+
+
Shares

‘ऊनको स्विटर’ ले भारतमा कमायो डेढ करोड भारु, दोस्रो श्रृंखला कहिले आउला ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म 'ऊनको स्विटर' भारतमा ५१ दिन प्रदर्शन गरी ४० हलमा रिलिज भएको छ।
  • फिल्मले भारतमा डेढ करोड भारु (२ करोड ४० लाख नेरु) कमाएको निर्माता बताउँछन्।
  • निर्देशक नवीन चौहानले चाँडै दोस्रो श्रृंखला ल्याउने तयारीमा रहेको अनलाइनखबरलाई बताए।

काठमाडौं । नेपाली फिल्म ‘ऊनको स्विटर’ ले भारतमा प्रदर्शनको ५१ दिन पूरा गरेको छ । भारतभर ४० हलमा रिलिज भएको यो फिल्म विभिन्न सहरका ६ हलमा प्रदर्शनरत छ ।

सो अवधिसम्म फिल्मले डेढ करोड भारु (२ करोड ४० लाख नेरु) कमाएको निर्माताले जनाएका छन् । ‘कबड्डी ४’ पछि भारतमा कुनै नेपाली फिल्मले कमाएको यो उच्च कमाइ हो ।

निर्माताका अनुसार, ‘ऊनको स्विटर’ ५१ दिनसम्म लगातार चण्डीगढको पीभीआर सेन्ट्रल, लुधियानाको पीभीआर एभोन सिटी मल, सिलिगुडीको आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पीभीआर सहरगन्ज मलमा चलिरहेको छ ।

बलिउड नगरी मुम्बईमा समेत रिलिज भएको यो फिल्मले विशेषतः नेपालसँग सीमा जोडिएका र नेपालीभाषी बहुल भारतीय सहरहरूमा राम्रो कमाइ गरेको देखिएको छ । निर्माताका अनुसार यो फिल्मले नेपालमा १२ करोड रुपैयाँ ग्रस आम्दानी गरेको थियो ।

नेपालमा यो फिल्म सर्वकालिन धेरै कमाउने १३ औं स्थानमा रहेको सिनेपाः बक्सअफिसले जनाएको छ । मिरुना मगरले निर्वाह गरेको फिल्मको मुख्य पात्र सिक्किमदेखि भएकाले पनि नेपालीभाषी भारतीय राज्यहरूमा यसको कथावस्तु जोडिएको हुनसक्ने अनुमान छ ।

आर्टमान्डूले निर्माण गरेको यो फिल्मले सिक्किमको राजधानी गान्तोकबाट प्रदर्शन यात्रा थालेको थियो । त्यसपछि नाम्ची, दार्जिलिङ, कालिम्पोङ, खार्साङ र सिलिगुडी हुँदै पूर्वोत्तर भारतमा बलियो पकड बनायो ।

त्यसपछि आसामको गुवाहाटी, तेजपुर, विश्वनाथ चाराली, मार्गेरिटा तथा अरुणान्चल प्रदेशको ईटानगरसम्म विस्तार भयो । कोलकाताका हलमा फिल्मले आफै दर्शक तान्यो भने नयाँ दिल्लीमा पनि राम्रै दर्शक पायो ।

पूर्वोत्तर र उत्तर भारतमा पाएको सफलतापछि महाराष्ट्रको मुम्बईदेखि दक्षिण भारतसम्म पुग्न सफल भयो । केरला, बैंगलोर र हैदराबादमा पनि फिल्मले राम्रो प्रतिक्रिया पायो ।

पश्चिम र उत्तर भारततर्फ मुम्बई, पुणे, चण्डिगढ, लुधियाना, शिम्ला, देहरादून र लखनउसम्म पुगेको यो यात्राले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना देखाएको निर्देशक नवीन चौहन बताउँछन् ।

फिल्ममा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल लगायतको अभिनय छ । भारतमा एसली प्रोडक्सन र एवन राई समूहले रिलिज गरेका हुन् ।

फिल्मको दोस्रो श्रृंखला निकट भविष्यमा दर्शकमाझ ल्याउने तयारीमा निर्माता छन् । निर्देशक चौहानले आन्तरिक तयारी पूरा भएपनि चाँडै दोस्रो श्रृंखला ल्याउने अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?