नेपाल प्रहरीको तथ्यांकअनुसार देशभर दैनिक ८० सवारी दुर्घटना हुन्छन् । जसमा १२१ जना घाइते हुन्छन् भने ७ जनाको मृत्यु हुन्छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक सरदर २७ दुर्घटना हुने गरेका छन् । यो तथ्यांकले सवारी दुर्घटना दर अत्यासलाग्दो देखाउँछ ।
अत्यधिक दुर्घटना हुने गरेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले समेत बढी दुर्घटना हुने ठाउँहरूलाई ‘ब्ल्याक स्पट’को रूपमा लिँदै दुर्घटना न्यूनीकरणको काम गरिरहेको छ ।
दुर्घटना न्यूनीकरणकै लागि अहिले उपत्यका ट्राफिक प्रहरीले सप्ताहव्यापी कार्यक्रम चलाइरहेको छ । ट्राफिक सप्ताह २०८२– ‘दुर्घटना न्यूनीकरण विशेष अभियान’ भनेर चलाइएको यो अभियान र सवारी दुर्घटनामा केन्द्रित रहेर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी नवराज अधिकारीसँग अनलाइनखबरका नारायण अधिकारीले कुराकानी गरेका छन् । प्रस्तुत छ, एसएसपी अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :
ट्राफिक प्रहरीले उपत्यकामा ट्राफिक सप्ताह मनाइरहेको छ । यो सप्ताहको खास उद्देश्य के हो ?
ट्राफिक सप्ताह दुर्घटना न्यूनीकरण विशेष अभियान भनेर किन ल्याइयो भन्दै धेरैले प्रश्न गर्नुभएको छ । २३ र २४ को जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयदेखि सडक बत्ती, पूर्वाधारहरू पूर्ण रूपमा जलेर नष्ट भए । केही प्रहरीको निधन भयो । केही घाइते भए । हाम्रा सम्पूर्ण बर्दी जले । त्यो अवस्थामा पुगेको ट्राफिक नागरिककै सहयोगमा उठेर अहिले यो ठाउँमा आएको छ ।
नागरिककै सहयोगमा ट्राफिक कार्यालयहरू बने । हामी उठ्यौं । तर हामी मात्रै उठेर नहुने रहेछ । सडकको अनुशासनहिनता झन् डाउन हुँदै गयो । जति पनि सडक प्रयोगकर्ता हुनुहुन्छ, अधिकांशले ट्राफिक नियम पालन नगरेको देखियो । दुर्घटनाको दर पनि बढेको देखियो । त्यसैले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह कार्यक्रम ल्याइएको हो ।
तपाईंले जेनजी आन्दोलनपछि ट्राफिक नियम वा अनुशासन उल्लघंनमा बढोत्तरी भएको संकेत गर्नुभयो । यसको कारण के हुनसक्छ ? जेनजी आन्दोलनअघि र पछिमा के फरक छ ?
जेनजी आन्दोलनपछि नागरिक अनुशासनमा कमी भएको देखिन्छ । अनुशासनको कमी भइसकेपछि ट्राफिक नियम उल्लघंन हुने नै भयो । गाडी चलाउनेले अनुशासन कायम गर्नुपर्ने होइन र ? सवारी जहाँ पायो त्यहीं रोक्ने, झार्ने त होइन होला नि । पिक एन्ड ड्रप स्टेसन तोकेको ठाउँमा रोक्नुपर्ने होला । कतिसम्म भने, अहिले जेब्रा क्रसिङमै रोक्ने गरेको समेत देखियो ।
जेब्रा क्रसिङमै पैदल यात्रीलाई ठक्कर दिएको अवस्था पनि छ । अनि दुई पांग्रे सवारी चालकलाई हेर्नुस् त, उहाँहरूलाई जहाँ पनि छिर्नुपर्छ । अलिकति पनि धैर्य नगर्ने अवस्था छ अहिले ।
जेनजी आन्दोलनमा प्रहरीको मनोबल गिराइएको थियो । प्रहरीले त्यतिबेला सबथोक गुमाएको थियो । ट्राफिकको मनोबल गिरिसकेपछि सडक प्रयोगकर्ताबाट सडक अनुशासन उल्लंघन बढी भएको हो कि ?
