६ माघ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर-२ मा सुलभ खरेललाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपाले सुरुमा यहाँ बालेन समूहबाट आशिष सुवेदीलाई टिकट दिएको थियो । पछि गएराति सुलभ खरेललाई पनि टिकट दिइएको खबर सार्वजनिक भएको थियो ।
एउटा निर्वाचन क्षेत्रमा दुई जनाले टिकट पाएको विषयले रास्वपामा विवाद उत्पन्न भएको थियो ।
रुपन्देही-२ मा पार्टीको क्षेत्रीय समितिले गोपाल घिमिरे, मधुप्रसाद अर्याल, रुस्तम कँडेल, सुलभ खरेल लगायतलाई सिफारिस गरेको थियो ।
आशिषलाई टिकट दिइएकोमा समेत पार्टीभित्र असन्तुष्टि थियो ।
पार्टी स्थापनाकालदेखि क्षेत्रमा खटिएकालाई पाखा लगाएर अन्य क्षेत्रबाट पार्टीमा कामै नगरेकालाई टिकट दिइएको भन्दै क्षेत्रका नेता कार्यकर्ता असन्तुष्ट थिए ।
विवादका बीच सुवेदीलाई ब्याक गराएर खरेललाई टिकट दिएको पार्टी केन्द्रबाट जानकारी आएको जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए ।
खरेललाई टिकट दिएकोप्रति पनि क्षेत्रका रास्वपा नेता कार्यकर्ता सन्तुष्ट छैनन् ।
खरेलले रास्वपाको संगठन निर्माण योगदान नगरेका र पार्टी सभापति रवि लामिछानेसँग निकट भएकै कारण उनले टिकट हत्याएको असन्तुष्टहरूको भनाइ छ ।
खरेलमाथि जेनजी आन्दोनका बेला न्यायाधीशहरूमाथि आक्रमण गर्नुपर्ने र सर्वोच्च अदालत जलाउनुपर्ने आशयका म्यासेज ह्वाटसएपबाट आदान प्रदान गरेको आरोप लागेको थियो । यसबारे त्यो बेला विभिन्न सञ्चारमाध्यममा समाचार समेत प्रकाशित भएका थिए ।
रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट विष्णु पौडेल, कांग्रेसबाट चुन्नुप्रसाद पौडेल,नेपाली कम्युनिस्ट पार्टीबाट सुवास पाण्डे विश्वदीप, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नारायण नागिला, नेकपा माओवादीबाट वीरेन्द्र विक उम्मेदवार छन् ।
प्रतिक्रिया 4