+
+
Shares

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न परिचय खुल्ने सरकारी कागजात चाहिने

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न परिचय खुल्ने सरकारी कागजात अनिवार्य गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १९:४४

६ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न परिचय खुल्ने सरकारी कागजात अनिवार्य गरिएको छ ।निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न मतदातासँग परिचय खुल्ने सरकारी कागजात चाहिने बताएका हुन् ।

राष्ट्रिय सभाको निर्वाचन यही माघ ११ गते हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम कायम भएका मतदाताहरूले मतदान गर्न पाउनेछन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । मतदान गर्न जाँदा उनीहरूले पाँच किसिमका कागजातमध्ये एउटा लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, निर्वाचन अधिकृतवाट प्रदेश सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र, निर्वाचन अधिकृतबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र भए पनि मतदान गर्न पाइनेछ ।

प्रदेश सभा सचिवालय वा स्थानीय तहले उपलब्ध गराएको सम्बन्धित पद खुलाएको परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र जुन भए पनि एउटा प्रमाण चाहिन्छ ।

५९ सदस्यीय राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद हुन् । राष्ट्रपतिबाट मनोनित सांसद्को ठाउँका सरकारको सिफारिसमा राष्ट्रपतिले अर्को व्यक्तिलाई मनोनित गर्नेछन् । बाँकी १८ पदका लागि माघ ११ मा निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये कांग्रेस र एमालेले भागवण्डा गरेर क्रमश ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेका छन् ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन् ।

भागवण्डा अनुसार मधेश प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन् । कोशी प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन् ।

बागमती प्रदेशमा कांग्रेसले गीता देवकोटा र एमालेले प्रेम दंगाललाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट र सम्झना देवकोटा उम्मेदवार छन् । लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाक्री उम्मेदवार छन् ।

कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मिना रखाल, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार रहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले भने सबैतिर एकल उम्मेदवारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?