News Summary
Generated by OK AI. Editorially reviewed.- स्ट्यानफोर्ड विश्वविद्यालयसहितका वैज्ञानिकहरूले स्लीप एफएम नामक एआई मोडेल विकास गरेका छन् जसले निद्राको डेटाबाट भविष्यका रोगहरूको जोखिम पत्ता लगाउन सक्छ।
- स्लीप एफएमले करिब १०० रोगहरूको जोखिम निद्राको पोलिसोम्नोग्राफी डेटाको आधारमा सटीक पूर्वानुमान गर्न सक्षम छ भने यसले हृदयाघात, डिमेन्सिया लगायतका रोगहरू पहिचान गर्न सहयोग गर्छ।
- यो एआई मोडेललाई करिब ६५ हजार मानिसका ५ लाख ८५ हजार घण्टा निद्राको डेटा प्रयोग गरी प्रशिक्षित गरिएको छ र यसले स्वास्थ्य परीक्षणको स्वरूप परिवर्तन गर्न सक्ने दावी गरिएको छ।
शोधकर्ताहरूले एक अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स मोडेलको विकास गरेका छन् । उक्त एआईले भविष्यमा कुनै रोगको जोखिम छ कि छैन भन्ने तथ्य हाम्रो अहिलेको निद्राको आधारमा पत्ता लगाइदिन सक्ने दावी गरिएको छ ।
स्लीप एफएम नामक उक्त एआई मोडेलले व्यक्तिको निद्राको डेटाको आधारमा भविष्यमा रोगहरुको जोखिम छ कि छैन भन्ने अनुमान गर्न सक्छ । यसले करिब १०० प्रकारका रोगहरूको बारेमा बताइदिन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयसहित विभिन्न अनुसन्धान संस्थानका वैज्ञानिकहरूको सहकार्यमा उक्त एआई मोडेल तयार गरिएको हो ।
सो एआईलाई करिब ६५ हजार मानिसका 5 लाख ८५ हजार घण्टा भन्दा बढी समयको निद्राको डेटा प्रयोग गरेर प्रशिक्षित गरिएको छ । वैज्ञानिकहरूका अनुसार, यति ठूलो र गहन डाटासेटका कारण यो मोडेल अत्यन्तै सटीक परिणाम दिन सक्षम छ ।
स्लीप एफएमले कसरी काम गर्छ ?
नेचर मेडिसिनमा प्रकाशित अध्ययनअनुसार सुरुमा यस एआईलाई निद्रासम्बन्धी आधारभूत कार्यहरूका लागि परीक्षण गरिएको थियो । जसमा निद्राका विभिन्न चरणहरूको पहिचान र अनिद्रा रोग अर्थात् स्लीप एप्नियाको गम्भीरता मापन गरियो । त्यसपछि निद्राको डेटालाई अस्पतालका स्वास्थ्य अभिलेखसँग तुलना गरियो ।
यस क्रममा वैज्ञानिकहरूले १ हजार भन्दा बढी रोगहरूको विश्लेषण गरे । तीमध्ये करिब १३० रोगको जोखिम केवल निद्राको डेटाको आधारमै निकै सटीक रूपमा पूर्वानुमान गर्न सफल भयो ।
निद्राको डाटा किन महत्वपूर्ण ?
यस अध्ययननका मुख्य लेखक मध्मेका एक हुन्, इम्यानुएल मिग्नोट । उनी स्ट्यानफोर्ड विश्वविद्यालयका निद्रा चिकित्सा विज्ञानका प्राध्यापक हुन् । उनका अनुसार निद्राको समयमा शरीरबाट धेरै महत्वपूर्ण संकेतहरू प्राप्त हुन्छन् । करिब ८ घण्टासम्म शरीर स्थिर अवस्थामा रहने भएकाले अत्यन्तै समृद्ध र उपयोगी डाटा संकलन गर्न सकिन्छ ।
स्लीप एफएम एआईले पोलिसोम्नोग्राफी डाटाको प्रयोग गर्छ, जसलाई निद्रा परीक्षणको ‘गोल्ड स्ट्यान्डर्ड’ मानिन्छ । यसमा मस्तिष्कको गतिविधि (इइजी), मुटुको धड्कन (इसिजी), मांसपेशीको हलचल, सास फेर्ने ढाँचा र नाडी तथा अक्सिजनको स्तरजस्ता सूचकहरू समावेश हुन्छन् ।
शोधअनुसार गर्भावस्थासँग सम्बन्धित जटिलता, मुटु तथा रक्तसञ्चारसम्बन्धी रोग, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, पार्किन्सनजस्ता न्युरोलोजिकल रोग, स्ट्रोक र हार्ट फेलियर तथा क्यान्सरजस्ता रोगहरूको जोखिम पहिचानमा स्लीप एफएम एआई प्रभावकारी देखिएको छ ।
शोधकर्ताहरूका अनुसार यसले केवल एक रातको निद्राको डेटाकै आधारमा भविष्यमा हुनसक्ने हृदयाघात, डिमेन्सिया तथा मिर्गौला रोग लगायतका विभिन्न घातक रोगहरूको जोखिम आँकलन गर्न सहयोग पुर्याउन सक्छ ।
स्लीप एफएम जस्ता एआई मोडेलहरूले भविष्यमा स्वास्थ्य परीक्षणको स्वरूप नै बदल्न सक्ने विशेषज्ञहरू बताउँछन् । महँगो र जटिल परीक्षणभन्दा अगाडि साधारण निद्रा परीक्षणमार्फत रोगको प्रारम्भिक संकेत पत्ता लगाउन सकिने सम्भावना यसले देखाएको दावी गरिएको छ ।
त्यसैले निद्रा अब केवल आरामको माध्यम मात्र होइन भविष्यको स्वास्थ्यका बारेमा थाहा पाउने आँखीझ्याल बन्दै गएको वैज्ञानिकहरूको निष्कर्ष छ।
एजेन्सी
प्रतिक्रिया 4