+
+
Shares

नयाँ अध्ययनको निष्कर्ष : खिइएको हड्डी पुन: फर्काउन सम्भव छ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्ट्यानफोर्ड मेडिसिनका चिकित्सकहरूले १५–पीजीडीएच इन्हिविटर नामक औषधिले कार्टिलेज फिर्ता ल्याउन सक्ने दावी गरेका छन्।

उमेर बढ्दै गएसँगै व्यक्तिहरूलाई जोर्नी दुख्ने समस्या हुन्छ । जोर्नीहरूमा निरन्तर दुखाइ हुनुको मुख्य कारण हड्डी खिइनु हो । चिकित्सकीय भाषामा यसलाई ‘ओस्टियोआर्थराइटिस’ भनिन्छ ।

हाम्रा जोर्नीहरूमा कुरकुरे हड्डी हुन्छ । यसलाई बाहिरबाट कार्टिलेजको तहले सुरक्षा गरिरहेको हुन्छ । कार्टिलेज हड्डीहरू बीच रहने नरम, कुशन जस्तो पदार्थ हो । यसलाई हड्डीहरूको प्याड वा कुशनको रूपमा बुझ्न सकिन्छ ।

कार्टिलेजको तह खिइँदै गएपछि जोर्नी चलाउँदा हड्डी रगडिने र दुख्ने समस्या हुन्छ । ओस्टियोआर्थराइटिस भएपछि फिजियोथेरापी तथा अन्य विभिन्न तरिकाबाट दुखाइ कम गर्ने उपाय अपनाइन्छ । यसको अन्तिम विकल्प भनेको जोर्नी प्रत्यारोपण मानिन्छ ।

तर एक खोजले जोर्नी प्रत्यारोपणबिना नै कार्टिलेज फिर्ता ल्याउने उपचारविधि पत्ता लगाएको दावी गरेको छ । स्ट्यानफोर्ड मेडिसिनका चिकित्सकहरूको नेतृत्वमा भएको अध्ययनले कार्टिलेज फिर्ता ल्याउन सक्ने औषधि पत्ता लगाएको दावी गरेका छन् । ‘१५–पीजीडीएच इन्हिविटर’ नाम दिइएको यो औषधिले कार्टिलेज फिर्ता ल्याउने कुरा अध्ययनले देखाएको रिपोर्टमा भनिएको छ ।

यसले कसरी काम गर्छ ?

उमेर बढेसँगै शरीरमा ‘जेरोजाइम’ अर्थात (१५–पीजीडीएच ) नामक प्रोटिनको वृद्धि हुन्छ । यसको वृद्धिले हड्डीमा रहेको कार्टिलेजलाई कमजोर बनाउँछ । कार्टिलेज कमजोर भएर खिइँदै र पातलो हुँदै गएपछि जोनी दुख्ने समस्या हुन्छ ।

‘१५–पीजीडीएच इन्हिविटर’ लाई इन्जेक्सनमार्फत जोर्नीमा राख्दा यसले ‘जेरोजाइम’को वृद्धिलाई रोक्छ । त्यो रोकिएपछि कार्टिलेज पुन: बाक्लो हुँदै आउने दावी अध्ययनकर्ताहरूको छ ।

यो अध्ययनको सुरुमा वृद्ध र घाइते मुसामा अनुसन्धान गरिएको थियो । यो प्रोटिनको उत्पादनलाई बन्द गरियो । यसको प्रयोग वृद्ध मुसामा गर्दा कार्टिलेज फेरि बाक्लो भएर आयो । भने घाइते मुसामा यो सुईको प्रयोग गर्दा उसलाई ओस्टियोआर्थराइटिसको समस्या देखिएन ।

अनुसन्धाकर्ताहरूले मानव कार्टिलेजको नमुनामा पनि यसको प्रयोग गरे । एक सातासम्म ‘इन्हिविटर’ को प्रयोग गर्दा कार्टिलेजको क्षति हुने क्रम रोकिएको र स्वस्थ कार्टिलेज बन्न सुरु गरेको दावी गरिएको छ ।

यसकारण यो ओस्टियोआर्थराइटिस अर्थात हड्डी खिइने समस्याको उपचारमा प्रभावकारी हुने बताइएको छ ।

अहिले क्लिनिकल परीक्षण भइरहेको छ । यदि यो सफल भएमा ओस्टियोआर्थराइटिस उपचारको तरिका नै बदल्ने र हड्डी खिइने समस्याको दीर्घकालीन उपचार खोजिरहेका करोडौं व्यक्तिहरूलाई राहत मिल्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?