News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई कारबाही गर्ने अधिकार नराख्ने बताएका छन्।
- त्रिपाठीले कांग्रेसको विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशनले पार्टीको केन्द्रीय समितिलाई भंग गरिसकेको र नयाँ समिति नै आधिकारिक हुने बताए।
- उनले पार्टी विभाजन नभएको दाबी गर्दै महाधिवेशन प्रतिनिधिहरूले देउवाजीलाई निर्वाचित गरेका र अहिले गगनसहितलाई निर्वाचित गर्न लागेका बताएका छन्।
३० पुस, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई कारबाही गर्ने अधिकार नै नराख्ने बताएका छन् ।
विशेष महाधिवेशनको मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले यस्तो बताएका हुन् ।
‘अहिले जसजसलाई कारबाही गरिएको भनिएको छ । यसलाई विधानले चिन्दैन । कारबाही गर्ने अधिकार उहाँहरूलाई छैन,’ उनले भने, ‘कांग्रेसको विधानको धारा १७ (२) को व्यवस्था अनुसार विशेष महाधिवेशनलाई सहजीकरण गर्दा कारबाही गर्नै मिल्दैन ।’
उनले विशेष महाधिवेशनले पार्टीको केन्द्रीय समितिलाई भंग गरिसकेको र नयाँ निर्वाचित समिति नै कांग्रेसको आधिकारिक समिति हुने बताए ।
‘दुई तिहाइ महाधिवेशन प्रतिनिधि यहाँ उपलब्ध छन् भनिएको छ । निर्णय अधिकार त यहाँ छ नि,’ उनले थपे, ‘अब यसले पेस गरेको विवरण निर्वाचन आयोगले अध्यावधिक गर्नुपर्छ । निर्वाचन आयोग कानुनी कर्तव्यले बाँधिएको छ। यहाँ विवाद भएको छ । उसले निरुपण गर्नुपर्ने हुन्छ । आयोगले यो बैध छ या छैन भन्नुपर्ने हुन्छ । डकुमेन्ट हेरेर स्वीकार गर्नुपर्नेछ ।’
उनले पार्टी विभाजन नभएको पनि दाबी गरे । ‘पार्टी फुटेको हैन । हिजो देउवाजीलाई निर्वाचित गरेका महाधिवेशन प्रतिनिधिले आज गगनसहितलाई निर्वाचित गर्न लागेका हुन् । अवैधानिक भन्न मिल्दैन,’ उनले भने ।
प्रतिक्रिया 4