पुस ३० गते राति विशेष महाधिवेशनबाट सभापतिमा चुनिएपछि गगन थापाले भनेका थिए, ‘अब गुटको अन्त्य भयो, कांग्रेसमा अब कुनै गुट छैन, नेपाली कांग्रेस अब जनताको आशा र भरोसाको पार्टी हो, हामी कांग्रेसलाई जनताका पक्षमा सकारात्मक परिणाम दिने पार्टी बनाउँछौं ।’
निर्वाचन आयोगले उनी सभापति रहेको समितिलाई वैधता दिएपछि माघ २ गते राति एक टेलिभिजनसँगको अन्तर्वार्तामा गगन निकै संयमित सुनिए । उनले भने, ‘अब मेरो भूमिका फेरिएको छ, म पार्टीको सभापति हुँ, उत्तर दिने र त्यसको समाधान गर्ने ठाउँमा आइपुगेको छु, हामी जे निर्णय गर्छौं, सामूहिक अभ्यास मार्फत गर्छौं ।’
गगन एकाएक फेरिएका होइनन्, उनको लवज एकाएक परिवर्तन भएको हैन, उनलाई आइपरेको जिम्मेवारीको बोधले त्यो परिवर्तन देखिएको सहजै बुझ्न सकिन्छ र भन्न सकिन्छ त्यो विद्रोही गगन अब बफादारिता तर्फ अगाडि बढ्दैछन् । मलाई लाग्छ, अहिले कांग्रेस भित्र र बाहिर रहेका सबैको चाहना त्यही छ । यो आलेखमा मैले ती विद्रोही गगन कसरी बफादार गगन बन्न सक्छन् भनेर स्पष्ट पार्ने कोसिस गरेको छु ।
विद्यार्थी राजनीतिदेखि नै सत्ताको विकृति र विसंगति विरुद्ध ‘विद्रोही’ छवि बनाएका गगन आज पार्टीको सर्वोच्च नेतृत्व तहमा पुगेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनको राप र तापबाट जन्मिएको उनको नयाँ नेतृत्वसँग अब केवल विद्रोह मात्र होइन, बरु ‘बफादारिता’ को पनि अपेक्षा सबैले गरेका छन् । मान्छेहरूलाई लाग्न सक्छ गगन विद्रोहको भाषा मात्र प्रयोग गर्छन्, समाधान खोज्दैनन् । गगन प्रश्न मात्र गर्छन्, उत्तर दिंदैनन् । ती विद्रोही गगनलाई देखेका राजनैतिक चेत भएका मान्छेहरूलाई त्यस्तो लाग्नु स्वाभाविक पनि हो ।
गगनले अब ती सबै आशंकाहरूलाई आफूलाई प्रमाणित गर्नुपर्नेछ, त्यो पनि केही समय भित्रमा नै, किनकि गगन आफैंले भनेका छन्– वैशाख अन्त्यमा नियमित महाधिवेशन गर्छु । त्यो महाधिवेशनबाट उनी नै सभापति होलान् या नहोलान् त्यो भविष्यको कुरा भयो तर गगनलाई छोटो समयमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती भने छँदैछ ।
२०६० को दशकको सुरुवातमै जब कांग्रेसभित्र ‘गणतन्त्र’ शब्द उच्चारण गर्न पनि निषेध जस्तै थियो, तब गगनले सडकबाटै राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको नारा लगाए । उनले यो नारा लगाउँदा मानिसहरू जिब्रो टोक्थे । उनको यो विद्रोह आफ्नै पार्टीका अभिभावकहरू विरुद्ध पनि थियो ।
त्यो समयको विद्रोह एउटा वैचारिक क्रान्ति थियो । उनले केवल नारा मात्र लगाएनन्, बरु नेपाली कांग्रेसभित्र विचारको नयाँ धार निर्माण गरे । जसले उनलाई पटक–पटक संकटमा पार्यो, कैयौं अवसर गुमाए, तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले त उनलाई ‘रोयलिस्ट’ समेत भने । तर अन्तत: त्यही विद्रोही छविले नै उनलाई आजको उचाइमा पुर्याएको कुरामा शायदै कसैको दुईमत होला ।