तपाईंले भनेको त्यो मनोविज्ञानले सुरुमा काम गरेको देखिन्छ । जेनजी आन्दोलनअघि ट्राफिक सडकमा आयो वा कारबाही गर्न खोज्यो भने ट्राफिकसँगै झगडा गर्ने, बाझ्ने, नियम उल्लंघन गर्दा पनि चिट् नकाट्न दबाब दिने अवस्था थियो ।
जेनजी आन्दोलनपछि भने धेरै जाडो भएकोले एक गिलास खाएर आएको, बाटो खाली भएकोले ८० को स्पिडमा कुदाएँ त के भयो भन्ने सोच थियो । त्यसलाई अहिले डाउन गर्दै ट्र्याकमा ल्याउँदैछौं ।
ध्वनि प्रदूषण गर्दै आतंक मच्चाउने बाइकहरू थिए । त्यस्ता १५/१६ सय बाइकलाई कारबाही अघि बढाएर अब ट्राफिकले कारबाही गर्छ भन्ने पार्यौं, यसले पनि लयमा फर्कन ठूलो सहयोग गर्यो ।
अहिले ट्राफिकको मनोबल उच्च भइसकेको छ । ट्राफिक नियम उल्लंघन गरेवापत हुने कारबाहीलाई अहिले हामी कारबाही मात्रै नभई सचेतना कारबाही भन्छौं ।

यो साताव्यापी कार्यक्रममा दुर्घटना न्यूनीकरणका लागि तपाईंहरूले कसरी काम गर्नुभएको छ ?
यो सात दिनको अवधिमा सम्पूर्ण ट्राफिक प्रहरी, सवारी–सवारीमा, टोल–टोलमा, घर–घरमा कुन माध्यमबाट पुग्न सकिन्छ भनेर काम गरेका छौं । दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने काम गरेका छौं । लापरबाहीपूर्ण र तीव्र गतिमा सवारी नचलाउन, मापसे (मादक पदार्थ सेवन) गरेर नचलाउन र जथाभावी ओभरटेक नगर्न प्रशिक्षण गराइरहेका छौं ।
अर्कोतर्फ, काठमाडौंको सडक जाम, लेनको पालना नभएको, ट्राफिक लाइटको पालना नभएको देखिएको छ । रेड लाइट बलेको छ, त्यहाँ ट्राफिक देखिएन भने हुइँक्याएर अघि बढ्ने चलन छ ।
सार्वजनिक बसहरू, राइडर सर्भिसका मजदुर साथीहरू चोकमा आएपछि पोको परेर बस्नुहुन्छ । यसले गर्दा सवारी व्यवस्थापन गर्न गाह्रो हुने र जाम हुने गर्छ । यस्ता घटना दुर्घटनाका कारण बन्छन् । दुर्घटना न्यूनीकरणका लागि आम नागरिक सडक प्रयोगकर्तालाई सुसूचित गर्न आवश्यक देखिएकाले अहिले यिनै कामहरू भइराखेका छन् ।
ट्राफिकको मनोबल उठिसकेको छ, हामी तपाईंका लागि सडकमै छौं भन्ने प्रमाण देखाउनु पनि अभियानको उद्देश्य हो । यो अभियानमा स्टिकरहरू टाँस्ने, पर्चा, पम्प्लेटिङ गर्ने, माइकिङ गर्ने, सचेतना फैलाउने, यातायात व्यवसायीहरूसँग अन्तर्क्रिया गर्ने, अन्य स्टेकहोल्डहरूसँग छलफल गर्ने, रोड व्यवस्थित गर्ने, ट्राफिक संकेत, लाइटहरू मर्मत गर्ने कामहरू हुन्छन् ।
विगतमा पनि दुर्घटना न्यूनीकरणका लागि भन्दै विभिन्न कार्यक्रम हुन्थे । तर दुर्घटनाको दर घट्नुको साटो किन बढिरहेको छ ?
