१६ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल पार्टी एकीकरण भएका छन् । आज बुधबार काठमाडौँमा एक कार्यक्रम गरी दुवै पार्टीका अध्यक्षहरूले ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी एकता घोषणा गरेका हुन् ।
पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्। पार्टीको नाम राप्रपा नै रहने सहमति भएको छ ।
पार्टी अध्यक्ष पनि लिङ्देन नै रहने, पार्टीको विधान, झण्डा र चुनाव चिह्न हलो रहने सहमति गरेका छन् । कमल थापाको भूमिका के रहने भन्ने खुलाइएको छैन ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीको ०७८ साल मंसिर सम्पन्न एकता महाधिवेशनबाट पारित सम्बन्धनवादको वैचारिक दर्शनअन्तर्गत सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्षा हिन्दूअधिराज्य, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त एकीकरण पश्चात मार्ग दर्शन हुनेछ’ सहमतिको पहिलो बुँदामा उल्लेख छ ।
सहमति पत्रमा राप्रपाको २०७८ को महाधिवेशनबाट निर्वाचित भएर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीमा सोही पदमा कायम गरिने उल्लेख छ ।
राप्रपा नेपालका अन्य पदाधिकारी र सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिने भनिएको छ । यसैगरी जिल्ला तथा स्थानीय तह (वडा, गाउँ, नगर) मा २०७८ को महाधिवेशनको समयमा कायम रहेका संरचनालाई आधार मानी सम्मानजनक ढंगले समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया 4