+
+
Shares

सुरक्षा गोष्ठीमा कोशीका मुख्यमन्त्रीको राजनीतिक भाषण : गुरुआमा सुशीलाप्रति आशंका

मुख्यमन्त्री कार्कीले सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमाथि तीव्र असन्तुष्टि जनाए । आयोगका अध्यक्ष स्वयं २३ र २४ भदौको घटनामा शंकास्पद र विवादित भूमिकामा रहेको दाबी गर्दै उनले सो आयोगबाट निष्पक्षताको आशा गर्न नसकिने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १३:१९

१६ पुस, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको वर्तमान सुरक्षा अवस्था र जेनजी आन्दोलनका विषयमा छानबिन गर्न सरकारले गठन गरेको छानबिन आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

बुधबार बिहान कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न ढिलो गरी पुगेका उनले जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिका र त्यसपछि बनेको सरकारको विषयमा असन्तोष व्यक्त गरेका हुन् ।

प्रदेशको सुरक्षा अवस्थाको विषयमा छलफलका लागि विराटनगरमा भेला भएका १४ जिल्लाका सुरक्षा निकाय र केन्द्रीय सुरक्षा नेतृत्व सहभागी भएको गोष्ठीमा उनले अधिकांश समय सरकारको आलोचनामा केन्द्रित गरे ।  निष्पक्ष निर्वाचनमाथि पनि शंका व्यक्त गरे ।

गृहमन्त्री, गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति भएको छलफलमा मुख्यमन्त्री कार्कीले राजनीतिक असन्तुष्टि र सुरक्षा चिन्ता व्यक्त गरे ।

जेनजी आन्दोलनको क्रममा सुरक्षा निकायको पूर्वसूचना प्रणाली असफल भएको र आन्दोलनपछि सरकारले गठन गरेको छानबिन आयोग ‘पूर्वाग्रही’ भएको उनको आरोप छ ।

‘सुरक्षाकर्मी हुँदाहुँदै पनि मेचीदेखि महाकालीसम्म एकै प्रकृतिका घटना हुनुले हाम्रो गुप्तचरी र तयारी शून्य देखियो,’ उनले भने, ‘त्यो बेला स्थिति हाम्रो वशमा रहेनछ,‘आउट अफ कन्ट्रोल’ रहेछ भन्ने यथार्थ देखियो । यो हामी सबैका लागि चिन्ताको विषय हो ।’

मुख्यमन्त्री कार्कीले सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमाथि तीव्र असन्तुष्टि जनाए । आयोगका अध्यक्ष स्वयं २३ र २४ भदौको घटनामा शंकास्पद र विवादित भूमिकामा रहेको दाबी गर्दै उनले सो आयोगबाट निष्पक्षताको आशा गर्न नसकिने बताए ।

प्रधानमन्त्री सुशीला कार्कीलाई गुरुआमा र गृहमन्त्री ओमप्रकाश अर्याल कलेजमा आफ्नो जुनियर रहेको उल्लेख गर्दै उनले सरकारप्रति आक्रोश र आश‌ंका व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीलाई प्रधानमन्त्री कार्कीले धरानमा प्लस टु पढाएकी थिइन् । त्यसैले उनलाई गुरुआमा भनेर सम्बोधन गरे ।

नेपाल ल क्याम्पसमा अर्याल अध्ययन गर्न जाँदा स्ववीयुको नेताको हैसियतले आफूले स्वागत गरेको स्मरण गर्दै उनले विवादित व्यक्तिलाई आयोगको अध्यक्ष स्वीकार गर्न नसकिने बताए ।

छानबिन समिति संयोजक भूमिका पूर्वाग्राही भएका कारण केपी शर्मा ओलीले बयान दिन नमानेको उनको भनाइ छ ।

उनले आफू मुख्यमन्त्री मात्र नभई एउटा राजनीतिक दलको अगुवा पनि भएको नाताले सुरक्षा चुनौतीका बारेमा बोल्न बाध्य भएको बताए ।

‘यदि यस्ता गल्तीहरू र सुरक्षा कमजोरीहरूलाई सच्याइएन भने यसले दीर्घकालीन रूपमा नेपाललाई थप जटिल र खतरनाक मोडमा पुर्‍याउनेछ,’ उनले भने ।

मुख्यमन्त्री कार्कीले सुरक्षा अवस्था कमजोर हुँदा निर्वाचन गराउन चुनौतीपूर्ण रहेको उल्लेख गरे । जेल तोडेर भागेका ४ हजारभन्दा बढी कैदीबन्दी फरार भएको र ठूलो मात्रामा हतियार तथा गोलीगठ्ठा लुटिएको तर अझै बरामद नभएका कारण सुरक्षा चुनौती रहेको उनको भनाइ छ ।

‘आज पनि जेलबाट करिब ४ हजार भागेका कैदीबन्दीहरू पत्ता लागेका छैनन्, त्यसमध्ये १ हजारभन्दा बढी अपराधी पेसाका मान्छे भागेका छन् । त्यसपछि हतियारहरू लुटिएका छन्, गोलीगठ्ठा लुटिएका छन्, ती सबै बरामद भएको छैन, र हामी चुनाव भन्दैछौँ,’ उनले भने,‘ चुनाव हुँदा कस्तो रूपको चुनाव हुन्छ एउटा प्रश्न यो हो ।’

चुनावको नाममा मुलुकलाई मुठभेडमा लैजान नहुने उनको भनाइ छ । ‘प्रहरीको मनोबल उच्च बनाएर चुनावमा जाने कुरा गर्दैछौं कति सम्भव छ ?,’ उनले भने,‘ चुनावका नाममा मुलुकलाई फेरि अर्को द्वन्द्वमा मुठभेडमा लग्यौं भने त्यसले बिगार्छ, अलिकति यसममा चाहिँ सरकार संवेदनशील बन्नुपर्छ ।’

उनले फरार कैदीबन्दी पक्राउ गर्न र लुटिएका हतियार फिर्ता गर्न आग्रह गर्दै उनले भने, ‘चुनाव हुने परिस्थिति अझै बनिसकेको छैन, यसलाई बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?