News Summary
Generated by OK AI. Editorially reviewed.- निद्रा मानव जीवनको आधारभूत आवश्यकता हो, जसले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्छ।
- राम्रो निद्राका लागि मध्यम कडा म्याट्रेस र उपयुक्त सिरानीको प्रयोगले निद्राको गुणस्तर सुधार्छ र स्वास्थ्य समस्या कम गर्छ।
निद्रा मानव जीवनको एक आधारभूत आवश्यकता हो, जसले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यलाई प्रत्यक्ष रूपमा प्रभावित गर्छ । यो केवल थकान मेटाउने माध्यम मात्र होइन, बरू समग्र स्वास्थ्यको महत्वपूर्ण पाटो हो ।
पर्याप्त निद्राले स्मरणशक्ति, तौल नियन्त्रण, रोग प्रतिरोधक क्षमतामा वृद्धि, रक्तचाप सन्तुलन र मानसिक प्रदर्शनलाई सुधार्छ भन्ने कुरा वैज्ञानिक अध्ययनहरूले प्रमाणित गरेका छन् । राम्रो निद्रामा धेरै कुराले भूमिका खेल्छन् । यिनै तीमध्ये सबैभन्दा महत्त्वपूर्ण र प्रायः बेवास्ता गरिने पक्ष भनेको ओछ्यान हो । राम्रो निद्राका लागि ओछ्यानको भूमिका अत्यन्त महत्त्वपूर्ण रहन्छ, किनकि यो आराम र सहाराको मुख्य माध्यम हो ।
निद्राको गुणस्तर सुधार गर्न ओछ्यान महत्वपूर्ण आधार भएको प्राकृतिक चिकित्सक डा. प्रतिक्षा पाण्डे बताउँछिन् । ‘धेरै मानिस राम्रो निद्रा नआएको गुनासो गर्छन्’ डा.पाण्डे भन्छिन्, ‘उनीहरू आफ्नो ओछ्यानको अवस्थालाई कहिल्यै गम्भीर रूपमा हेर्दैनन् ।’
राम्रो निद्राको वैज्ञानिक महत्व
वयस्क व्यक्तिका लागि दैनिक ७ देखि ८ घण्टा निद्रा आवश्यक हुन्छ । अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिन र स्लिप रिसर्च सोसाइटीले वयस्कहरूलाई नियमित रूपमा ७ वा त्यसभन्दा बढी घण्टा निद्रा लिन सिफारिस गरेका छन्, जसले दीर्घकालीन स्वास्थ्य जोखिमहरूबाट बचाउँछ ।
अपर्याप्त निद्राले सिकाइ, स्मृति र दीर्घायुमा नकारात्मक प्रभाव पार्छ । निद्राको कमीले मस्तिष्कको सिक्ने र सम्झने क्षमतालाई हानि पुर्याउँछ भन्ने तथ्य हार्वर्ड मेडिकल स्कूलको अध्ययनले देखाएको छ । साथै स्वास्थ्य, सुरक्षा र आयुमा असर गर्ने कुरा यस अध्ययनले देखाएको छ । निर्णय लिने क्षमता, मुड र जानकारी सम्झने शक्तिमा कमी आउँदा दुर्घटना र चोटपटकको जोखिम बढ्छ ।
निद्राको क्रममा शरीरले मर्मत, मांसपेशी र हड्डी बलियो बनाउने, हर्मोन सन्तुलन मिलाउने र इम्युन प्रणाली मजबुत गर्ने काम गर्छ । अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनका अनुसार, स्वस्थ निद्रा कग्निटिभ फंक्शन, मुड, मानसिक स्वास्थ्य, हृदय स्वास्थ्य र मेटाबोलिक प्रक्रियाका लागि अत्यावश्यक हुन्छ ।

