News Summary
Generated by OK AI. Editorially reviewed.- डा. बाबुराम भट्टराईले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।
- उनले देशको जटिल भू-राजनीतिक परिस्थितिका कारण आफूलाई चुनावी भूमिकामा आवश्यक ठानेको बताए।
- गोरखा २ मा कुल मतदाता १ लाख ८ हजार ५३३ रहेका छन् र यसपटक चुनाव जित्न चुनौतीपूर्ण देखिन्छ।
५ माघ, गोरखा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नलड्ने बताउँदै आएका डा. बाबुराम भट्टराईले अन्ततः गोरखा २ बाट चुनाव लड्ने घोषणा गरे । प्रगतिशील लोकतान्त्रिक पार्टीको आइतबार गोरखामा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उनले प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।
मतदाताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै चुनाव लड्न लागेको उनले जानकारी गराए । सोमबार जिल्लाका पत्रकारसँग भेटघाट गर्दै उनले सो कुरा बताएका हुन् ।
‘नयाँ पुस्तालाई अघि सार्नुपर्छ भन्ने प्रयत्न गरेर पार्टीमा म संरक्षकको भूमिकामा मात्र छु, निर्वाचनको हकमा पनि सकभर नयाँलाई अघि सारेर जान पाए हुन्थ्यो भन्ने हो,’ उनले भने, ‘तर देशको राजनीति अझै तरल अवस्थामा रहेको र जटिल भू राजनीतिक परिस्थितीले मेरो आवश्यकता छ भन्ने महशुस गरायो ।’
नयाँ शक्तिहरू उदयले प्रष्ट राजनीतिक दिशा लिनुको सट्टा पुरानो र नयाँ बीचको द्वन्द्वमा सिर्जना भएको उनले बताए । एजेण्डासहितको नयाँ हुन नसक्दा उत्पन्न राजनीतिक अस्थिरतालाई सुल्झाउनका निम्ति अभिभावकीय भूमिका बहन गर्न पनि चुनाव लड्नु आवश्यक भएको उनले जिकिर गरे ।
विदेशी शक्तिहरुको स्वार्थका कारण देशको स्वाधीनता र सर्वभौमसत्तामै प्रतिकूल असर पर्ने संकेत देखिएको बताउँदै उनले भने, ‘चीनजस्तो शक्ति, विश्वको तेस्रो अर्थतन्त्र बन्न लागेको भारत शक्ति र अमेरिकी नेतृत्वको पश्चिमा शक्तिको स्वार्थ बाझिएको र यसले हाम्रो देशको स्वाधीनता र सार्वभौमसत्तामा प्रतिकुल असर पार्न सक्ने सम्भावना रहेकाले म जस्तो प्रधानमन्त्री भइसकेको मान्छे यस्तो बेलामा संक्रिया खालको भूमिका खेल्नुपर्ने आवश्यकता रहन्छ ।’
त्यसका निम्ति प्रतिनिधिसभा उच्च थलो रहेको उनले जानकारी दिए । सत्तामुखी नभई सेवामुखी राजनीति गरेकाले गोरखाली जनताले फेरि एकपटक माया गर्ने उनको अपेक्षा छ ।
त्यसो त यसअघिका निर्वाचनमा गोरखाबाट बाबुरामले कहिल्यै हार व्यहोर्नुपरेको छैन । २०६४ सालको संविधानसभा निर्वाचनमा गोरखा २ बाट उनी सर्वाधिक मतसहित विजयी भए । २०७० मा गोरखा १ बाट उनी निर्वाचित बने । २०७४ सालको निर्वाचनमा गोरखा २ बाट निर्वाचित उनले २०७९ सालको निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छाडे । यसपटक उनी पुनः चुनावी मैदानमा उत्रिँदै छन् ।
यसपटकको चुनाव जित्न उनलाई त्यही सहज भने देखिँदैन । सशस्त्र द्वन्द्वकालका सहकर्मी लेखनाथ न्यौपानेदेखि गुण्डा नाइके मिलन चक्रेसम्म उनका प्रतिस्पर्धी छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट न्यौपाने र नेकपा एमालेबाट चक्रे उम्मेदवार पक्का भइसकेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार बन्ने सम्भावना छ । यसअघि डा. भट्टराईलाई सहयोग गर्दै आएका पार्टीका केही नेता कार्यकर्ताहरु रास्वपा प्रवेश गरिसकेका छन् । यो कुराबारे भट्टराई आफै जानकार छन् । तर उनीहरुको सदभाव अझै रहने उनको विश्वास छ ।
हाल गोरखा २ को कुल मतदाता १ लाख ८ हजार ५३३ छन् । गोरखा २ बाट करिब ४६ हजार मत ल्याएर जित हासिल गरेका भट्टराइलाई अहिलेको परिस्थितीमा त्यो बिरासत कायम गर्न मुस्किल देखिन्छ ।
युवापुस्ताको रोजाइमा नयाँ अनुहार देखिन्छ । पुराना दलप्रतिको वितृष्णा र नयाँको खोजीका कारण पनि मत बाझिने सम्भावना बढी छ । तर गोरखाको विकासमा आफ्नो योगदानलाई सम्झेर गोरखाली जनताले एक पटक पुनः माया गर्नेछन् भन्ने आशमा डा. भट्टराई छन् ।
प्रतिक्रिया 4