+
+
Shares

फागुन २१ को निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्छ : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १६:१५

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

राप्रपा नेपालसँगको एकता घोषणासभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश जबरजस्त निर्वाचनमा होमिन थालेको उनको आरोप छ ।

‘अहिले जबरजस्त मुलुक चुनावतर्फ होमिएको छ । यस्तो बेला हामी राप्रपाका नेता कार्यकर्ताको जिम्मेवारी छ, यो चुनावलाई हामीले आन्दोलनको रुपमा उपयोग गर्नुपर्नेछ, आन्दोलनको एउटा हिस्साको रुपमा हामीले प्रयोग गर्नुपर्ने छ,’ उनले भने ।

साथै, उनले फागुन २१ को चुनाव कुनै समाधान नभएको बताए ।

‘मैले सबैसँग आग्रह गर्न चाहन्छु, हामीले यो सरकारलाई सबै राजनीतिक शक्तिहरूलाई निरन्तर रुपमा आग्रह गर्‍यौं, आगामी फागुन २१ गतेको चुनाव समस्याको समाधान होइन । अस्ति जुन विद्रोह भयो, त्यो विद्रोह मध्यावधि चुनाव वा ०८४ को चुनावलाई ०८२ मा गर्नका लागि भएको होइन,’ लिङ्देनले भने ।

राजा, राजनीतिक दल, अहिलेको नवयुवा पुस्ता सबैको सर्वपक्षीय सम्मेलनबाट निर्णय गरेर देशलाई निकास दिनुपर्ने बताए ।

‘हामीले लामो समयदेखि उठाइरहेका विभिन्न विषयलाई सम्बोधन नगरी देशलाई स्थायी शान्ति दिन सकिँदैन । राजा, राजनीतिक दल, अहिलेको नवयुवा पुस्ता सबैको सर्वपक्षीय सम्मेलनबाट, सर्वपक्षीय सहमति निर्माण गरेर, देशलाई निकास दिएर मात्रै चुनाव गर्नुपर्छ भनेर हामीले भन्दै आयौं,’ लिङ्देनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?