+
+
Shares

फिल्ममा पुरुषत्वको रजगज, कहाँ हराए महिला केन्द्रित कथा ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ मा बलिउडमा पुरुषप्रधान एक्सन र थ्रिलर फिल्महरू हावी भएका छन्, महिला प्रधान फिल्महरूको संख्या घटेको छ।
  • भारतीय ओटीटी प्लेटफर्ममा पनि महिला प्रधान कथाहरू घटेर १२ प्रतिशतमा झरेका छन्, जबकि पुरुषप्रधान एक्सन र क्राइम थ्रिलर ४३ प्रतिशत पुगेका छन्।
  • क्षेत्रीय फिल्म उद्योग र स्वतन्त्र फिल्ममेकरहरूले महिला प्रधान फिल्महरू बनाइरहेका छन्, जसले सामाजिक र राजनीतिक संवेदनशील कथाहरू प्रस्तुत गरेका छन्।

सन् २०२५ मा बलिउड एक्सन र पुरुष प्रधानतामा फर्किएको छ । त्यसभन्दा अघिल्लो वर्ष महिला केन्द्रित कथा भएका फिल्महरूका कारण बलिउडलाई हेरिने नजरमा थोरै भए पनि परिवर्तन आएको थियो । जस्तो, पायल कपाडियाको ‘अल वी इमेजिन एज लाइट’, शुचि तलाठीको ‘गर्ल्स विल बी गर्ल्स’ र किरण रावको ‘लापता लेडिज’ ।

यी फिल्मले धेरैबाट वाहवाही बटुलेका थिए । नयाँ दर्शकको ध्यान खिचेका थिए । तर गत अङ्ग्रेजी वर्षमा भारतीय बक्स अफिसमा हिंसात्मक, पुरुषप्रधान एक्सन थ्रिलर फिल्महरू हाबी भए ।

२०२५ को अन्तिम हप्तामा भारतीय सामाजिक सञ्जालमा एउटै फिल्मको चर्चा भयो, धुरन्धर । भलै अहिले यो बलिउडकै सबैभन्दा बढी कमाउने फिल्म बन्यो । यो भारत पाकिस्तान तनावको पृष्ठभूमिमा बनेको एउटा जासुसी थ्रिलर फिल्म हो ।

हिंसालाई खुला रूपमा देखाउने र राजनीतिले भरिएको यो फिल्म आक्रामक र अतिपुरुषवादी भएको टिप्पणीकारहरूले बताइरहेका छन् । फिल्म समीक्षक मयङ्क शेखर भन्छन्, ‘२०२४ ले भारतीय महिला फिल्ममेकरहरू किनारामा पारिएका आवाज होइनन्, बरू संसारलाई नेतृत्व गर्ने आवाज हुन् भन्ने कुरा प्रमाणित गरेको थियो’

उनी त्यस समयलाई कुनै अस्थायी ट्रेन्ड नभई एउटा ‘निर्णायक क्षण’ मान्छन् । महिलाका कथाहरूमा आधारित फिल्महरूको संख्या र लोकप्रियता दुवै बढ्ने अपेक्षा गरिएको थियो । तर २०२५ मा बलिउडको शीर्ष १० बक्स अफिस हिट्समा पुरुषवादी नायकहरू नै छाए ।

यद्यपि यीमध्ये पाँचवटा फिल्म बलिउडका थिए, जुन महामारीपछि संघर्ष गरिरहेको उद्योगका लागि केही राहतको कुरा थियो । त्यसमा ‘छावा’ जस्ता ऐतिहासिक र ‘वार २’ जस्ता एक्सन फिल्महरू समावेश थिए । यस सूचीमा महिला प्रधान एउटै मात्र थियो- मलयालम भाषाको सुपरहिरो फिल्म ‘लोकाह’ ।

पुरुषत्वको भाव हाबी

पछिल्लो समयमा रोमान्टिक भनिएको ‘सैयारा’ पनि ब्लकबस्टर बनेको थियो । तर त्यो एक्सन थ्रिलरसँगै समस्याग्रस्त पुरुष रकस्टारको कथा थियो । ‘कान्तारा: च्याप्टर १’ (कन्नड) र ‘महावतार नरसिंह’ जस्ता पौराणिक फिल्महरू पनि नआएका होइनन् । तर, ती फिल्ममा पनि पुरुष वीरतालाई नै थप बलियो देखाइएको थियो । वर्षका सबैभन्दा चर्चित फिल्महरूमा पुरुषको पीडा, शक्ति र बदलाको भाव नै पूर्णरूपमा हाबी रहे ।