निद्रालाई औषधिजस्तै लिनुपर्ने प्राकृतिक चिकित्सक पाण्डेको भनाइ छ । ‘नियमित, गहिरो र गुणस्तरीय निद्राले शरीरमा भएका स्वास्थ्य समस्यालाई आफैं निको पार्ने क्षमता दिन्छ, र यस प्रक्रियामा सही ओछ्यानले निर्णायक भूमिका खेल्छ’ पाण्डे भन्छिन् ।
दिनमा १० देखि १२ घण्टा काम गर्ने व्यक्तिहरूका लागि यो झनै महत्वपूर्ण हुन्छ । वैज्ञानिक रूपमा, निद्रा मस्तिष्कका लागि ‘रिहर्सल’ जस्तै हो, जसले नयाँ सीप अभ्यास गर्छ र स्मृतिहरू मजबुत बनाउँछ । अपर्याप्त निद्राले मधुमेह, मोटोपन, उच्च रक्तचाप र डिप्रेसन जस्ता समस्या निम्त्याउछ । यसैले, निद्रा स्वास्थ्यको लगानी हो, र ओछ्यान यसको आधार हो ।
राम्रो निद्राका लागि ओछ्यानको भूमिका
हाम्रो पूरा जिन्दगीको करिब एक तिहाइ समय ओछ्यानमै बित्छ । त्यति लामो समय रहनुपर्ने स्थान कस्तो छ भन्ने कुराले पक्कै पनि हाम्रो जीवनका अन्य पक्षहरूलाई प्रभावित पार्छ । असहज ओछ्यानले निद्राको गुणस्तर घटाउँछ र दीर्घकालीन स्वास्थ्य समस्या जस्तै ढाड दुखाइ, तनाव र एलर्जी निम्त्याउछ । त्यसैले ओछ्यान सहज, सफा र आरामदायी हुनु अनिवार्य छ ।
ओछ्यानको मुख्य भाग ‘डस्ना’ हो, जसले शरीरलाई सहारा दिन्छ । यो कपास, ‘मेमोरी फोम’, स्प्रिंग वा प्राकृतिक रबर ‘लेटेक्स’ को संयोजनबाट बनेको हुन सक्छ । यसले मेरुदण्डको प्राकृतिक वक्रतालाई समर्थन गर्नुपर्छ । धेरै नरम म्याट्रेसले कम्मरमा तनाव दिन्छ भने धेरै कडाले दबाब बढाउँछ । मध्यम कडा म्याट्रेसले निद्राको गुणस्तर सुधार्छ, दुखाइ घटाउँछ र मुड राम्रो बनाउँछ ।
धुलो एलर्जी वा दमको समस्या भएकाहरूका लागि जैविक कपास वा हाइपोएलर्जेनिक फोमबाट बनेका म्याट्रेस र तकियाहरू उपयुक्त हुने प्राकृतिक चिकित्सक पाण्डे बताउँछिन् । यस्ता म्याट्रेसले धुलोमा रहेका सुक्ष्म जीवाणु र अन्य एलर्जेनहरूको सम्पर्क कम गर्छन् ।’
सिरक हल्का तर न्यानो हुनुपर्छ, जसमा कपासजस्ता हावा पास हुने सामग्री प्रयोग गरिएको हुन्छ । भारी सिरकले शरीर थिच्छ र निद्राको सहजता बिगार्छ । सिरकको खोल पनि प्राकृतिक कपडाबाट बनेको नै राम्रो हुने पाण्डे बताउँछिन् ।
पाण्डेका अनुसार सिरानीले टाउको र घाँटीलाई सही अवस्थामा राख्नुपर्छ । यसको उचाइ कुमको स्तरसँग मिल्नुपर्छ र कभर सधैं सफा तथा सहज सामग्रीको हुनुपर्छ । ओछ्यानको आकार पनि महत्वपूर्ण हुन्छ । यदि साँघुरो बेडमा दुई वा दुई भन्दा बढी कोचिएर सुतेको छ भने पनि निद्रामा बाधा पुग्छ । समायोजन मिल्ने बेडहरू गठिया, ढाड दुखाइ वा एसिड रिफ्लक्स भएकाहरूका लागि उपयोगी हुन्छन् ।
निद्रा र ओछ्यानको विज्ञान : स्वास्थ्य प्रभाव
