सिरहा । सिरहा जिल्लामा आगामी निर्वाचनका लागि १३९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार सम्पन्न मनोनयनमा दलीय र स्वतन्त्र गरेर १३९ जनाले दर्ता गरेका हुन् । यहाँ जम्मा ८ जना मात्रै महिला उम्मेदवार छन् ।
सिरहामा ४ वटा निर्वाचन क्षेत्र छ । प्रमुख राजनीतिक दलबाट मात्र २ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। सिरहा निर्वाचन क्षेत्र नं. ३ बाट आम जनता पार्टी (आजपा) की ज्ञानीदेवी दनुवार र निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसकी चन्द्रकला देवी यादव महिला उम्मेदवार छन् ।
यसका साथै ६ जना महिला स्वतन्त्र तथा नयाँ राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउने महिलाहरूमा सिरहा क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवार इन्दिला कुमारी यादव, क्षेत्र नं. १ बाट उज्यालो नेपाल पार्टीकी ताराकुमारी चौधरी र स्वतन्त्र उम्मेदवार सुलोचना कुस्मी रहेका छन्। यस्तै, सिरहा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार उषा कुमारी यादव, कपलेश्वरी देवी साह र शान्ति देवी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ३२ जना उम्मेदवार रहेका छन् भने निर्वाचन क्षेत्र नं. २ मा १४ राजनीतिक दल र १५ स्वतन्त्र गरी कुल २९ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै सिरहा क्षेत्रन-३ मा ४१ जना उम्मेदवार रहेका छ्न,त्यसतै सिरहा क्षेत्र-४ मा ३७ जना उम्मेदवार रहेका छ्न् ।
संविधान तथा कानुनी व्यवस्थाले राजनीतिमा महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरे पनि व्यवहारमा त्यसको प्रभाव देखिन नसकेको स्थानीय जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार राजनीतिक दलहरूले महिलालाई निर्णायक तहमा उम्मेदवार बनाउने विषयमा अझै गम्भीर हुन आवश्यक देखिन्छ ।
प्रतिक्रिया 4