त्यस्तै सन् २०२५ मा धेरै कुरा गरिएको फिल्म ‘तेरे इश्क मे’ पनि हो । यो फिल्ममा एउटा रिसाहा र अस्थिर पुरुष पात्र छ । उसले एउटी महत्त्वाकाक्षीं महिलालाई प्रेम गर्न थाल्छ । पुरुषवादी सोचलाई रोमान्टिक बनाएर प्रस्तुत गरेको आरोपका बाबजुद यो फिल्म अभिनेता धनुषको सबैभन्दा ठूलो हिन्दी हिट साबित भयो । यसले विश्वभर १५५ करोड भारु भन्दा बढी कमायो ।

टप १० मा अर्को एउटा अचम्मको हिट फिल्म पनि रह्यो- एक दिवानेकी दिवानियत । यो कम बजेटको रोमान्टिक ड्रामा थियो । एउटा रिभ्युका अनुसार फिल्मको नायक यति सनकी प्रेमी थियो कि उसले नाइँ भन्ने शब्द सुन्न तयार थिएन ।

किङ्ग्स कलेज लन्डनकी सिनियर लेक्चरर प्रियन्का बसुका अनुसार २०२४ ले सम्भावनाको एउटा झलक देखाएको थियो । तर, ऐतिहासिक रूपमा महिला नायिकाहरूलाई किनारामा राखिएको फिल्म उद्योगमा अझै त्यस्ता धेरै वर्षहरू चाहिएको उनको भनाइ छ ।

भारतीय सिनेमामा खासगरी पुरुषार्थी हिरोप्रतिको आशक्ति १९७० को दशकमा अमिताभ बच्चनको ‘एङ्ग्री योङ म्यान’को प्रख्यातिबाट सुरु भएको मानिन्छ । यो प्रभाव यति भयो कि रोमान्टिक हिरो भनेर धेरैले चिन्ने शाहरुख खान पनि ‘पठान’ र ‘जवान’ जस्ता एक्सन प्रधान ब्लकबस्टर फिल्महरूमा काम गर्न रुचाए ।

‘ओटीटी’मा पनि घटे महिलाप्रधान कथा

कुनै समय अनलाइन स्ट्रिमिङ प्लेटफर्महरू (ओटीटी)मा महिलाका कथाहरूलाई केन्द्रमा राखेर भनिने कथाहरू चल्न सक्छन् भन्ने विश्वास गरिन्थ्यो । तर, अहिले यो गलत हुँदै गइरहेको छ ।

मिडिया रिसर्च कम्पनी ‘ओरम्याक्स’को पछिल्लो रिपोर्टमा ३३८ हिन्दी शोहरूको विश्लेषण गरिएको थियो । जस अनुसार अहिले एक्शन र क्राइम थ्रिलर (धेरैजसो पुरुषप्रधान) को हिस्सा ४३ प्रतिशत पुगेको छ ।  सन् २०२२ मा महिलाप्रधान कथाहरू ३१ प्रतिशत हुँदा २०२५ मा घटेर मात्र १२ प्रतिशतमा झरेका थिए ।

मयङ्क शेखर भन्छन्, ‘ओटीटी प्लेटफर्महरूले पनि बक्स अफिसकै बाटो पछ्याउन थालेका छन् । अब स्ट्रिमिङ प्लेटफर्महरू पनि चलिरहेका ट्रेन्डहरूलाई चुनौती दिनुको सट्टा तिनकै नक्कल गरिरहेका छन् । ’

तर, केही जानकारहरूका अनुसार यो परिवर्तन सिर्जनात्मक क्षमता कम भएर भन्दा पनि दर्शकको माग भएर भइरहेको हो । ट्रेड एनालिस्ट तरण आदर्श भन्छन्, ‘भारतीय फिल्महरू परम्परागत रूपमा पुरुषप्रधान रहँदै आएका छन् । तर, हामीसँग ‘मदर इन्डिया’ र ‘पाकिजा’ जस्ता महिलाकेन्द्रित क्लासिक्स पनि छन् । ’