गगनले पार्टी सत्ता र राज्य सत्ताका विरुद्धमा कैयौं पटक वैचारिक विद्रोह गरे । सांसदको रूपमा कैयौं पटक बैठकमा विद्रोहका आवाज बुलन्द पारे । पार्टीभित्रको आन्तरिक लोकतन्त्रको लडाइँ पटक–पटक लडे । तिनै गगन अहिले विद्रोह नै गरेर विशेष महाधिवेशनको माध्यमबाट पार्टीको शीर्ष नेतृत्वमा आएका छन् ।
नेपाली कांग्रेसको इतिहासमा ‘दोस्रो विशेष महाधिवेशन’ एउटा ऐतिहासिक मोड सावित भयो । पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको र नेतृत्वले जनभावना बुझ्न नसकेको आरोप लगाउँदै गगनले चालेको कदम जोखिमपूर्ण त थियो तर उनले जोखिम मोले । उनी सहित विश्वप्रकाश शर्मा लगायतले बहुमत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनको ढोका खोले र आफूहरूले उठाएको जोखिमलाई सफल अवतरण गरे ।
उनीहरूको यो विद्रोह केवल पद प्राप्तिका लागि मात्र थिएन, बरु पार्टीलाई पुनर्जीवन दिने प्रयास थियो । विशेष महाधिवेशनको मञ्चमा उभिंदै गर्दा गगन–विश्वहरूले जुन सङ्कल्प गरे, त्यसले उनीहरूलाई नेतृत्वमा पुर्यायो । अब यो विजय गगनको व्यक्तिगत जित मात्र रहेन, यो त परिवर्तनको चाहनाको संस्थागत जिम्मेवारी बनेको छ । भलै एउटा समूह यो मान्दैनौं भन्दै सर्वोच्च जाने तयारीमा छ तर बहुसंख्यक कांग्रेस कार्यकर्ताले यसलाई अनुमोदन गरिसकेका छन् ।
यसरी एक विद्रोहीको छवि बनाउँदै उदाएका गगनलाई उनले भने जस्तै अब जिम्मेवारी थपिएको छ, विद्रोहको छवि हैन बफादारिताको छवि बनाउनुपर्ने चुनौती छ ।
हुनत गगनले अब ‘म’ होइन ‘हामी’ हौं भनेर महाधिवेशनको मञ्चबाट नै भनिसकेका छन् । सत्ताप्राप्तिको उन्मादको अंश उनीभित्र कहींकतै मात्र बाँकी रह्यो भने पनि उनको अभियान धरापमा पर्नेछ, यसप्रति गगन सचेत बन्नै पर्छ ।
विशेष महाधिवेशनपछि गगनका सामु आफ्नो विद्रोही छविलाई ‘संस्थागत निष्ठा’ मा बदल्नुपर्ने चुनौती छ, उनलाई अब विधि कार्यान्वयन गराउनुपर्ने चुनौती छ । हिजो उनी विधिको वकालत गर्थे, आज विधि कार्यान्वयन गर्ने मुख्य ठाउँमा छन् । पार्टीको विधानलाई अक्षरश: पालना गर्ने कार्यमा उनी बफादार हुनै पर्छ । यसमा उनले कुनै छुट पाउनेवाला छैनन् ।
गगनले भनेका छन् अब कांग्रेसमा गुट सकियो, अब गगन सबैका सभापति हुन् । असहमत पक्षलाई पनि मिलाएर सँगसँगै हिंडाउनुपर्ने उनको दायित्व हो । यो बफादारिताबाट गगन नचुकुन् । विद्रोहबाट आएको नेतृत्वले प्राय: आफ्ना समर्थकलाई काखा र विरोधीलाई पाखा लगाउने जोखिम हुन्छ । त्यो जोखिमबाट गगन मुक्त भएनन् भने उनीप्रतिको विश्वास डगमगाउने छ । गगनले अब आफूलाई सबैको साझा नेताका रूपमा स्थापित गर्दै पार्टीलाई एकढिक्का बनाउन बफादार हुनैपर्छ ।
