News Summary
Generated by OK AI. Editorially reviewed.- बाँकेमा एक नाबालिका बलात्कारको जाहेरी हुलाकमार्फत आएको भए पनि सनाखतका लागि पीडित पक्ष सम्पर्कमा नआउँदा प्रहरी अनुसन्धानमा समस्या भएको छ।
- जिल्ला प्रहरी कार्यालय बाँकेले पीडित पक्षलाई सनाखतका लागि सम्पर्कमा आउन अपिल गर्दै गम्भीर प्रकृतिको मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।
- पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको र कुनै दबाबमा नपरी सहयोग गर्न आग्रह गरिएको छ।
२७ पुस, काठमाडौं । बाँकेमा एक बालिका बलात्कृत भएको घटनाको जाहेरी दरखास्त सनाखत गर्न आउन प्रहरीले अपिल गरेको छ ।
बालिका बलात्कार भएको भन्दै हुलाकमार्फत् जाहेरी आएको तर हुलाकमार्फत् आएको जाहेरी दरखास्त सनाखत गर्नुपर्ने कानुनी प्रावधान भए पनि पीडित पक्ष सम्पर्कमा नआउँदा अनुसन्धानमा असहज भएको भन्दै प्रहरीले एक सूचना निकाल्दै सम्पर्कमा आउन अपिल गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी तथा प्रवक्ता दीपक पातलीले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘२२ पुसमा यस कार्यालयमा हुलाकमार्फत् पीडित बालिकाको तर्फबाट जाहेरी आएको थियो । यसरी प्राप्त जाहेरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४ (३क) अनुसार सनाखतपछि मात्रै दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । तर पीडित पक्ष सम्पर्कमा नआउँदा समस्या भएकाले सर्म्प्कमा आउन अपिल गर्दछौं ।’
१७ पुसमा डढुवा गाउँपालिका–४ मा एक नाबालिकामाथि बलात्कार भएको पीडित पक्षले बताएका छन् । तर जाहेरी दर्ता नगरेको भन्दै सार्वजनिक रुपमा विभिन्न व्यक्तिले बोल्दै हिँडेकाले अनुसन्धान नै प्रभावित हुनसक्ने भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
पीडित बालिका १७ पुसमा प्रहरी कार्यालयको सम्पर्कमा आउनसाथ विस्तृत स्वास्थय परीक्षणका लागि पठाएर प्रारम्भिक अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । त्यसपछि हुलाकबाट जाहेरी पठाएको बालिकाको पक्ष अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीको भनाइ छ ।
पीडित बालिकाको ठेगानामै पुग्दा समेत सम्पर्क हुन नसकेकाले उनका आफन्त, छिमेकी, सम्बन्धीत संस्थालाई अनुरोध गर्दा पनि पीडित पक्ष जाहेरी सनाखत गर्न अहिलेसम्म नआएको प्रहरीको भनाइ छ ।
जतिसक्दो चाँडो सम्पर्कमा आउन भन्दै प्रहरीले भनेको छ, ‘नाबालिकमाथि भएको जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको मुद्दामा प्रहरीले बेवास्ता गरेको भन्ने कुराको खण्डन गर्दछौं । यस्ता गम्भीर घटनाको यस कार्यालयले अत्यन्त संवेदनशील भइ गहन ढंगले अनुसन्धान गरिरहेको र कुनै दबाब प्रभावमा नपरी यस कार्यालयको सम्पर्कमा आइ जाहेरी दरखास्तमा सनाखत गरी अनुसन्धानमा सहयोग गर्नुहुन अपिल गर्दछौं ।’

प्रतिक्रिया 4