१७ पुस, काठमाडौं । विशेष अदालतले इजलासमै झुटो बयान गरेका पूर्वमन्त्री राजकुमार गुप्तालाई पोखरा लिचीबारीको भ्रष्टाचार मुद्दामा थुनामा पठाउन आदेश दिएको छ ।
अध्यक्ष सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्ताविरुद्ध परेको घुस मुद्दामा प्रमाणहरु केलाउँदै उनलाई थुनामा पठाउनुपर्ने भनेको हो । घुस खाएको अभियोगमा पूर्वमन्त्री थुनामा पुगेको यो दुर्लभ घटना हो ।
विहीबार अदालतमा उपस्थित भएका तत्कालीन मन्त्री गुप्ताले ‘पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बाहेक मुद्दामा मुछिएका अरुलाई चिन्दिनँ’ भनेर बयान गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेका बेला घुस लिएको आरोप खेपेका मन्त्री गुप्ताले बयानमा ‘आरोप झुटो हो, मैले घुस लिएको छैन र प्रविधिको दुरुपयोग गरी अडियो रेकर्ड तयार गरिएको हो’ भनी जिकिर गरेका थिए ।
विशेष अदालतले उनको दावीमा भन्दा मुद्दाका अरु प्रमाणहरु विश्वसनीय देखेर त्यसको विवेचना सहित तत्कालका लागि थुनामा पठाउने आदेश गरेको हो ।
सेवाग्राहीलाई पोखरा लिचीबारीको जग्गा दर्ता गरिदिने आश्वासन दिएका मालपोत कार्यालय, कास्कीका प्रमुख रामचन्द्र अधिकारीको पद थमौती गराइदिने भन्दै मन्त्री गुप्ताले घुस लिएको आरोप छ ।
पूर्वमन्त्रीहरु राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठमाथि कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई कास्कीमै थमौती गर्न ५३ लाख रुपैंया घुस लिएको आरोप छ ।
भूमि आयोग कास्कीको अध्यक्षमा खम बहादुर पुनको नियुक्तीका लागि थप २५ लाख रुपैयाँ लेनदेनमा संलग्न भएको आरोपमा एकमुष्ट ७८ लाख रुपैयाँ विगो मागदावी गरेको थियो । घुस दिएको आरोपमा सुजन लामामाथि पनि त्यति नै विगो मागदावी सहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
विशेष अदालतले घुस लिएको भनी मन्त्रीविरुद्ध परेको उजुरी, अडियो संवादको स्कृप्टलाई घुस लेनदेनको एउटा आधार मानेको छ ।

बयानमा आफूले पूर्वमन्त्री रञ्जिता बाहेकलाई ‘चिन्दिनँ’ भनेकोमा विशेष अदालतले मुद्दाको फाइलमा नै रञ्जिता श्रेष्ठ, सुजन तामाङ र राजकुमार गुप्ताविच पटक–पटक फोन भएको प्रमाण भेटाएको छ । फोन संवाद र त्यसको अडियोको फरेन्सिक प्रतिवेदन आफूकहाँ पेश भएको विशेष अदालतको आदेशमा उल्लेख छ ।
जग्गा मिलाउने क्रममा मन्त्री गुप्ता र श्रेष्ठ पोखरास्थित बरपिपल रिसोर्टमा बसेका थिए । मन्त्री रञ्जिताका लागि कास्कीका मालपोत अधिकृत रामचन्द्र अधिकारीले कोठा ‘बुक’ गरेका थिए । मन्त्री गुप्ताका लागि भने मन्त्रालयले नै होटल ‘बुक’ गरेको थियो ।
जग्गा र कर्मचारी मिलाउन गएको बेला ‘डिल’ गर्न बसेको होटलको ७९ हजार रुपैयाँ बील मन्त्रालयले तिरेको थियो । त्यही होटलमा बसेकी रञ्जिताले तिर्नुपर्ने ५९ हजार रुपैयाँ मुद्दा दायर गर्ने बेलासम्म पनि उधारो थियो ।
जग्गासँग सरोकार राख्नेहरुबिच लेनदेनको करार भएको र त्यसपछि यामकुमार गुरुङको बैंक खातामा तुल्सीराम बुढामगरले रकम राखिदिएको भन्दै विशेष अदालतले त्यो लेनदेनमाथि समेत प्रश्न उठाएको देखिन्छ ।
साथै कास्कीका तत्कालिन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरकारी निवासमा रकम गनेर गाडीमा राखेको बेलामा खिचेको फोटो पेस भएको भन्दै विशेष अदालतले राजकुमार गुप्ताको हकमा विशेष अदालतले विशेष अदालत ऐन, २०५९ को दफा ७ (ङ)को आकर्षित हुने आदेश गरेको हो ।
उक्त दफामा भनिएको छ, ‘तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने पर्याप्त र मनासिब कारण भएमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि निजलाई थुनामा राखी पुर्पक्ष गर्ने ।’
प्रतिक्रिया 4