१ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा नपर्ने ठूलो विश्वास आफूहरूले राखेको बताएका छन् ।
मध्यराति काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनबाट सभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका छन् ।
‘निर्वाचन आयोगलाई हामी ठूलो भरोसा राख्छौं । संविधानले चिनेको निर्वाचन आयोग हो । निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने हाम्रो ठूलो विश्वास छ,’ सम्बोधनका क्रममा उनले भने ।
निर्वाचन आयोगले प्रचलित कानुन, परम्परा, विधान र यहाँ भित्रको उपस्थितिलाई हेर्नुपर्ने उनको भनाइ छ ।
‘निर्वाचन आयोग प्रचलित कानुन, परम्परा, विधान र यहाँ भित्रको उपस्थितिलाई हेर्छ । यत्रो भव्य उपस्थिति भएको छ । यहाँभित्रको विधानलाई हेर्छ,’ थापाले भने, ‘विधान महाधिवेशनभन्दा ठूलो विधानले अरु कुनै पनि ठूलो संरचना भनेको छैन । भोलि पार्टीका सदस्यहरू कता उभिएका छन् भनेर हेर्ने हो भने पनि, करिब १० लाख नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य छ । निर्वाचन आयोगले हेरौं भनेको बेलामा १० लाखमध्ये ९ लाख ८० हजार सदस्य एक ठाउँमा उभिएनन् भने त्यो बेलामा भन्ने अवस्था आउँछ, नेपाली कांग्रेस कहाँ छ भन्ने कुरा त्यसैले पनि देखाउँछ ।’
प्रतिक्रिया 4