News Summary
Generated by OK AI. Editorially reviewed.- उदयपुर कटारीका गंगबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दिल्ली हुँदै दुबई जाँदा बिरामी भएर दिल्लीको अस्पतालबाट बेडबाटै हराए।
- चार महिनापछि उनी भारतीय भ्लगरले फोहोर अवस्थामा भेटेपछि काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा उपचार सुरु गरिएको छ।
- म्यानपावर कम्पनीले गैरकानुनी रूपमा दिल्ली हुँदै पठाउँदा समस्या आएको र इन्डिगो एयरलाइन्समाथि कारबाहीको माग गरिएको छ।
२७ पुस, काठमाडौं । उदयपुर कटारी–६ का गंगबहादुर दर्नाल परियार १५ अक्टोबर २०२५ मा वैदेशिक रोजगारीका लागि यूएईको दुबई हिँडे ।
भारत नयाँदिल्ली हुँदै दुबई जान उनी गाडी चढेका थिए । दिल्लीबाट इन्डिगो एयरको जहाज दुबई उड्नै लाग्दा उनी अचानक बिरामी भए । इन्डिगोका कर्मचारीले उनलाई सफदरजंग अस्पतालको आकस्मिक कक्षमा पुर्याए ।
उपचार क्रममा रहेका उनी एकाएक अस्पतालको बेडबाट नै गायब भए । भोलिपल्ट अस्पतालले ‘मान्छे भाग्यो’ भन्ने जवाफ दियो । अस्पतालबाट भागेर मान्छे कहाँ गयो, भेटिएन ।
दिल्लीस्थित नेपाली दूतावास, प्रहरी सबैले उनको सोधीखोजी गर्न थाले । तर, कतै पनि उनको पत्तो लागेन ।
काठमाडौंमा ज्याला मजदुरी गरेर श्रीमती र दुई नाबालिग छोरी पालनपोषण गरिरहेका उनी एकाएक सर्म्पकविहीन भएपछि परिवारको बिचल्ली भयो ।
काठमाडौंमा रहेको कन्सुलर सेवा विभाग परराष्ट्र मन्त्रालय मार्फत समेत खोजी गरियो । तर, लामो समयसम्म उनी सम्पर्कमा आएनन् । उनको पोस्टर बनाएर समेत ठाउँ–ठाउँमा टासियो । तर, भेटिएनन् । कतैबाट नभेटिएपछि घरपरिवार पनि अब के गर्ने भन्ने चिन्तामा पर्यो ।
अस्पतालको बेडबाटै हराएको चार महिनापछि एक भारतीय भ्लगरको भिडियोमा उनी देखिए, त्यो पनि एकदमै बेवारिसे अवस्थामा ।
ती भ्लगरले उनलाई एकदमै फोहोर ठाउमा भेटेका थिए, त्यो पनि फोहोर खाइरहेको अवस्थामा । अनि, खुट्टाका दुइटा औँला काटिइसकेको अवस्थामा भेटिए । त्यसपछि घरपरिवारले उनलाई सम्पर्क गरे ।
दिल्लीबाट उनको उद्धार गरेर काठमाडौं ल्याइयो । गाडीमा हालेर नेपाल ल्याएपछि काठमाडौंमा राखियो । र, उनलार्ई उपचारका लागि सुरुमा वीर अस्पताल लगियो ।
उनको उद्धारमा संलग्न वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार वीर अस्पतालले उनको उपचार गर्न मानेन ।

‘सम्पर्कमा आएको थाहा पाएपछि हामीले उद्धार टोली पठायौं, उनलाई जहाजमा ल्याउने भन्ने थियो तर जहाजले उनलाई नेपाल ल्याउन मानेन,’ गोलेले भने, ‘त्यसपछि हामीले गाडीमै हालेर नेपालसम्म ल्यायौं ।’
काठमाडौं ल्याउने बित्तिकै त्यही अवस्थामा वीर अस्पताल लगियो । तर, वीर अस्पतालले भर्ना नै लिन नमानेको अध्यक्ष गोलेको भनाइ छ ।
वीर अस्पतालले उपचार गर्न नमानेपछि उनलाई महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगियो । त्रिवि शिक्षण अस्पतालले समेत सुरुमा भर्ना लिन नमानेको र पछि दबाब दिएपछि आकस्मिक कक्षमा भर्ना गरेको अध्यक्ष गोलेले बताए ।