तपाईंले भनेको कुरामा म सहमत छु । मुख्य कुरा नागरिक सचेतना हो । दुर्घटना बढ्यो भनेर नै हामीले सचेतना कार्यक्रम ल्याएका हौं । दुर्घटना जतिसक्दो न्यूनीकरण गर्ने प्रयास भइराखेको छ ।
सबैभन्दा उच्च जोखिममा दुई पांग्रे सवारी साधन देखिन्छन् । लापरबाही गरेर चलाउने, आफैं ठोक्किने गर्दा मृत्यु भएको देखिन्छ ।
अर्कोतर्फ, निरक्षर मान्छेलाई सचेत गराउन धेरै सजिलो हुँदो रहेछ । तर सचेत मान्छेलाई सम्झाउन अफ्ठ्यारो हुँदोरहेछ । उपत्यकामा सबै पढे–लेखेका मान्छे बस्छन् । सडक अनुशासनहिनतामा पढे–लेखेका युवाहरू नै बढी देख्छु ।
जेनजी आन्दोलनमा ट्राफिक प्रहरी कार्यालय ध्वस्त भए । बिना युनिफर्म, चप्पल लगाएर ड्युटीमा खटिनुपर्ने अवस्था थियो । त्यो अवस्थाबाट ट्राफिक प्रहरी चाँडै लयमा फर्केको देखिन्छ । यो कसरी सम्भव भयो ?
म आफैं पनि आन्दोलनको चपेटामा सामान्य घाइते भएको थिएँ । त्यतिबेला रोक्न खोज्दाखोज्दै पनि दु:खद घटना भयो । सम्पूर्ण चिजहरू जलेर नष्ट भए । भोलिपल्ट बिहानै कार्यालय आइयो । नागरिकहरू त त्यतिबेला घरघरमै हुनुहुन्थ्यो । विस्तारै सवारीहरू चल्न थाले । सवारी चल्न थालेपछि टुलुटुलु हेरेर बस्न सकिएन ।
फाटेको चप्पल र बचेको कपडा लगाएर हामीले ड्युटी निभायौं । ट्राफिक व्यवस्थापनमा लाग्यौं । होजियारीसँग सम्पर्क गरेर कपडा सिलाउन लगायौं । उहाँहरूले एक हप्तामै सिलाएर ट्राफिकका युनिफर्म दिनुभयो । म आफैं पनि चोकचोकमा खटिएँ । प्रहरी कर्मचारीलाई हौसला दिइयो ।
हौसला बढाउन ब्रिफिङ पनि दियौं । नागरिकलाई पनि विस्तारै प्रहरी त चाहिने रहेछ भन्ने पर्यो । नागरिकको ठूलो सहयोग मिल्यो । विभिन्न संघसंस्थाको सहयोगमा पार्टेसन गर्नेदेखि पुनर्निर्माणको काम गरेर अफिस खडा गर्यौं । छोटो समयमा भाइब्रेट रूपमा हामी सडकमा आयौं ।
तपाईंले भने जस्तै नेपाल प्रहरीको डाटा हेर्दा दुर्घटनाको दर ५९ प्रतिशत मोटरसाइकलकै देखिन्छ । मोटरसाइकलको संख्या धरै भएकाले दुर्घटना दर पनि बढेको हो वा अरू पनि कारण छन् ?
