक्षिण, पश्चिम वा दक्षिण–पश्चिम कोणमा राख्नु उत्तम हुन्छ । उत्तर–पूर्वमा राख्नु वर्जित छ किनकि त्यहाँ राख्दा सकारात्मक ऊर्जा अवरुद्ध हुन्छ । घरको प्रवेशद्वार नजिकै र मध्य भागमा राख्दा सबै कोठाबाट सजिलै पहुँच मिल्छ।

उकालो चढ्दा क्लकवाइज दिशामा घुम्नुपर्छ अर्थात् घडीको सुईजस्तै दायाँबाट बायाँतिर मोडिनुपर्छ । सिँढीहरूको संख्या बेजोड हुनुपर्छ जस्तै १९, २१ वा २३ र यो सङ्ख्या ३ वा ५ ले भाग जानु राम्रो मानिन्छ । यी नियमहरू पालना गर्दा घरमा सकारात्मक ऊर्जा, समृद्धि र शान्ति कायम रहने विश्वास छ ।

ठाउँ अनुसार सामग्री छनोट गर्ने

भर्‍याङका लागि सामग्री छनोट मौसम, बजेट र डिजाइनमा निर्भर गर्छ । जाडो ठाउँमा काठको भर्‍याङ न्यानो र आरामदायी हुन्छ । कडा काठहरू टिकाउ हुन्छन् र लाइटिङसँग जोड्दा आधुनिक लुक आउँछ ।

गर्मी ठाउँमा हो भने मार्बल वा ग्रेनाइट उपयुक्त हुन्छ, किनकि यसले शितलता दिन्छ र टिकाउ पनि हुन्छन् । यो भर्‍याङले लक्जरी अनुभव दिन्छन् । आरसीसी कंक्रिट सबैभन्दा बलियो आधार हुन्छ जसलाई विभिन्न फिनिस दिएर सुन्दर बनाउन सकिन्छ । स्टिल वा मेटल र सर्पिल डिजाइनमा बढी प्रयोग हुन्छ भने सिसा मुख्य रूपले रेलिङमा प्रयोग गरिन्छ । ट्रेडमा काठ र राइजरमा टाइल प्रयोग गर्दा खर्च कम हुन्छ ।

भर्‍याङ मुनिको ठाउँलाई के गर्न सकिन्छ ?

भर्‍याङ मुनिको खाली ठाउँलाई सदुपयोग गर्न धेरै रचनात्मक तरिका छन् । प्रायः ड्रअर÷क्याबिनेट बनाएर जुत्ता, झोला वा मौसमी सामान राख्न सकिन्छ । ओपन सेल्फ वा बुक्सेल्फ राख्दा सुन्दर देखिन्छ । ठूलो स्पेस भए बच्चाहरूको खेलौना वा साइकल राख्ने स्टोर बनाउन सकिन्छ । ठाँउ भएमा गमलामा इनडोर प्लान्ट राख्न सकिन्छ । यसले घरलाई व्यवस्थित र स्टाइलिस बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?