+
+
Shares

बितेका ८ वर्षमा एआर रहमानले किन बलिउडमा काम पाइरहेका छैनन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्कर अवार्ड विजेता संगीतकार एआर रहमानले पछिल्ला आठ वर्षदेखि बलिउडमा काम पाउन कम भएको स्वीकार गरेका छन्।
  • रहमानले विवादास्पद फिल्म 'छावा' लाई विभाजन गर्ने फिल्म भन्दै स्वीकार गरेका छन्।
  • रहमानले नितेश तिवारीको फिल्म 'रामायण' का लागि संगीत तयार गरेका छन् र यसमा धार्मिक आस्थाबारे प्रश्नहरूको जवाफ दिएका छन्।

धेरै बलिउड फिल्ममा यादगार संगीत दिएका अस्कर अवार्ड विजेता संगीतकार एआर रहमानले पछिल्ला आठ वर्षदेखि बलिउडमा आफूलाई काम पाउन कम हुँदै गएको स्वीकार गरेका छन् ।

बीबीसीसँगको विशेष अन्तर्वार्तामा रहमानले आफ्नो अहिलेसम्मको संगीत यात्रा, बदलिँदो सिनेमा, आगामी योजना र समाजको वर्तमान अवस्थाबारे खुलेर कुरा गरेका छन् ।

नितेश तिवारीको आउँदै गरेको फिल्म ‘रामायण’ का लागि उनले संगीत एल्बम कम्पोज गरेका छन् । फरक धर्मबाट आए पनि यस फिल्मका लागि संगीत तयार गरेको विषयमा उठेका प्रश्नहरूको उनले जवाफ दिएका छन् ।

गत वर्ष ‘छावा’ फिल्म रिलिज भएको थियो, जसमा रहमानले संगीत दिएका थिए । यो फिल्मले इतिहासका तथ्यहरू तोडमोड गरेर देखाएको र समाज विभाजन गर्ने खालको भएको भन्दै धेरै इतिहासकारले आलोचना गरेका थिए । फिल्म रिलिज हुँदा महाराष्ट्रका केही स्थानमा हिंसा पनि भड्किएको थियो ।

अन्तर्वार्तामा रहमानले ‘छावा’ एक किसिमले ‘विभाजन गर्ने’ फिल्म भएको स्वीकार गरेका छन् । साथै, उनले आफ्नो सुरुवाती संघर्ष र पश्चिमी तथा भारतीय संगीतबीच तालमेल मिलाउनुपर्ने चुनौतीबारे पनि विस्तारमा कुरा गरेका छन् ।

‘रोजा’ को ट्रयाक अनुमति नलिइ प्रयोग गरियो’

फिल्म एनिमल मा ‘रोजा’ फिल्मको एक साउन्ड ट्रयाक बज्छ, जसले नयाँ पुस्तालाई एआर रहमानको संगीतसँग चिनाउने काम गरेको छ ।

अहिले रहमानले एनिमल मा ‘छोटी सी आशा’ सुन्दा मानिसले यसलाई इन्स्टाग्राम र टिकटकमा प्रयोग गरिरहेका छन् । यो गीत अहिले सबै ठाउँमा ट्रेन्ड भइरहेको छ । ३३ वर्षअघि बनाएको संगीत आज नयाँ जीवन पाइरहेको छ भन्नेमा उनलाई कस्तो लाग्छ ?

यस प्रश्नमा रहमान भन्छन्, “यो नास्टाल्जिक लाग्छ । उनीहरूले मलाई कहिल्यै सोधेनन् । रिलिजपछि भने हामीले यो प्रयोग गरिरहेका छौँ भने । ओरिजिनल रेकर्ड भए पनि हामी यसको एटमस मिक्स गर्ने प्रयास गरिरहेका छौँ, र यो अहिले पनि निकै राम्रो सुनिन्छ ।’

तर ३३ वर्षअघि यो साउन्ड ट्रयाक रिलिज भएको दिन उनलाई आज पनि स्पष्ट रूपमा याद छ ।

उनी भन्छन्, “‘रोजा’ गर्दा मैले धेरै निराशा पाएँ । मेरो सोच थियो- ठीक छ, यो गरिहाल्छु अनि फिल्मबाट निस्केर आफ्नै एल्बम बनाउँछु । मलाई फिल्ममा बस्ने मन थिएन, किनकि मेरो पूरा बाल्यकाल फिल्ममै बितेको थियो । तर भाग्यले सबै कुरा मैले चाहे जस्तै बदलियो । डल्बी आयो, त्यसपछि डीटीएस आयो, ध्वनि अझ राम्रो हुँदै गयो ।’