प्रत्येक वर्ष ६० हजारभन्दा बढी मोटरसाइकल काठमाडौंमा थपिन्छन् । अहिले राइडर सर्भिस पनि त्यत्तिकै मात्रामा छन् । राइडर सर्भिसमा पनि दुई/साढे दुई लाख मोटरसाइकल थपिएका छन् भ्यालीमा ।
हाम्रो इम्पोर्ट पोलिसीमै केही परिवर्तन गर्नुपर्छ । कतिपय देशमा जति बटारे पनि ४० को स्पिडभन्दा माथि जाँदैन । तर हाम्रोमा जति बटार्यो उति कुद्ने भयो । हाम्रो भूगोललाई आवश्यक पर्ने कस्ता मोटरसाइकल हुन्, त्यस्ता मात्रै आयात गर्नुपर्यो ।
जति बटार्यो त्यति कुद्ने मोटरसाइकल ल्याउँदा बच्चाबच्ची दुर्घटनाको सिकार हुन्छन् । किनकि, उनीहरूलाई कुद्ने मोटरसाइकल फेस भइसकेको छ । तीव्र गतिमा चलाएपछि म दुर्घटनामा पर्न सक्छु भन्ने डर त हुनुपर्यो नि । त्यो देखिँदैन ।
लाइसेन्स नै नभई मोटरसाइकल चलाउनेहरू पनि धेरै छन् । लाइसेन्स लिनेलाई पनि सवारी नियम थाहा छैन । मापसे गरेर चलाउनेहरू पनि त्यति नै मात्रामा छन् । उनीहरू चेकिङ छल्दै हुइँकिएर भाग्छन् । आफ्नै लागि चेकिङ हो भन्ने बुझाइ नै भएन ।
मोटरसाइकल एक पटक किनेपछि थोत्रो नहुन्जेलसम्म चलाइराख्ने बानी पनि छ । ब्रेक लाग्छ कि लाग्दैन, लाइट बल्छ, बल्दैन जाँच गरिँदैन । हेल्मेट ट्राफिक पुलिसको लागि लाइदिनुपरे जस्तो गर्छन् । मोटरसाइकलमा श्रीमान्–श्रीमती बस्दा श्रीमतीले हेल्मेट लगाउने चलन छैन । पल्टियो भने श्रीमतीको पनि टाउको बचाउनुपर्छ भन्ने सोच्नुपर्यो ।
दुर्घटनाको मुख्य कारण के चाहिँ के होला ?
दुर्घटनाको मुख्य कारण लापरबाहीपूर्वक सवारी चलाउनु हो । ६७ प्रतिशत दुर्घटना लापरबाहीले भएका छन् । मोटरसाइकलको मात्रै यो दर हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी छ । सडकको अवस्था, सवारीको अवस्थालगायत कारणहरू भने त्यसपछि आउँछन् ।
तपाईंहरू नागरिककै सुरक्षाका लागि भनेर सडकमा खटिनुभएको छ । तर कतिपय घटनाका तस्वीर, भिडियोहरू हेर्दा ट्राफिकको व्यवहारलाई लिएर प्रश्न उठ्ने गरेको पनि देखिन्छ नि ?
हामीले यस्तै व्यवहार नहोस् भनेर प्रत्येक १५ दिनमा विभिन्न लटमा उहाँहरूलाई ब्रिफिङ गराउँछौं । ट्राफिक आचरण, व्यवहार र नैतिकताका कुराहरूबारे ब्रिफिङ गराउँछौं ।
सार्वजनिक भएका त्यस्ता भिडियो, तस्वीर देखाएर कहाँ कमजोरी भयो भनेर सोध्छौं । ट्राफिकको दोष देखिएमा कारबाही पनि गर्छौं । अहिलेको मुख्य उद्देश्य भनेकै नागरिकमैत्री ट्राफिक प्रहरी हो । अहिलेको सप्ताहमा पनि त्यो कुरा समेटेका छौं । नागरिकमैत्री ट्राफिक अनि ट्राफिकमैत्री नागरिक हुनुपर्यो भन्ने हो ।
कहीँ कतै त्रुटि भए होलान् । त्यो मानवीय स्वभाव नै हो । समाज जस्तो छ, त्यही समाजको चरित्र हाम्रो अनुहारमा आउने हो । ट्राफिकको यस्तै व्यवहार हुनसक्छ भनेर पनि होला विश्वका केही देशहरूमा सडकमा ट्राफिक नै देखिँदैनन् । टेक्नोलोजीले काम गर्छ ।
ट्राफिकलाई सडकको रेफ्री मानिन्छ । गल्ती गर्यो भने ट्राफिकले सिटी फुक्दै रोक्छ, चिट काट्छ । तर यहाँ ट्राफिक रेफ्री मात्रै नभएर न्यायाधीश नै बने । गल्ती बिना पनि फैसला सुनाउँछन्, पुवनरावेदन गर्ने ठाउँसम्म छैन भन्ने गुनासो छ नि ?
