७ माघ, काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष दुवै तर्फका उम्मेदवारी दर्ता भईसकेका छन् । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ तीन हजार ४८४ र समानुपातिक तर्फ तीन हजार २१३ जनाले उम्मेदवारी दिएका छन् । यसरी उम्मेदवारी दिने मध्ये एउटै परिवारका एक भन्दा बढी सदस्य समेत छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’कै घरबाट तीन जनाले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छन् । उनी रुकुम पूर्वबाट प्रत्यक्षतर्फ उम्मेदवार छन् । नेकपाबाटै प्रचण्डकी छोरी रेणु दाहाल चितवन निर्वाचन–३ बाट र बुहारी बिना मगर कञ्चनपुर–१ बाट उम्मेदवार छन् ।
नेपाली कांग्रेसको समानुपातिक सूचीमा रोमी गौचन थकाली छन् । उनकै छोरा योगेश गौचनले मुस्ताङबाट प्रत्यक्ष उम्मेदवारी दिएका छन् ।
मुस्ताङबाट रोमी गौचनले २०५६ र २०७० मा चुनाव जितेका थिए । उनले २०६४ र २०७४ मा भने पराजय बेहोरे । रोमीका छोरा योगेश गौचनले २०७९ देखि चुनाव लड्न थालेका छन् ।
चार जोडी श्रीमान्–श्रीमती
एमालेले धनुषामा श्रीमान्–श्रीमती दुवैलाई उम्मेदवार बनाएको छ । धनुषा–३ मा जुलीकुमारी महतो र धनुषा–४ मा रघुवीर महासेठ उम्मेदवार छन् । जुली र रघुवीर महासेठ श्रीमान–श्रीमती हुन् । महासेठ तीन पटक संघीय सांसद् हुन् ।
जुलीकुमारी २०६४ मा संविधानसभा सदस्य थिइन् । २०७० मा पराजित भइन् । २०७४ र २०७९ धनुषा ३ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइन् । एमाले नेता शेरबहादुर तामाङले सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दिएका छन् । उनकी श्रीमती उषाकला राई समानुपातिकमा परेकी छिन् । उषाकलाको नाम आदिवासी जनजाति महिलाको चौथो नम्बरमा छ ।
यस्तै, नेकपाका नेता देवेन्द्र पौडेल नवलपरासी–२ बाट उठेका छन् । उनकी श्रीमती बलावती शर्माको नाम समानुपातिकमा खस आर्य महिलातर्फ पहिलो नम्बरमा छ ।
त्यस्तै, आम जनता पार्टी (आजपा) बाट ऋषि धमला र धमला पत्नी एलिजा गौतम दुवै उम्मेदवार छन् । ऋषिले रौतहट–४ बाट प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । एलिजा आजपाको समानुपातिक सूचीमा छिन् ।
ज्वाईं–ससुरा उम्मेदवार
कांग्रेसबाट अर्जुनरसिंह केसी समानुपातिक उम्मेदवार छन् । केसीका ज्वाईं गगनकुमार थापा सर्लाही ४ बाट प्रत्यक्ष तर्फ उम्मेदवार छन् । केसी बहुदल आए लगत्तै सांसद भएका नेता हुन् । २०४८ र २०५१ को चुनाव जिते । २०५२ मा स्वास्थ्य मन्त्री नै भए ।
२०५६ मा एक पटक भौतिक योजना तथा निर्माण मन्त्री र अर्को पटक शिक्षा मन्त्री भए । २०६३ सालमा पुर्नस्थापित संसद्मा पनि थिए । २०६३ मा सहरी विकास मन्त्री भए । २०७० र २०७९ मा पनि सांसद भए । फेरि पनि उनी समानुपातिक उम्मेदवार छन् ।
केसीका ज्वाईं गगन थापा २०६४ साल यताका निरन्तर उम्मेदवार हुन् । २०६४ मा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका उनले २०७०, २०७४ र २०७९ मा काठमाडौं–४ बाट प्रत्यक्ष चुनाव जिते ।
ज्वाईं र ससुरा नै उम्मेदवार भएको अर्को उदाहरण पनि छ ।