उनी थप्छन्, “म अलि निराशावादी थिएँ । तर पछि सबै कुरा बदलियो । प्रविधि निकै छिटो आयो । पाँच वर्षमै डीटीएस डिजिटल र डल्बी आए । यसले मलाई सफलता र अवार्ड पनि दिलायो । त्यसपछि मैले सोचेँ- छोड्नुभन्दा अघि अलि अझै गरौँ । र दश वर्षपछि मैले अब छोड्ने कुरा नै बन्द गरें ।’

‘रोजा’ को संगीत बनाउँदा सुरुका संघर्षबारे उनले भने, “जब मैले १६ ट्रयाकमा संगीत मिक्स गर्न थालेँ, अरू स्टुडियोमा जम्मा ३ ट्रयाक मात्र थिए । मलाई लाग्यो, यो संगीत टिक्छ र जस्ताको तस्तै सुनिन्छ । यसमा गिरावट आउँदैन । त्यसैले यसलाई डकुमेन्ट गरेर सुरक्षित राख्न चाहन्थेँ, आर्काइभ गर्न चाहन्थेँ । तर टेप किन्न पैसा थिएन । त्यसैले मेरा सबै ब्याकग्राउन्ड स्कोर र पुराना गीतहरू मेटाउनुपर्‍यो । गीतका टेप त छन्, तर स्कोरका छैनन् ।’

फिल्मका लागि मलाई धेरै कम पैसा मिल्थ्यो । एउटा जिङ्गलको लागि जति पैसा पाइन्थ्यो, त्यति ६ महिनाको फिल्मको काममा पाइन्थ्यो । तर मैले बुझिसकेको थिएँ कि म क्रमशः विकसित हुँदै गइरहेको छु ।’

बलिउडमा स्थान बनाउन संघर्ष

के ‘दिल से’ आएपछि मात्रै रहमानलाई पूरै भारतभर चिनिन थालिएको हो भन्ने प्रश्नमा उनी भन्छन् : “मलाई लाग्छ ‘रंगीला’ बाट सुरु भयो । राम गोपाल वर्मा मणिरत्नमका साथी थिए । एक दिन उनी आएर भने- म एउटा फिल्म बनाउँदैछु । उनको ‘शिवा’ हिट थियो। उनले भने, मलाई तपाईंको संगीत मन पर्छ र म तपाईंसँग काम गर्न चाहन्छु । उनी मणिरत्नमभन्दा बिल्कुल फरक थिए । तीनवटा फिल्म गरेपछि पनि म आफूलाई आउटसाइडर नै ठान्थेँ । तर ‘ताल’ भने घर-घर पुग्यो । भान्सासम्म पुग्यो । आज पनि धेरै उत्तर भारतीयको रगतमा त्यो संगीत छ, किनकि त्यसमा अलिकति पञ्जाबी, हिन्दी र पहाडी संगीत मिसिएको छ ।’

बीबीसीले सोध्यो-

“यो चाखलाग्दो छ कि रहमानले १९९९ सम्म आफूलाई आउटसाइडर भन्नुहुन्छ, जबकि ‘रोजा’ १९९२ मा आएको थियो र त्यसपछिका ७-८ वर्षमा तपाईंले ‘बम्बे’, ‘रंगीला’, ‘दिल से’, ‘ताल’ जस्ता देशकै ठूला साउन्डट्रयाक बनाउनुभयो । त्यसपछि पनि तपाईंलाई आफू त्यो ठाउँको हिस्सा जस्तो किन लागेन ?”

यसमा रहमान भन्छन् :

“म हिन्दी बोल्दिनथें । तमिल व्यक्तिका लागि हिन्दी सिक्न गाह्रो हुन्छ, किनकि हामी तमिलसँग धेरै जोडिएका हुन्छौँ । तर सुभाष घईले भन्नुभयो- मलाई तपाईंको संगीत मन पर्छ, तर म चाहन्छु तपाईं यहाँ धेरै समय बस्नुहोस्, त्यसैले हिन्दी सिक्नुस् । मैले भनेँ- ठीक छ, म हिन्दी सिक्छु, अझ एक कदम अगाडि बढेर उर्दू पनि सिक्छु, जुन ६०/७० को दशकको हिन्दी संगीतको आमा जस्तै हो । त्यसपछि म अरबी सिक्दै थिएँ, जुन उच्चारणमा उर्दूसँग मिल्दोजुल्दो छ । पछि नुसरतका गीत र सुखविन्दरको प्रभावले मलाई पञ्जाबीमा पनि रुचि बढ्यो ।’