सही म्याट्रेसले काँध, कमर र नितम्बमा पर्ने दबाब घटाउँछ, मेरुदण्डलाई सन्तुलित राख्छ र शरीरको तापक्रम नियन्त्रण गर्न सहयोग गर्छ । अपर्याप्त सहाराले खराब मुद्रा, असहजता र दीर्घकालीन ढाड दुखाइ निम्त्याउछ । ‘मेमोरी फोम’ म्याट्रेसले शरीरको आकार अनुसार ढल्किएर तौल समान रूपमा वितरण गर्छ ।
रक्तसञ्चार र श्वासप्रश्वासमा पनि ओछ्यानको प्रभाव पर्छ । राम्रो विछ्याउनाले रक्त प्रवाह सहज बनाउँछ, जसले झमझमाउने वा सुन्निने समस्या घटाउँछ । समायोजन मिल्ने बेडले सास फेर्न सजिलो बनाउँछ र घुर्ने समस्या कम गर्छ ।

आराम र गहिरो निद्राबीच गहिरो सम्बन्ध हुने पाण्डेको भनाइ छ । ‘असहज ओछ्यानले बारम्बार कोल्टे फेर्न बाध्य बनाउँछ, जसले गहिरो निद्रा तोड्छ’ पाण्डे भन्छिन्, ‘धेरै भासिने वा धेरै पुरानो म्याट्रेसले घाँटी र छातीको प्राकृतिक अवस्था बिगार्छ, जसले घुर्ने र सास फेर्न गाह्रो हुने समस्या बढाउँछ ।’
गहिरो निद्रामा शरीरले ऊतक मर्मत र रोग प्रतिरोधात्मक क्षमता बढाउने उनले बताइन् ।
बिछ्यौनाको सरसफाइ पनि उत्तिकै महत्वपूर्ण छ । पुराना म्याट्रेस र तकियामा धुलोका कीरा र ब्याक्टेरिया जम्मा हुन्छन्, जसले एलर्जी र दम बढाउँछ । पाण्डे स्पष्ट पार्छिन्, ‘सिरानी हरेक १–२ वर्षमा र म्याट्रेस हरेक ७–१० वर्षमा परिवर्तन गर्नु आवश्यक हुन्छ । पुरानो ओछ्यान सस्तो देखिए पनि यसले दीर्घकालीन स्वास्थ्य समस्या बढाउँछ ।’
राम्रो ओछ्यानका फाइदाहरू
सही ओछ्यानले मेरुदण्डको सन्तुलन कायम राख्छ र शरीरमा तौल समान रूपमा वितरण गर्छ । ढाड वा जोर्नी दुख्ने समस्या भएकाहरूका लागि सही म्याट्रेस अत्यन्त जरुरी हुन्छ । मध्यम कडा म्याट्रेसले दुखाइ कम गर्छ र घुर्ने समस्या घटाउने पाण्डेले बताइन् ।
‘राम्रो ओछ्यानले बारम्बार कोल्टे फेर्ने समस्या कम गर्छ, जसले निद्राको गुणस्तर बढाउँछ’ प्राकृतिक चिकित्सक पाण्डे भन्छिन्, ‘गहिरो निद्राले तनाव हर्मोन घटाउँछ, रक्तचाप सन्तुलनमा राख्छ र मानसिक स्वास्थ्य सुधार्छ ।’
म्याट्रेस र तकिया समय-समयमा बदल्नु महँगो जस्तो लागे पनि राम्रो स्वास्थ्यका लागि त्यो जरुरी छ । यसले एलर्जी, ढाड दुखाइ र अन्य स्वास्थ्य समस्याबाट जोगाएर दीर्घकालीन चिकित्सा खर्च कम गर्ने भएकाले त्यो कोणबाट पनि विचार गर्नुपर्ने पाण्डे बताउँछिन् । साथै, पुराना कपासका ओछ्यानहरू रिसाइकल गरेर पुनः प्रयोग गर्न सकिन्छ।
यसरी हेर्दा, ओछ्यान केवल सुत्ने स्थान होइन, स्वास्थ्यको आधार हो । सही ओछ्यानमा गरिएको लगानीले राम्रो निद्रा, स्वस्थ शरीर र सन्तुलित मन प्रदान गर्छ ।
प्रतिक्रिया 4