अहिले उपत्यकाका धेरै ठाउँमा सीसी क्यामेरा छ, कभरेज हुन्छ । कसले के गल्ती गरेको हो हेर्न मिल्छ । ट्राफिकको गल्ती हेर्न एक जना सिनियर अफिसरको कमान्डमा उजुरी छानबिन शाखा पनि छ ।
बिना गल्ती चिट काटेको वा व्यवहारको सम्बन्धमा उजुरी गर्न सकिन्छ । त्यो चिट कटाइ गलत देखियो भने फिर्ता हुन्छ । हामी फिर्ता गर्छौं । गुनासो गरिएको ट्राफिकलाई बोलाएर सोधपुछ गर्छौं । उजुरी गर्नेलाई बोलाएर आमने सामाने कुरा गराउँछौं । गल्ती अनुसारको कारबाही हुन्छ । पहिला यस्ता गुनासो धेरै आउँथे । अहिले कम भएको छ ।
जाँचका क्रममा नागरिकबाट ट्राफिकमाथि दुर्व्यहारका घटना पनि देखिन्छन् । यसलाई कसरी हेर्नुहुन्छ ?
कहिलेकाहीँ यस्तो हुन्छ । किनभने, ट्राफिक सिंगल ड्युटीमा खटिएको हुन्छ, गु्रपमा हुँदैन । एक जना भएको ठाउँमा गम्भीर प्रकृतिको गल्ती गरे पनि बोल्दा ट्राफिक निकै सजग हुनुपर्ने अवस्था आउँछ । झगडा नै गर्न आउनेहरू पनि हुन्छन् । कतिपय अवस्थामा भाग्दै ज्यान जोगाउनुपर्ने अवस्था पनि ट्राफिकको छ ।
काठमाडौंको जाम घटाउन दीर्घकालीन रूपमा के गर्न सकिन्छ ?
काठमाडौंमा दैनिक १८ लाखभन्दा बढी सवारी गुड्छन् । बाटो भने असाध्यै साँघुरो छ । काठमाडौं कल्चरल सिटी, पुरातात्विक शहर हो । अरू देशमा रोड प्लानिङ गरेर, इन्जिनियरिङ गरेर सिटी बनाइएको हुन्छ । हाम्रोमा पहिला गाउँ, बजार हुँदै शहर भएको देखिन्छ । अनि, त्यही गाउँकै बाटोमा अहिले पनि कुदिराखेका छौं । यो हाम्रो ठूलो चुनौती हो ।
उपत्यकामा अत्यधिक जाम हुने ठूला चोकहरूको संख्या १७६ छ । यीमध्ये जम्मा २ वटा मात्रै फ्लाइ ओभर छन्, बालकुमारी र कलंकीमा । यो अवस्थामा सवारी रोक्नैपर्छ । पालो सिस्टममा पठाउनै पर्छ । त्यसले गर्दा जाम हुनु स्वाभाविक हो ।
जाम धेरै हुनुमा तीन वटा ‘ई’ ले काम गरेको छ– इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट । मेकानिकल इन्जिनियरिङ हेर्ने हो भने सवारीको अवस्था कस्तो छ, हाम्रो यो रोडलाई मिल्ने सवारी छन्, छैनन्, कस्ता मोटरसाइकल भित्रिएका छन् भन्ने कुरा हेर्नुपर्ने हो ।
सडकमै बसेर ट्राफिकले सिटी फुक्नुपर्ने अवस्था छ भन्नुभयो । हामी प्रविधिमा पछि परेका हौं ?
साउथ एसियाको तुलनामा हामी राम्रै छौं । प्रविधिमा हामी फड्को मार्दै थियौं, सबै जलिहाल्यो । जेनजी आन्दोलनसम्म ट्राफिक बत्ती ७२ ठाउँ सञ्चालनमा थिए । अहिले ३४ वटा मात्रै छन् । जेनजी आन्दोलनअघिसम्म हामी ६०० भन्दा बढी सीसी क्यामेराबाट मोनिटरिङ गर्थ्यौं । अहिले १६० वटा मात्रै छन् ।
जाम म्यानेजमेन्टमा सीसी क्यामेराले ठूलो काम गरेको थियो । सीसी क्यामेराकै सहयोगमा कन्ट्रोल रुमबाट हेरेर काम गर्थ्यौं । कन्ट्रोल रुमबाट हेर्ने अनि त्यहीअनुसार परिचालन हुन्थ्यौं । हामीले ड्रोनलगायतका प्रविधिबाट काम गरेका छौं ।
त्यस्तै, ब्रेथलाइजर, बडी वन कम्यामेराको सहयोगमा पनि काम गरेका छौं । बडी वन क्यामेरा लगाएर फिल्डमा खटिएपछि सम्पूर्ण गतिविधि रेकर्ड गरेर ल्याइन्छ । यस्ता धेरै चिजहरू जले । तिनलाई रिकभर गर्न धरै समय लाग्ने देखिएको छ ।
अहिले मापसेसँगै लापसे गरेका घटनाहरू देखिन थालेका छन् । लापसेको दर बढ्न थालेको हो ?