अर्को कुरा गगनले भारतमा भएको विद्रोहपछि भन्दै आएका कुरालाई कार्यान्वयनमा ल्याउन पहल गर्नुपर्ने अर्को बफादारिता हो । ‘जेनजी’ र नयाँ पुस्ताले उठाएको मुद्दालाई राजनीतिक मूलधारमा कांग्रेस सभापतिको रूपमा कार्यान्वयन गराउनु उनको अर्को मुख्य काम हो । यसप्रति उनी बफादार भएनन् भने उनले भन्दै आएको पुस्तान्तरणको मुद्दा निरर्थक हुनेछ ।
नयाँ पुस्ताको राजनीतिप्रतिको दृष्टिकोण परम्परागत छैन । उनीहरू परिणाम खोज्छन्, भाषण होइन । गगन ती युवाहरूका आशाका केन्द्र बनेर उनीहरूप्रति बफादार हुनै पर्छ । गगनका पुराना विद्रोहका कथा सुनाएर मात्र नयाँपुस्ताको चित्त बुझ्नेवाला छैन । उनीहरूलाई परिणाम चाहिन्छ । उनीहरूका मुद्दालाई परिणाममुखी बनाउन गगन बफादार बन्नै पर्छ ।
राजनीतिप्रति वितृष्णा जागेको यो समयमा ‘गगनले केही गर्छ’ भन्ने जुन आशा बाँकी छ, त्यसलाई विश्वासमा बदल्न उनी आफ्नो एजेन्डाप्रति बफादार हुनुपर्छ ।
गगन थापा यस्तो विद्रोही चेत भएका मान्छे हुन् जसले पटक–पटक राज्य सत्ता होस् या पार्टी सत्ता त्यसभित्र सुशासन हुनुपर्छ भन्ने मुद्दालाई आफ्नो विद्रोहको स्वर मार्फत खरो रूपमा उठाउँदै आए । उनी अब मुलुकको सबैभन्दा ठूलो पार्टीको सभापति बनेका छन् । अर्थात् उनी अब कार्यान्वयन गर्ने र गराउने ठाउँमा पुगेका छन् । उनले अब तत्काल सुशासनको सुरुआत आफ्नै पार्टीबाट गरून् ।
विगतमा कांग्रेसमाथि लाग्ने गरेको भ्रष्टाचारका आरोपितलाई संरक्षण गर्ने गरेको आरोपलाई चिर्नु उनको पहिलो बफादारिता हुनेछ । उनले अब पार्टीको टिकट वितरण, नियुक्ति र निर्णय प्रक्रियामा पारदर्शिता ल्याएर आफूलाई भ्रष्टाचार विरुद्ध खरो रूपमा उभ्याउनुपर्छ । यसले मात्र उनको सुशासनप्रतिको बफादारिता देखिनेछ ।
गगनले सधैं नीतिगत भ्रष्टाचारको कुरा उठाए । संसद्मा पनि उनको चर्को स्वर यही विषयमा सुनिन्थ्यो । अब उनी कार्यान्वयन गर्ने ठाउँमा आएका छन् । उनले अब केवल प्रश्न गर्ने मात्र होइन, बरु ठूला–ठूला काण्डहरूको निष्पक्ष छानबिनका लागि सरकारलाई दबाब दिने र आफ्नै दलभित्रका आरोपितहरूलाई पनि जवाफदेही बनाउने कार्यमा बफादार हुनुपर्छ ।
गगनले अब बुझ्नुपर्छ कि विद्रोह एउटा हतियार हो, तर बफादारिता एउटा चरित्र हो । उनले अब आफ्ना समर्थकहरूको भावना, पार्टीको रूपान्तरण, देशको भविष्य र नयाँ पुस्ताको आकांक्षाप्रति आफूलाई समर्पित गर्नुपर्छ ।
गगनले बुझुन्, अबको उनको यात्रा भनेको विद्रोहको समाप्ति होइन, बरु विद्रोहको सही गन्तव्य र परिणामका लागि ‘बफादारिता’ को सुरुआत हो । यतिबेला सबैको चाहना त्यही छ ‘विद्रोही गगन, अब बफादार बनुन् ।’
– बस्ताकोटी पत्रकार हुन् ।
प्रतिक्रिया 4