३ माघ, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)ले कुनै पनि पार्टीमा आवद्ध नहुने बताएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएर २०७९ को निर्वाचनमा मेयरमा विजयी भएका हमालले जनताको म्यान्डेटअनुसार पाँच वर्ष नगरवासीको सेवा गर्ने बताउँदै कुनै पार्टीमा आवद्व नहुने बताएका हुन् ।
सामाजिक सञ्जालमा हमाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने प्रचार भएपछि उनले भ्रममा नपर्न समेत अनुरोध गरेका छन् ।
‘मैलै कुनै पार्टी प्रवेश गर्ने योजना बनाएको छैन । मलाई धनगढीका मतदाताले पाँच वर्षका लागि स्वतन्त्र मेयरका रुपमा निर्वाचित गराएका हुन्’, उनले भने, ‘म धनगढीवासीले दिएको जिम्मेवारी र विश्वासलाई इमानदारितापूर्वक पूरा गर्ने प्रयासमा छु । पाँच वर्ष पूरा नहुँदासम्म म कुनै पनि राजनीतिक दलमा लाग्नेछैन् ।’
हमालले जनताले दिएको जिम्मेवारी र देखाएको विश्वासमा घात नगर्ने स्पष्ट बताउँदै विभिन्न ढंगले आएका निराधार कुरामा विश्वास नगर्न पनि अनुरोध गरे । ‘मलाई जनताले स्वतन्त्र मेयर भनेर जिताएका हुन् । म जनाताको म्यान्डेटअनुसार २०८४ को स्थानीय चुनावसम्म स्वतन्त्र नै रहेर काम गर्छु’, उनले भने,’अहिले कुनै पनि पार्टी प्रवेश गर्ने योजना छैन । सामाजिक सञ्जालमा आएका कुराको पछि नलाग्न सबैमा मेरो अनुरोध छ ।’
केही दिनदेखि मेयर हमाल रास्वपा प्रवेश गर्न लागेको भन्दै केहीले उनको फोटोसहित प्रचार गरिररहेका थिए ।
प्रतिक्रिया 4