उनका अनुसार पुरुषवादी सोचको आरोप केही आलोचकहरूले मात्र लगाउँछन् । तर, त्यसले फिल्मको भविष्य तय नगर्ने उनको भनाइ छ । अन्त्यमा दर्शकको मागले नै बाटो तय गर्ने उनी सुनाउँछन् ।

तर सबै कुरा दर्शकको रोजाइमा मात्र थुपार्नु नहुने अनु सिंह चौधरीबताउँछिन् । अनु नेटफ्लिक्स थ्रिलर ‘दिल्ली क्राइम ३’की सहलेखिका हुन् । यस सिरिजमा महिला तस्करीको मुद्दालाई नारीवादी दृष्टिकोणबाट देखाइएको छ।

उनी यो प्रवृत्ति रातारात नबदलिने बताउँछिन् । तर संसारको संरचना बदलिँदै जाँदा भने फिल्मका कथाहरूमा पनि बदलाव आउने उनको भनाइ छ । यसका साथै आर्थिक यथार्थ पनि छ । निर्माता, वितरक र प्रदर्शकहरूले कुन फिल्मले कति स्क्रिन पाउनेछ, कति प्रचार हुनेछ र दर्शकसम्म त्यसको पहुँच कति हुनेछ भन्ने निर्धाण गर्छन् । र यो अक्सर कुन पुरुष स्टार बक्स अफिसमा कति भरपर्दो छ भन्ने कुराले पनि निर्धारण गर्छ ।

क्षेत्रीय फिल्म उद्योगबाट छ आशा

‘छपाक’ र ‘मार्गरिटा विथ ए स्ट्र’ जस्ता महिलाप्रधान फिल्मकी पटकथाकार अतिका चौहानका अनुसार आजकलका फिल्महरू ‘देखावटी र अतिरञ्जित स्त्रीद्वेषको चरण’बाट गुज्रिरहेका छन् । उनको बुझाइमा यसको केही कारण सन् २०१७-१९ को ‘मी टू’ आन्दोलनका क्रममा महिलाहरूले मागेको जवाफदेहिताको प्रतिक्रिया हो ।

‘मी टू’ आन्दोलनले फिल्म क्षेत्रमा भइरहेको महिला शोषणको मुद्दालाई बाहिर ल्याएको थियो । केही आरोपितहरूलाई त्यसले अस्थायी असर गरेको थियो । तर, केही समयमा नै धेरै जना काममा फर्किहाले ।  त्यस्तो प्रवृत्ति समाप्त नभएसम्म केही पनि परिवर्तन हुने अस्वस्था नरहेको अतिका चौहान बताउँछिन् ।

यद्यपि क्षेत्रीय फिल्म उद्योग र स्वतन्त्र फिल्ममेकरहरूबाट महिला प्रधान फिल्महरू आइरहेका छन् । ‘सबर बोन्डा’ र ‘सङ्ग्स अफ फर्गटन ट्रिज’ जस्ता भारतीय फिल्महरू पनि छन्, जसले सामाजिक र राजनीतिक पत्रहरूमा गहिरिएर सम्बन्धका संवेदनशील कथाहरू सुनाउँछन् ।

तेलुगु फिल्म ‘द गर्लफ्रेन्ड’ एउटी महिलाको कथा थियो, जो विषाक्त सम्बन्धबाट आफूलाई मुक्त गर्न सिक्छिन् । त्यस्तै तमिल फिल्म ‘ब्याड गर्ल’लाई महिला दृष्टिकोणबाट देखाइएको एक सफल ड्रामाको रूपमा प्रशंसा गरिएको थियो ।

मलयालम फिल्म ‘फेमिनिची फातिमा’ले व्यङ्ग्यमार्फत एउटी मुस्लिम गृहिणीको पितृसत्ता विरुद्धको शान्त विद्रोहलाई देखाएको थियो । स्ट्रिमिङ प्लेटफर्ममा ‘द ग्रेट सम्सुद्दिन फ्यामिली’लाई आधुनिक मुस्लिम महिलाहरूको दैनिक संघर्ष र जटिलताहरूलाई असाध्यै सटिक तरिकाले देखाइएकोमा प्रशंसा गरिएको थियो ।

चौधरीका अनुसार यो शान्त रूपमा चलिरहेको एउटा आन्दोलन हो । र, किनाराबाटै काम गरिरहेको भए पनि यो हराएर नजाने उनको भनाइ छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?