+
+
Shares

प्रशान्त सम्झिएनन्, श्रद्धाञ्जलीमा एकशब्द खर्चेनन्

प्रशान्त एउटा पात्र हुन् । उनलाई लिएर सरकारले गरेको गल्ती सानो देखिएला । तर, यसको नतिजा भयंकर हुनेवाला छ ।

सापेक्ष सापेक्ष
२०८२ माघ ८ गते २०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उनको निधनमा सरकारले कुनै सम्मान वा श्रद्धाञ्जली व्यक्त नगरेको र कलाकर्मी पनि मौन रहेका छन्।

‘दार्जीलिङतिर सबै ठीक छ’

उक्त संवादसँगै इन्डियन आइडलको मञ्चमा पदार्पण गरेका थिए, प्रशान्त तामाङले ।

भारतीय वर्चस्व रहने चर्चित रियालिटी शोमा शानदार प्रवेश गरेका उनले नेपाली भाषा बोले, नेपाली गीत गाए । अनि, प्रतियोगिता जितेपछि गर्वसाथ ढाका टोपी लगाए ।

त्यति मात्र होइन, यसबीचमा उनले विश्वभरका नेपालीलाई एकढिक्का बनाए । इतिहासमा कहिल्यै नभएको सांस्कृतिक उत्सव ल्याइदिए । राष्ट्रियताको भाव अरू प्रगाढ बनाइदिए ।

इन्डियन आइडलको शीर्ष ताज जितेपछि पनि उनले आफ्नो ख्यातिलाई नेपाली सिनेमासँग जोडिदिए । कहिले नेपाली फिल्म खेल्दै त कहिले नेपाली गीत गाउँदै उनी अविच्छिन्न कला मनोरञ्जनमा लागिरहे । प्रशान्त खासमा ‘अघोषित दूत’ थिए, जसले नेपाली कला–संस्कृतिलाई फरक भूगोलसम्म विस्तार गर्न उल्लेख्य योगदान दिए ।

यसै क्रममा उनको अल्पायुमै अप्रत्यासित निधन भयो । उनको निधन नेपाली कला संस्कृतिको क्षेत्रका लागि अपूरणीय क्षति थियो । तर हामीकहाँ उनलाई त्यसरी सम्झिएनन्, जसरी उनले योगदान पुर्‍याएका थिए ।

प्रशान्तको निधनमा दुःख व्यक्त गर्ने वा शोकाकुल परिवारप्रति समवेदना दिने उदारता पनि हामीले देखाएनौं । न सरकारले यसमा कुनै जाँगर चलायो, न त्यस मातहतका निकायले । अरूको के कुरा, कलाकर्मी पनि यसमा मौन रहे ।

चलचित्र विकास बोर्डले एउटा विज्ञप्ति निकालेर झारा टार्‍यो ।

उसले आफ्नो शोक विज्ञप्ति मार्फत ‘नेपाली भाषा प्रवर्धन, नेपाली संस्कृतिको प्रसार तथा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अभियानमा प्रशान्त तामाङको योगदान अतुलनीय र अविस्मरणीय रहने’ भनेर भनेको छ ।

तर, उनको अन्तिम बिदाइ गर्न काठमाडौंबाट दार्जीलिङ जाने कसैले चेष्टा गरेनन् । काठमाडौंमै पनि सम्झने दुःख गरेनन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले त झन् शोक विज्ञप्ति निकाल्ने प्रयास समेत गरेन ।

४२ वर्षको उमेरमै उनी संसारबाट बिदा भएको साता दिन बितिसकेको छ । अहिले पनि पूर्वका केही ठाउँहरूमा प्रशान्तलाई सम्झने, उनलाई श्रद्धाञ्जली अर्पण गर्ने काम भइरहेका छन् । तर, काठमाडौंमा यसको कुनै चालचुल छैन ।

‘पूर्वोत्तर भारतीय नागरिक’हरूलाई जोड्ने एउटै कसी नेपाली भाषा, साहित्य संगीत नै हो । धेरै भएको छैन, उनीहरू पहिले दिल्लीभन्दा काठमाडौं आउन नजिक मान्थे । अहिले दूरीको हिसाबले कम भए पनि उनीहरूका लागि काठमाडौं टाढाको शहर हुँदै गइरहेको छ । दूरी लम्ब्याउने दोष सरकारकै हो ।

इतिहासमा यस्तो पनि भएको थियो, तत्कालीन सरकारले दार्जीलिङका कलाकारहरूलाई नेपाल ल्याउँथे । नेपाल ल्याउन बल गर्थे । सिर्जनामा लीन हुन लगाउँथे । सकभर काठमाडौंमा नै बस्ने वातावरण मिलाउँथे । जसको प्रतिफलको स्वाद आज पनि (शायद पुस्तौंसम्म) ‘नेपाली’हरूले पाइरहेका छन् । तर, जब कामको सम्मान नै हुन्न, तब जोकोही किन बस्ने ?

नतिजा त हाम्रै आँखा अघि देखिन थालेको छ । यी सारा बुझेका, नेपाली साहित्य, भाषा, संगीतकै विस्तार गर्न लागिपरेका र हामीले सरकार भनेर पुकार्नेहरू भने झन् त्यो दूरी बढाउन लागिरहेकै छन् ।

तर, नेपाली भाषा र नेपाल देशप्रति देखाएको प्रेमबाट प्रशान्तले के पाए ? व्यक्तिगत रूपमा नेपालीबाट पाउने प्रेम, सम्मान, सदभाव छँदैछ ।

ती सबलाई ओझेलमा पार्ने गरी उनले सरकारको तर्फबाट गुन पाएनन् । श्रद्धाञ्जलीमा एक शब्द पाएनन् ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?