+
+
Shares
विशेष महाधिवेशन :

गगन थापा सभापति चयन

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार माग गरेपछि बोलाएको विशेष महाधिवेशनले थापालाई सभापति चयन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते २३:०८

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको गगन थापा-विश्वप्रकाश शर्मा समूहको अगुवाइमा भएको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार बोलाएको महाधिवेशनले थापालाई सभापति चयन गरेको हो ।

चार दिनसम्म चलेको महाधिवेशनले थापालाई सभापति चयन गर्नु अगावै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री समेत रहेका गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो ।

तर यो कारबाहीलाई विशेष महाधिवेशनको हलले खारेज गरेको छ ।

जेनजी आन्दोलनपछि नेतृत्त्व रुपान्तरणको एजेण्डा बोकेर गगन- विश्व लगायतका नेताहरूले देउवासँग महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका थिए । तर चुनाव अघि महाधिवेशन गर्न असम्भव हुने भन्दै देउवा समूह तयार नभएपछि कांग्रेस विभाजित हुने अवस्थामा पुग्यो । विभाजनको एउटा विन्दुमा पुगेर थापा सभापति भए । देउवा समूहसँगको विद्रोहबाट आएका भएकाले विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति चयन गरेको हो ।

गगनको विगत

०४६ सालमा आन्दोलन उत्कर्षमा पुगिरहेका बेला गगन थापा १४ वर्षका थिए । कक्षा नौ मा पढ्दै गर्दा उनी त्यस आन्दोलनमा बाल कांग्रेसका रुपमा सहभागी भएका गिए ।

०४६ को चैत २६ गते बहुदल आयो, त्यही बहुदलले गगन थापाहरूका निमित्त राजनीतिक यात्राको बाटो तय गरिदियो । त्यसयता कहिले विद्यार्थी, कहिले संसद र कहिले सरकारको मोर्चामा खरो उत्रिएका थापा विद्रोह गरेरै पार्टी सभापति निर्वाचित भएसँगै परीक्षाको अर्को चरणमा प्रवेश गरेका छन् ।

तर उनको राजनीति भने कहिल्यै सिधा बाटोबाट अघि बढ्न सकेन । पार्टी बाहिरबाट अनेक अड्चन त हुन्छन् नै भित्र पनि अप्ठ्याराहरू छिचोल्नु पर्‍यो ।

२०५७ सालमा नेपाल विद्यार्थी संघको उपसभापति चुनिएका गगन थापा ०५९ मा महामन्त्री भए ।

उनी नेविसंघमा महामन्त्री हुँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएका थिए । त्यसबेला राजाको उक्त कदमको विरोध गर्न राजनीतिक दलहरू भन्दा पहिले विद्यार्थी संगठनहरू सडकमा ओर्लिए र त्यो आन्दोलनको नेतृत्वकर्तामध्येका एक थिए थापा ।

नेपाली कांग्रेसले गणतन्त्र र संविधानसभाका विषयमा निर्णय नगर्दै त्यो मुद्धालाई स्थापित गराउन थापाले महत्वपूर्ण भूमिका खेले । पार्टीभन्दा अघि बढेर गणतन्त्रको आन्दोलनको अग्रमोर्चामा रहँदा थापाविरुद्ध पटक-पटक राजद्रोहको मुद्दा लाग्यो ।

त्यसबेला तत्कालीन सत्ताले अत्यधिक दु:ख दिँदा पनि परिवर्तनका लागि उनले लिएको अडानले जितेपछि उनलाई राजनीतिमा अघि बढ्न सजिलो भयो ।

सडक आन्दोलन गर्दा र संसदबाट प्रश्न उठाउँदा थापालाई जति सहज थियो, सरकारमा गएपछि उनी काम गरेरै देखाउनुपर्ने अवस्थामा पुगे । २०७३ मा स्वास्थ्यमन्त्री नियुक्त भएपछिको नौ महिना स्वास्थ्य क्षेत्रको कायापलट नै हुनेगरी त उनले काम गर्न सकेनन्, तर सुधारका थुप्रै कदम चाले ।

उनले संघीय नेपालको स्वास्थ्य संरचनाको खाका नै तयार पारेका थिए । गठबन्धन सरकारमा स्वास्थ्यमन्त्री थापाको भूमिका धेरै उपलब्धिपूर्ण नभए पनि आशा जगाउने खालको थियो ।

२०६७ सालमा भएको पार्टीको १२ औं महाधिवेशनमा गगन थापा अत्यधिक मतसहित केन्द्रीय सदस्य निर्वाचितका थापाले ‘पछिल्लो बेन्चमा बसेर पार्टीमा परिवर्तन ल्याउन सकिदो रैन’छ,’ १३ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिंदै गर्दा थापाले भनेका थिए । तर, उनी पराजित भए ।

पराजित भए पनि पार्टी नेतृत्वले गरेका गलत निर्णयका प्रति प्रश्न उठाए, सरकारका कामकारबाहीबारे सदनमा खबरदारी गरे ।

चाहे कांग्रेससहितको प्रचण्ड नेतृत्वको सरकार होस् या ओली नेतृत्वको सरकार होस् उनले गलत निर्णयहरूलाई गलत भनिरहे । प्रश्नहरू उठाइरहे ।

नरहरि आचार्यसहितका कांग्रेस नेताहरूले थालेको पार्टी सुधारको अभियानमा ०५८/०५९ बाटै संलग्न रहेका थापाले यसपालि त्यही सुधारकै लागि भनेर विशेष महाधिवेशनको नेतृत्व गरेका थिए ।

थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माका दस्तावेजहरूमा पार्टी सुधारका लागि नै प्रस्ताव गरिएका थिए । उनीहरूको एजेण्डालाई विशेष महाधिवेशनले अनुमोदन पनि गरेको छ ।

पार्टीको मूल नेतृत्व परिवर्तन थापासहितको समूहको मूल एजेण्डा नै थियो । पार्टीको चौधौं महाधिवेशनमा उनको एजेण्डा अनुमोदन भएन । त्यसैले महामन्त्री निर्वाचन भए पनि उनले अधिक समय आन्तरिक शक्ति संघर्षसम्मै बिताउनुपर्‍यो । प्रश्नहरूको सही जवाफ नपाएपछि विद्रोहको बाटो रोजेका थापाले उनैले भनेझै ‘विष पिएर’ भए पनि पुरानै पार्टीलाई जोगाउन भने सकेनन् ।

ज्ञानेन्द्र शाहको शासनकालमा गणतन्त्रको माग उठाउँदा राजकाज मुद्दा खेप्दै अघि बढेका गगन थापालाई कांग्रेसभित्र सुधारका एजेन्डा राख्दा विद्रोह हुँदै विभाजनसम्म खेप्नुपर्ने अवस्था उत्पन्न भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?