चार दिनदेखि उनको उपचार भइरहेको छ । तर, उनको उपचारमा आर्थिक समस्या देखिएको छ । केही साथीभाइ तथा दाताबाट अलि–अलि आर्थिक सहयोग प्राप्त भएको र त्यही रकमले उनको उपचार गराइरहेको अध्यक्ष गोलेले बताए ।
वैदेशिक रोजगारीका लागि दुबई जान भनेर हिँडेका उनी दिल्लीमै बिरामी परेपछि छाडिएको थियो । हाल उनी बोल्न तथा आफ्नो विगतबारे स्मरण गर्न सक्ने अवस्थामा छैनन् ।
उनकी श्रीमतीले दिएको जानकारी अनुसार दुबई लैजानका लागि इन्डिगो एयरको टिकट काटिएको थियो । तर, अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको र पछि अस्पतालले उनी भागेको भन्ने खबर गरेको थियो ।
उनी ललितपुर बखुन्डोलमा रहेको प्याराडाइज म्यानपावर मार्फत दिल्ली हुँदै दुबई जान भनेर हिँडेका थिए ।
पछि उनी अस्पतालबाटै सम्पर्कविहीन भएपछि प्याराडाइजले उनलाई दुबई पठाउन लिएको १ लाख ७० हजार रुपैयाँ फिर्ता गरेको रहेछ ।

अचेत अवस्थामा भ्लगरले फेला पारेपछि उनको दुवै खुट्टामा पट्टी बाँधिएको थियो । पछि त्रिवि शिक्षण अस्पताल ल्याएर हेर्दा दुवै खुट्टाको बुढी औँला काटिएको अवस्थामा फेला परेको थियो । दुवै खुट्टा सुन्निएको अवस्थामा थिए । कम्मरमुनिको भाग चल्न नसक्ने अवस्थामा थियो ।
‘दुइटै खुट्टामा पूरा ब्यान्डेज थियो, त्यो भित्र कस्तो घाउ छ, कसैलाई थाहा छैन, डाक्टरलाई मैले यो खोलिदिनुपर्यो भनेँे, दुइटै औँला काटिएको अवस्था, अनि गन्हाउने, पिपैपिप,’ गोलेले भने ।
सुरुमा उनको किड्नी वा शरीरका अन्य कुनै अंग निकालिएको हुन सक्ने आशंका गरिएको थियो तर किड्नी सुरक्षित छ ।
उनको उद्धारपछि म्यानपावर कम्पनी सम्पर्कमा आएको छ । र, उसले उनको उपचारका लागि ५० हजार रुपैयाँ दिएको अध्यक्ष गोलेको भनाइ छ । बाँकी उपचारका लागि सबै पैसा दिने प्रतिबद्धता समेत म्यानपावरले नै गरेको छ ।
म्यानपावर कम्पनीको गैरकानुनी कामले उनी दिल्ली हुँदै दुबई जान हिँडेका थिए । जबकि, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपालको विमानस्थल प्रयोग गरेर मात्रै जान पाउने व्यवस्था छ । तर, सस्तो टिकटको लोभ तथा अन्य प्रलोभनका कारण म्यानपावर कम्पनीले दिल्ली हुँदै पठाउँदा यस्तो समस्या आएको देखिन्छ ।
श्रीमान सम्पर्कविहीन भएपछि काठमाडौंमा ज्याला मजदुरी गर्दै आएकी श्रीमतीको बिचल्ली भएको थियो । उनी दुई नाबालिग छोरीको हेरचाह र लालपालन गर्न दैनिक ज्यालामजदुरी गर्दै आएकी छिन् ।
उद्धार गरेर नेपाल ल्याई उपचार गराइरहेका दर्नाल यतिबेला सामान्य बोल्न सक्ने अवस्थामा छन् । उनले आफ्नो छोरीहरूको हेरचाह गरिदिन अनुरोध गर्दै आएका छन् ।
‘हिजो होसमा आएपछि मलाई चिने, अनि हात जोडेर सर मेरा नानीहरूलाई हेरिदिनुहोस् है भनेर रोए,’ गोलेले भने ।
त्यसरी भारतीय बाटो हुदै वैदेशिक रोजगारीमा पठाउने म्यानपावर र दिल्लीमै अलपत्र पार्ने इन्डिगो एयरलाइन्समाथि कारबाही हुनुपर्ने माग अघि सारिएको छ ।
‘मानवीय जीवनमाथि नै दुई–चार पैसाको लोभका लागि खेलबाड गर्ने म्यानपावर र एयरलाइन्समाथि कारबाही हुनुपर्छ,’ गोलेले भने, ‘त्यसका लागि हामी अब उजुरी गर्न जान्छौं ।’
प्रतिक्रिया 4