हामीले लापसेको बारेमा धेरै कम बोल्ने गरेका छौं, किनभने चेकिङ गर्न जाँदा सबैभन्दा बढी समस्या कहाँ रोक्ने भन्ने हुन्छ । लापसे गरेर सार्वजनिक बस, स्कुल बस चलाउने गरेको भेटिएको छ । त्यस्तो देखिएमा ट्राफिक कार्यालयमै ल्याएर सवारीसमेत सार्वजनिक गर्ने गरेका छौं । ताकि व्यवसायीले पनि मैले कस्ता चालकलाई गाडी चलाउन दिएको छु भन्ने जानकारी होस् । व्यवसायीले कमाइदेओस् भन्ने मात्रै सोच्नु भएन । करोडौं मूल्यको सवारी कसले चराइराखेको छ भन्ने जानकारी उहाँहरूले पनि लिनुपर्यो ।
मापसे, लापसे दुवैलाई हामीले कडाइ गरेका छौं । बेलुकामा चाहिँ नाइट अवेरनेस चलाइएको छ । स्लो ड्राइभिङ गर्न अनुरोध गर्ने, ड्रिंक एन्ड ड्राइभ नगर्न अनुरोध गर्ने, जिगज्याक नचलाउन, डिम लाइट प्रयोग गर्न भनेका छौं । जसरी घरबाट निस्कनुभएको थियो, त्यसरी नै घर पुग्न अनुरोध छ ।
पहिला शहरमा मात्र सडक थियो, त्यहाँ मात्रै ट्राफिक सचेतना फैलाउँदा पुग्थ्यो । अहिले दूरदराजमा पनि सडक पुगेको छ, सवारी पुगेको छ । शैक्षिक पाठ्यक्रममा ट्राफिक सचेतनाको विषय समेटिन ढिला भए जस्तो लाग्दैन ?
एकदमै जरुरी भइसक्यो । म चितवनको प्रहरी प्रमुख हुँदा सवारी दुर्घटनामा बालबालिकाको धेरै मृत्यु भएको वा घाइते भएको देखेपछि पाठ्यक्रम नै बनाएको थिएँ । त्यसपछि पालिकाहरूसँग समन्वय गरेर प्रस्तुति पनि गरियो ।
ट्राफिक नियम पालना गरे दुर्घटना न्यूनीकरण हुने भन्दै ट्राफिक नियम सिकायौं । साइबर अपराधदेखि लागुऔषधका विषयहरूसमेत ती पाठ्यपुस्तकमा समेटिएका थिए । पछि पालिकामार्फत विद्यालयहरूसँगसमेत सम्झौता गरेर स्कुलमा अध्ययन गराउने व्यवस्था पनि मिलायौं । त्यसपछि देशैभरि गर्नुपर्छ भनेर प्रहरी हेडक्वार्टरमार्फत परिपत्र पनि भएको थियो ।
तर, नेपाल प्रहरीको क्षमताले मात्रै पनि नहुँदो रहेछ । पाठ्यक्रम विकास केन्द्र अलग भएको कारणले हाम्रो एकल प्रयासले त्यो सम्भव भएन । यद्यपि, यो विषयमा अहिले पनि हामीले पहल गरिराखेका छौं ।
काठमाडौं उपत्यकामा त महानगरपालिकासँग सम्झौता गरेर ‘बुक फ्री डे’ भनेर प्रत्येक शुक्रबार ट्राफिक सचेतनासम्बन्धी पढाउने गरेका छौ ।
सडक गाउँ–गाउँ पुग्यो । तर ट्राफिक पुगेन भन्ने गुनासो पनि छ नि ?