रहमानले थपे :

“अचम्मको कुरा के हो भने मैले कर्नाटक संगीत धेरै प्रयोग गरिनँ, किनकि त्यसमा पहिल्यै धेरै काम भइसकेको थियो। कुनै पनि धुन छुँदा पहिले नै सुनेको जस्तो लाग्थ्यो। त्यसैले मैले हिन्दुस्तानी रागहरू रोजेँ- जस्तै देश, पीलू, दरबारी । यी राग तमिल वा दक्षिण भारतीय संगीतमा धेरै प्रयोग भएका थिएनन् । यही कारण उत्तर भारतीय दर्शकलाई यो संगीत बढी मन पर्‍यो । कर्नाटक संगीत प्रयोग नगर्ने निर्णय मैले सोचेर नै गरेको थिएँ ।’

‘छावा’ एक विभाजन गर्ने फिल्म हो

बलिउडमा संगीत बनाउँदै रहमानले धेरै यस्ता सिर्जना दिएका छन्, जुन सदाबहार मानिन्छन् ।

हालै ‘छावा’ नामको फिल्म आएको थियो, जसमा उनले म्युजिक डाइरेक्टरको भूमिका निभाएका थिए । यस फिल्मको संगीतलाई पनि धेरै प्रशंसा गरिएको थियो।

तर रिलिज भएदेखि नै यो फिल्म विवादमा पर्‍यो र महाराष्ट्रका केही स्थानमा हिंसा पनि भयो ।

बीबीसी एसियन नेटवर्कसँगको अन्तर्वार्तामा रहमानलाई यो फिल्म विभाजनकारी हो कि होइन भनेर सोध्दा उनले भने, “यो बाँड्ने खालको फिल्म हो ।’

उनले भने, “मेरो विचारमा यसले विभाजनलाई प्रयोग गरेको छ । तर मलाई लाग्छ, यसको उद्देश्य बहादुरी देखाउनु हो । मैले निर्देशकलाई नै सोधेँ- यस फिल्मका लागि तपाईंलाई मेरो किन आवश्यकता भयो ? उनले भने– यसका लागि हामीलाई तपाईं मात्र चाहिन्छ ।’

रहमानले थपे, “मलाई लाग्छ यसमा धेरै कुरा छन् र यसको अन्त्य पनि हेर्न लायक छ । तर पक्कै पनि मलाई लाग्छ मानिस यसभन्दा धेरै समझदार छन् । के तपाईंलाई लाग्छ दर्शक फिल्मबाट सजिलै प्रभावित हुन्छन् ? मानिसभित्र एउटा गुण हुन्छ, जसले के साँचो हो र के चालबाजी हो भनेर चिन्छ ।’

फिल्म निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ यसै वर्षको अन्त्यमा रिलिज हुँदैछ र यसमा ए.आर. रहमानले संगीत दिएका छन्।

फिल्ममा संगीत भर्दा धार्मिक आस्थामा कहिल्यै प्रश्न उठ्यो ?

यस प्रश्नमा उनले भने-

“म ‘ब्राह्मण स्कूल’ मा पढेको हुँ । हरेक वर्ष रामायण र महाभारतका कार्यक्रम हुन्छ । त्यसैले म कथाहरू जान्दछु, व्यक्तिहरूका गुणहरूको कथा । म सबै राम्रो कुरा महत्व दिन्छु ।’

“ज्ञान त्यो हो जुन तपाईं हरेक दिन, हरेक ठाउँमा सिक्न सक्नुहुन्छ । हामीले संकीर्णता र स्वार्थभन्दा माथि उठ्नुपर्छ ।’

‘जो क्रिएटिभ छैनन्, उनीहरूसँग पावर छ’

धेरै फिल्मकार र कलाकारले दाबी गरेका छन् कि बलिउडमा तमिल समुदायप्रति भेदभाव भएको छ। तर १९९० को दशकमा कस्तो थियो?

