News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सुपारी, केराउ र मरिच आयात अनुमति खुला गरेको छ।
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चापदार्थ आयात गर्न अनुमति दिएको छ।
- आयात गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आवश्यक परिमाणको सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ।
२८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले सुपारी, केराउ र मरिच आयात अनुमति खुला गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीस्तरीय निर्णयले यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागिमात्र कच्चापदार्थका रूपमा केराउ, सुपारी, सेतो मरिच र कालो मरिच पैठारी गर्न अनुमति दिइएको हो ।
उद्योग विभागबाट देहायका विषयमा आवश्यक जाँचबुझ तथा औद्योगिक कच्चापदार्थ उपलब्धता, आवश्यकता एवं औचित्य र आयात गर्न आवश्यक परिमाणका साथै आयात गरिएको कच्चापदार्थ औद्यौगिक प्रयोजनका लागि कच्चापदार्थका रूपमा मात्र सदुपयोग भएको हुनुपर्ने समेत सर्त राखिएको छ । नयाँ स्थापना भएका उद्योगका हकमा समेत छुट्टै सर्त राखिएको छ ।
उता, खाद्य उद्योगलाई कच्चापदार्थ अभाव भएसँगै उद्योगीले केराउ–मरिच आयात खुलाउन माग गरिरहेका थिए । नेपालमा बिक्री प्रयोजनका लागि यी वस्तु आयातमा रोक लगाइएको छ ।
सरकारले हरेक वर्ष राजपत्रमा प्रकाशित गर्दै निश्चित कोटा तोकेर औद्योगिक वस्तु आयात खुलाउने गर्छ । यस वर्ष यसरी आयात नखुल्दा तस्करी बढेको गुनासो समेत उद्योगीको छ ।
सरकारले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थका रूपमा सुपारी, केराउ र मरिच पैठारी गर्ने कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यस्ता वस्तु आयात अनुमति दिने गर्छ ।
कोभिड महामारीपछि विदेशी मुद्रा सञ्चिति खुम्चिन थालेसँगै सरकारले यस्ता वस्तु आयातमा रोक लगाएको थियो । त्यसयता औद्योगिक प्रयोजनका लागिमात्र परिमाण तोकेर आयात खुला गर्ने गरिन्छ ।
उद्योगका लागि आवश्यक कच्चापदार्थको परिमाण यकिन गरी केराउ, सुपारी र मरिच आयात गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिफारिस गर्नुपर्छ ।
नेपालमा चाउचाउ, मसला र गुट्खा उद्योगले केराउ, मरिच र सुपारी खपत गर्ने गर्छन् । यसबाहेक पौष्टिक आहार उत्पादन गर्ने कम्पनीको समेत कच्चापदार्थका रूपमा यी वस्तु प्रयोग हुन्छन् ।
प्रतिक्रिया 4