सबैले नेपाल प्रहरी पनि ट्राफिक हो भन्ने बुझ्नु पर्यो । ट्राफिक पनि नेपाल प्रहरीकै एउटा अंग हो ।
आगामी दिनमा दुर्घटना न्यूनीकरण गर्न के गर्न सकिन्छ, केही नीतिगत सुधारका विषयहरू छन् कि ?
सुधार गर्नुपर्ने पहिलो काम ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिबानाको स्तर बढाउनुपर्छ । सामान्य गल्ती गरे सम्झाइबुझाइ गर्ने र गम्भीर गल्ती गर्नेलाई जरिबानाको स्तर बढाउनुपर्छ ।
अर्को कुरा सवारी साधनको जाँचका लागि हामीसँग भेइकल फिटनेस सेन्टर नै छैन । काठमाडौंबाट झापा पुग्ने नाइट बस ठिक छ कि छैन भनेर जाँच गर्ने भेइकल फिटनेस सेन्टर खै ? ट्राफिकले गुरुजी ब्रेक ठिक छ, गुरुजी चक्का ठिक छ ? गुरुजी स्टेरिङ ठिक छ ? गुरुजी तपाईं ठिक हुनुहुन्छ ? भनेर कसरी पत्ता लगाउने ?
हामीले चालक दुई जना भए/नभएको हेरौंला तर त्यो गाडी दुरुस्त छ/छैन ट्राफिकको आँखाले हेरेर थाहा हुँदैन । भेइकल फिटनेस सेन्टर चाहियो ।

तेस्रो कुरा, पुराना भेइकल विस्थापित गर्न सक्नुपर्यो । जस्तो दिल्लीले १५ वर्ष पुराना सवारी चलाउन नदिने निर्णय गर्यो । अनि हामी चाहिँ २० वर्षसम्म पनि सवारी कुदाइराखेका छौं । अब सवारीलाई टाइममै स्क्राइब नगरे दुर्घटना झनै बढ्छ ।
रोडहरुको इन्जिनियरिङ व्यवस्थापन राम्रो हुनुपर्यो । यहाँको सडकलाई सुहाउँदो सवारी आयात गर्नुपर्यो ।
ट्राफिक नियमका कुरा त भइहाले, लाइसेन्स सिस्टममा पनि ट्रायल परिवर्तन गर्नु आवश्यक देखिन्छ । रोडमै लगेर प्राक्टिकल्ली ट्रायल लिने व्यवस्था हुनुपर्छ । ट्रायल लिनुभन्दा अघिको एजुकेसन पनि परिवर्तन हुनुपर्छ । खाली त्यो टिक लगाएर ७/८ वटा प्रश्न पास गरेको मान्छेले ट्राफिक नियम कति बुझेको हुन्छ ?
अन्त्यमा, ट्राफिक प्रहरीको तर्फबाट भन्नुपर्ने केही कुरा छन् ?
अहिले ट्राफिकले आम नागरिकका लागि सप्ताह लगाएर पूजा गरिराखेको छ । मेरो अनुरोध छ, तीव्र गतिमा सवारी नचलाउनुहोस्, आभेरटेक नगर्नुहोस् । मापसे, लापसे गरेर सवारी नचलाउनुहोस् ।
जथाभावी पिक एन्ड ड्रप नगर्नुहोस् । र, सडक दुर्घटना मैले चलाएको सवारी साधनबाट म कसैलाई पनि ‘हार्म’ गर्दिनँ र म आफू पनि बाँच्छु, अरूलाई पनि बचाउँछु भन्ने मर्म मनमा राख्नुहोस् ।
यो सचेतना अभियान यहाँको घर भित्र पुगोस् । कोही पनि सवारी प्रयोगको कारण चोटपटक वा दुर्घटनामा नपर्नुहोस् । सबैले सडक अनुशासन कायम गरौं भन्ने आग्रह गर्न चाहन्छु ।
प्रतिक्रिया 4