२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्दै पार्टी फुट्न नदिनेमा ढुक्क रहन आग्रह गरेका छन् ।
आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी पनि उनले गराएका छन् ।
‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु,’ उनले भने, ‘तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन । तपाईंहरू पनि त्यसैमा लाग्नुस् । निरास हुने कामै छैन ।’
कोइरालाले आफू विष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको दाबी गरे ।
छलफलमा कानुन व्यवसायीहरुले नेपाली कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताएको उनको सचिवालयले बताएको छ ।
उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरुले पार्टीलाई फूटबाट जोगाउन डा. शेखर कोइरालाले दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए ।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु बल ब. केसी, मिनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरु– शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायत सहभागी थिए ।
प्रतिक्रिया 4