६ माघ, काठमाडौं । रौतहत-१ मा नेपाली कांग्रेसबाट अनिलकुमार झाले उम्मेदवारी दिएका छन् । उनको पहिचान भने मधेशवादी दलका नेताको छ ।
हुन पनि ६ माघ बिहानसम्म उनी नेपाल सद्भावना पार्टीका अध्यक्ष थिए । दिउँसो कांग्रेससँग सहमति गरेर उम्मेदवारी दर्ता गरे ।
२०५६ मा सद्भावना पार्टीको सहमहासचिव बनेका उनी संघीय सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा), लोकतान्त्रिक समाजवादी (लोसपा) हुँदै एमालेका पुगेका हुन ।
नेकपा (एमाले)का अम्बिरबाबु गुरुङ पार्टीले टिकट नदिएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सम्पर्कमा पुगे । नेकपाका तर्फबाट निर्वाचन क्षेत्रमा खटिएका नेता देव गुरुङले अम्बिरबाबुलाई ओखलढुंगाबाट टिकट दिलाए ।
एमालेका पूर्व सांसद बृजेशकुमार गुप्ताले पार्टी छाडेका छन् । पार्टी छाडेर उनले नेकपाको चुनाव चिह्न तारा लिएर कपिलवस्तु–२ मा उम्मेदवारी दर्ता गरेका छन् ।
२०५६ सालमा उनी राप्रपाबाट सांसद निर्वाचित भएका थिए । २०६४ मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट संविधान सभा सदस्य बने । २०७४ मा एमालेबाट सांसद बने । २०७९ मा उम्मेदवारी दिएका उनले चुनाव जितेनन् ।
जनता समाजउवादी पार्टी, (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य आत्मराम साहले मंगलबार आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकै दिन बारा–२ को टिकट पाए ।
संविधान सभा सदस्य रहिसकेका आत्मराम प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ताकै दिन उपेन्द्र यादव नेतृत्वको पार्टी छाडेर प्रभु साह अध्यक्ष रहेको आजपामा प्रवेश गरेका हुन् ।
उम्मेदवार बन्नकै लागि आत्मरामले दल बदलेको बुझ्न गाह्रो छैन । २१ फागुनका लागि निर्वाचन मिति घोषणा भएयता टिकट पाउनका लागि अर्को दल रोजेका नेताहरूको सूची लामो छ ।
तीन हप्तामा दुई पार्टी प्रवेश
जसपा नेपालका अर्का नेता तथा पूर्वमन्त्री प्रदिप यादव शनिबार एमाले प्रवेश गरेका छन् । उनी पनि पर्सा–१ मा टिकट पक्का गरेर एमालेमा गएका हुन् ।
रोचक के छ भने प्रदीप जसपा नेपालमा प्रवेश गरेको तीन हप्तामै उनले पार्टी छाडेका हुन । उनी गत पुस दोस्रो साता मात्र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) छाडेर जसपा नेपाल प्रवेश गरेका थिए ।
राईको जसपाका अर्का नेता डा. वीरेन्द्र महतो टिकटकै लागि जनमत पार्टीमा गएका छन् । जनमत पार्टीमा आए लगत्तै अध्यक्ष डा. सीके राउतले डा. महतोलाई सिराहा–४ बाट चुनाव लड्न टिकट दिए ।
महतो २०७९ सालमा सिराहा–४ बाटै विजयी भएका थिए । २०६५ सालमा उपेन्द्र यादव नेतृत्वको जसपामा आवद्ध महतो २०७० मा समानुपातिक सांसद बनेका थिए ।
जसपाकै महासचिव मोहम्मद इस्तियाक राई पनि चुनावको मुखमा जसपा छाड्ने अर्का नेता हुन । एमालेमा प्रवेश गरेका इस्तियाकले बाँकेबाट उम्मेदवारी दिएका छन् ।
२०५३ मा राप्रपामा लागेका इश्तियाक २०६२/६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम प्रवेश गरे । २०६४ सालको संविधान सभामा बाँके २ बाट निर्वाचित भएका थिए ।
२०७४ को संसदीय निर्वाचन जितेका इश्तियाक २०७९ मा राप्रपाका डा. धवलशमशेर राणासँग पराजित भएका थिए ।
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमारसिंह यादव पनि दल बदलेर उम्मेदवार बनेका छन् । २०७९ मा जनमतबाट प्रदेश सभा सदस्य जितेर मुख्यमन्त्री बनेका उनले यसपटक स्वाभिमान पार्टीबाट चुनाव लड्दैछन् । उनले सप्तरी–२ बाट उम्मेदवारी दिएका छन् ।
२०७४ मा राजपाबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष बनेका उनी २०७९ भदौमा जनमत पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश लगत्तै सप्तरी २(१) बाट प्रदेशसभा सदस्य बने ।
नेकपा (माओवादी केन्द्र)बाट २०७९ मा मधेश प्रदेश सभा सदस्य बनेका रहबर अन्सारीले पनि पार्टी बदलेका छन् । यसपटक उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने भएका छन् ।
पूर्वमन्त्री तथा कांग्रेस नेता वीरेन्द्रकुमार कनौडियाले पनि दल बदलेका छन् । एमाले प्रवेश गरेका उनले कपिलवस्तु –३ बाट उम्मेदवारी दिएका छन् ।
२०७४ मा कनौडियाले कपिलवस्तु–३ को प्रदेशसभा (ख) बाट चुनाव जितेका थिए । २०७९ सालको निर्वाचनमा भने उनले सोही क्षेत्रमा हारे ।
निवर्तमान सांसद डा. अमरेशकुमार सिंह चुनावको मुखमा रास्वपा प्रवेश गरेका छन् । लामो समयदेखि कांग्रेसमा रहेर राजनीति गरेका अमरेशलाई २०७९ सालको निर्वाचनमा पार्टीले टिकट दिएन । त्यसपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिते ।
२०६३ सालमा कांग्रेसबाट अन्तरिम व्यवस्थापिका संसद सदस्य रहेका उनी २०७० मा सर्लाहीबाट प्रत्यक्ष निर्वाचन जिते । २०७४ सालमा सर्लाही ४ बाट प्रत्यक्ष चुनाव जिते ।
राप्रपाका प्रदेश सांसद् सुनिल केसी रास्वपाबाट उम्मेदवार बनेका छन् । केसीले २०७९ मा राप्रपाबाट बागमती प्रदेश सभा सदस्यको चुनाव जितेका थिए ।
काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) बाट चुनाव जितेका केसी कार्यकाल पुरा नगरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका हुन ।
मनोनयनकै दिन पार्टी परिवर्तन गर्ने अर्का नेता हुन्, किरणकुमार साह । २०७९ को चुनावमा उनले स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए ।
एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाह नेतृत्वको टिमलाई समर्थन गर्दै चुनाव लडेका साह चुनाव जितेपछि एमालेमा प्रवेश गरे । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समन्वय समितिको सभापति भए ।
यसपटक उनी एमालेबाटै चुनाव लड्न चाहन्थे । पार्टीले टिकट नदिएपछि नेकपा प्रवेश गरेर रौतहट–२ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिक्रिया 4