+
+
Shares

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, किन बढिरहेको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ, जुन अघिल्लो दिनभन्दा ४ हजार १ सय बढी हो।
  • अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ५५० अमेरिकी डलर र चाँदी प्रतिऔंस ८३ डलर नाघेको छ, जसले नेपाली बजारमा मूल्य वृद्धि गरेको छ।

२८ पुस, काठमाडौं । सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

चाँदीको भाउ प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २०५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ४ हजार ९९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

किन बढिरहेको छ भाउ ?

अन्तर्राष्ट्रिय बजारमा सोमबार कारोबारका क्रममा सुनको भाउ प्रतिऔंस ४ हजार ५५० अमेरिकी डलर नाघेको छ । त्यस्तै चाँदी प्रतिऔंस ८३ डलर नाघेको छ ।

एक औंस बराबर २.४३ तोला हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

‘जहिले पनि अन्तर्राष्ट्रिय तनाव वा द्वन्द्व बढ्दा सुन र चाँदीको मूल्य पनि बढ्ने गर्छ, अहिले प्रमुख यहीं कारण हो’ उनले भने । महास‌ंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य पनि अन्तर्राष्ट्रिय स्तरमा बढेको द्वन्द्वले सुनचाँदीको भाउमा बढी प्रभाव परेको बताउँछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हर्कतका कारण विभिन्न मुलुकलाई यतिबेला तनाव बढेको छ । हालै भेनेजुएला कब्जा गरेका ट्रम्पले इरान, ग्रिनल्यान्ड लगायत मुलुकलाई समेत धम्की दिँदै आएका छन् ।

त्यस्तै रुससँग तेल खरिद गर्दै आएका भारतसहित विभिन्न मुलुकलाई ५०० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पले चेतावनी दिएका छन् ।

यसले अन्तर्राष्ट्रिय द्वन्द्व बढ्ने डरले विभिन्न केन्द्रीय बैंक र लगानीकर्ता समेत सुन र चाँदीमा लगानी बढाइरहेका छन् । जसले मागसँगै मूल्य बढिरहेको बज्राचार्य बताउँछन् । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा मूल्य बढ्दा नेपाली बजारमा त्यसको सिधा असर पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?