News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको डल्बी एटमस साउन्ड मिक्सिङ तालिम म्युजिक नेपाल र चलचित्र विकास बोर्डको सहकार्यमा सुरु भएको छ।
- भारतीय डल्बी सर्टिफाइड साउन्ड इन्जिनियर भरत रेड्डीले २० जना नेपाली चलचित्र साउन्ड प्राविधिकलाई तालिम दिइरहेका छन्।
- डल्बी एटमस स्टुडियो 'सगरमाथा' माघ २ गते काठमाडौँमा उद्घाटन गरिने र यसले नेपाली चलचित्रको साउन्ड गुणस्तर विश्वस्तरमा पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपालमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रियस्तरको ध्वनि प्रविधि डल्बी एटमसको साउन्ड मिक्सिङ तालिम सुरु भएको छ । म्युजिक नेपालको आयोजना, चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्यमा भिजुअल सोसाइटी अफ नेपालको सहआयोजनामा तालिम सुरु भएको हो ।
म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउन्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’ मा नेपाली चलचित्र क्षेत्रमा कार्यरत साउन्ड मिक्सिङ प्राविधिकका लागि तालिम प्रदान गरिँदैछ । बुधबार र विहिबार संचालन हुने तालिममा नेपाली फिल्ममा व्यवसायिक साउन्ड इन्जिनियरिङ गर्दै आएका २० जना प्राविधिक सहभागी छन् ।
तालिम सञ्चालनका लागि भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्बीबाट सर्टिफाइड साउन्ड इन्जिनियर भरत रेड्डी नेपाल आएका छन् ।
रेड्डीको नाम थ्री इडियट्स, सैयारा, पुष्पा, सितारे जमीन पर, थामा, धुरन्धर तथा आउन लागेको टक्सिक जस्ता चर्चित चलचित्रसँग जोडिएको छ । उनी डल्बी सर्टिफाइड ट्रेनर हुन् ।

तालिम सुरु हुनुअघि बोर्ड अध्यक्ष दिनेश डिसी र बोर्ड सदस्य वीरेन्द्रप्रसाद भट्टले रेड्डीलाई फूलको गुच्छा र नेपालमा छायांकन गन्तव्य समेटिएको पुस्तक प्रदान गर्दै स्वागत गरे ।
सो अवसरमा अध्यक्ष डिसीले सहभागी प्राविधिकलाई सक्रिय रूपमा ज्ञान आर्जन गर्न शुभकामना दिँदै यो तालिमले नेपाली चलचित्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्याउने विश्वास व्यक्त गरे ।
डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो भने नेपालकै पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियो हो ।
तालिमपछि स्टुडियोको औपचारिक उद्घाटन माघ २ गते पिङ्गलास्थान, गौशाला, काठमाडौँमा नेपाली चलचित्रकर्मीको उपस्थितिमा गरिने म्युजिक नेपालले जनाएको छ । स्टुडियो सञ्चालनमा आएपछि नेपाली दर्शकले विदेशी चलचित्रसरह उच्चस्तरीय साउन्ड अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4