यस प्रश्नमा रहमानले भने-

“मलाई यो सबै थाहा नै भएन, या शायद मबाट लुकाइएको थियो । मैले कहिल्यै यस्तो महसुस गरिनँ ।’

तर उनले थपे-

“पछिल्ला ८ वर्षमा सायद सत्ता परिवर्तन भएको छ र जो रचनात्मक छैनन्, उनीहरू निर्णय लिँदैछन् । सायद साम्प्रदायिक कुरा पनि भएको छ, तर मेरो सामना कसैले भनेको छैन ।’

“हो, केही कुरा कानमा आइपुग्यो । जस्तै तपाईंलाई बुक गरिएको थियो, तर अर्को संगीत कम्पनीले फिल्मको फन्डिङ गर्‍यो र आफ्ना संगीतकारलाई ल्यायो । म भन्छु ठीक छ, म आराम गर्नेछु, परिवारसँग समय बिताउनेछु । म काम खोजिरहेको छैन । म चाहन्छु काम मलाई नै आओस् । म चाहन्छु मेरो मेहनत र ईमानदारीले मलाई अवसर दिलाओस् । मलाई लाग्छ चीजहरू खोज्न अपशकुन हो । जे मेरो हो, भगवानले मलाई दिन्छन् ।

भविष्यका योजना के के छन् ?

यस अन्तर्वार्तामा रहमानले आफ्नो भविष्यका योजनाबारे पनि कुरा गरेका छन् । उनले भने कि आफ्नो पहुँच बढाउन पश्चिमी देशका कलाकारसँग सहकार्य गर्ने प्रयास गरिरहेका छन् ।

उनी भन्छन्-

“मैले वर्चुअल मेटा ब्यान्ड ‘सीक्रेट माउन्टेन’ बनाएको छु । जहाँ विविधता छ । त्यहाँ अमेरिकन, आइरिश, अफ्रिकन, उत्तर भारतीय, दक्षिण भारतीय र चिनियाँ पात्रहरू छन् । यो पूर्ण रूपमा संसारलाई एक साथ ल्याउने प्रयास हो ।’

“तर यो पनि कुरा छ कि यदि मैले भारतीय संगीत नहुनु, भने म के गर्थें ? तर मेरो संगीत पूर्ण रूपमा भारतीय पनि छैन । मैले जसरी संगीत उत्पादन गर्छु, त्यो पूर्ण रूपमा भारतीय छैन ।’

रहमानले हलिउडमा भारतीय संगीतसँग जोडिएको काम किन नगरेको पनि बताए । उनले भने-

“हलिउडमा भारतीय सामग्री जसरी पनि प्रयोग हुन्छ, त्यो मेरो प्राथमिकता हुँदैन । किनकि म त भारतीय संगीत नै गरिरहेको छु । म अझ गहिरो काम गर्न चाहन्छु । ब्यान्ड पनि यसमा निकै उत्साहित छ, किनकि हामीसँग स्वतन्त्रता छ र गुनासो गर्ने केही छैन ।’

पश्चिमी कलाकारहरूसँग सहकार्यबारे उनी भन्छन्-

“पश्चिमी कलाकारले भारतीय कलाकारसँग सहकार्य गर्नु धेरै राम्रो कुरा हो । नयाँ पुस्तासँगको राम्रो कुरा के हो भने उनीहरूसँग त्यो बोझ छैन जुन हाम्रो साथमा थियो । उनीहरूलाई कसैको परवाह छैन ।’

अल्का याग्निकसँगको ‘तुम साथ हो’ र सुखविंदर सिंहसँगको ‘रमता जोगी’ को सहकार्यलाई उनी आफ्नो सबैभन्दा राम्रो अनुभवमध्ये एक मान्छन् ।

आशा भोसलेसँगको ‘तन्हा-तन्हा यहाँ पे जीना’ सहकार्यलाई पनि उनले उत्कृष्ट बताउँछन् ।

उनी भन्छन्-

“आशा भोसले दिग्गज कलाकार हुन् । उनी ९० वर्ष पार गरिसकेकी छन् र अझ पनि गाइरहेकी छन् । यस्तो ‘लिभिङ लेजेन्ड’ लाई हामी किन सेलिब्रेट नगर्नु ? म उनको नजिक गएँ र भनेँ- म तपाईंको साथ फेरि एउटा गीत गर्न चाहन्छु । उनले भने- किन नहोस् । हामीले गीत उत्पादन गरिसक्यौं र यो वर्ष आउनेछ ।”

बीबीबी हिन्दीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?