महोत्तरी क्षेत्र नम्बर २ मा जसपा नेपालबाट शरतसिंह भण्डारी प्रत्यक्ष तर्फ उम्मेदवार छन् । भण्डारीका ज्वाईं विराजभक्त श्रेष्ठ काठमाडौं–८ मा प्रत्यक्षतर्फ उम्मेदवार छन् । ४४ वर्षदेखि उम्मेदवार रहँदै आएका भण्डारीले २०३८ र २०४३ सालमै राष्ट्रिय पञ्चायतको चुनाव जितेका थिए । २०४५ सालमा मन्त्री भएका उनी बहुदल र गणतन्त्र कालमा पटक–पटक सांसद र मन्त्री भएका छन् ।
भण्डारीका ज्वाईं विराजभक्त २०७४ मा बागमती प्रदेश सभा सदस्य थिए । २०७९ मा काठमाडौं बाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते र यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार छन् ।
दाजुभाइका तीन जोडी
राप्रपाबाट रुपन्देही–१ मा प्रज्वल बोहरा उम्मेदवार छन् भने रुपन्देही–३ मा गौरव बोहराले उम्मेदवारी दर्ता गरेका छन् । यी दुवै दाजुभाइ हुन् । उनीहरू पूर्व मन्त्री दीपक बोहराका छोराहरू हुन् । दीपक बोहरा २०३८ सालमा पर्यटन राज्यमन्त्री बनेका थिए । २०४० सालमा पर्यटन राज्यमन्त्री, २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री तथा २०४४ सालमा निर्माण तथा यातायातमन्त्री बनेका दीपक बोहराले गणतन्त्रपछि पनि पटक–पटक मन्त्री भए ।
दीपकको निधन भएपछि रिक्त रहेको रुपन्देही ३ मा उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला गत भदौमा जेनजी आन्दोलन भयो ।
दाजुभाई नै उम्मेदवार भएको अर्को क्षेत्र हो– डोल्पा । जहाँ सहोदर दाजुभाइ धनबहादुर बुढा नेकपा र कर्णबहादुर बुढा नेपाली कांग्रेसबाट उम्मेदवार छन् ।
फरक–फरक पार्टीबाट उम्मेदवार भएकाले यो क्षेत्रमा दाजुभाईकै बीचमा प्रतिस्पर्धा छ । धनबहादुर बुढा २०७० २०७४ र २०७९ मा यही क्षेत्रबाट विजजी भएका थिए । कर्णबहादुर बुढा भने पहिलो पटक चुनाव लड्दैछन् । उनी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका केन्द्रीय स्तरका नेता हुन् ।
यी दाजुभाईको सुरुको राजनीतिक आवद्धता भने एउटै दलमा थियो । कांग्रेसका सहमहामन्त्री कर्णबहादुर बूढा राप्रपा हुँदै नेपाली कांग्रेसमा पुगेका हुन् । धनबहादुर बूढा राप्रपा, एमाले, एकिकृत समाजवादी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा रहेका छन् ।
बाबु : प्रचण्ड – रुकुम पूर्व
छोरी : रेणु दाहाल – चितवन ३
बुहारी : बिना मगर – कञ्चनपुर १
बाबु : रोमी गौचन थकाली – समानुपातिक
छोरा : योगेश गौचन– मुस्ताङ
श्रीमती : जुलीकुमारी महतो– धनुषा ३
श्रीमान् : रघुवीर महासेठ– धनुषा ४
श्रीमान् : देवेन्द्र पौडेल– नवलपरासी २
श्रीमती : बलावती शर्मा– समानुपातिक
श्रीमान् : ऋषि धमला – रौतहट ४
श्रीमाती : एलिजा गौतम– समानुपातिक
श्रीमान् : शेरबहादुर तामाङ– सिन्धुपाल्चोक २
श्रीमती : उषाकला राई– समानुपातिक
ज्वाईं– गगन थापा– सर्लाही ४
ससुरा : अर्जुनरसिंह केसी– समानुपातिक
दाजु : अर्जुनरसिंह केसी– समानुपातिक
भाइ : जगदिश्वर नरसिंह केसी– नुवाकोट २
दाजु : गौरव बोहरा- रुपन्देही ३
भाई : प्रज्वल बोहरा – रुपन्देही १
दाजु : धनबहादुर बुढा– डोल्पा
भाई : कर्णबहादुर बुढा– डोल्पा
प्रतिक्रिया 4