८ माघ, काठमाडौं । नाबालिगहरूलाई ‘ग्रुमिङ’ (मानसिक रूपमा जालमा पार्ने) र न्यायमा लैङ्गिक पक्षपातको विषयमा बहस छेड्ने एउटा पुरानो घटना सामाजिक सञ्जालमा अहिले फेरि चर्चामा आएको छ । पूर्वशिक्षिका डेब्रा लाफेभको कानुनी मुद्दा उनको गिरफ्तारीको दशकौंपछि पनि अझै गम्भीर समीक्षाको विषय बन्दै आएको छ ।
सन् २००४ मा तत्कालीन २४ वर्षीया शिक्षिका लाफेभलाई आफ्नै १४ वर्षीय विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको थियो। लाफेभ पूर्वमोडल भएको र तत्कालीन सञ्चारमाध्यमहरूले यसलाई सनसनीपूर्ण रूपमा प्रस्तुत गरेका कारण यो घटनाले तुरुन्तै ठूलो चर्चा पायो ।
ल्युड एन्ड लासिभियस ब्याट्री जस्तो गम्भीर आरोप लागे तापनि लाफेभ जेल जानबाट बचिन्। अमेरिका खासगरी फ्लोरिडा राज्यको कानुनमा ल्युड एन्ड लासिभियस ब्याट्रीको कडा व्यवस्था छ । यो भनेको अश्लील, कामुक वा यौन उत्तेजना फैलाउने उद्देश्यले कसैको अनुमतिविना शारीरिक रूपमा छुनु वा स्पर्श गर्नु हो ।
यसलाई निकै गम्भीर प्रकृतिको अपराध मानिन्छ। यसअन्तर्गत नाबालिगको लुगाभित्र वा बाहिरबाट संवेदनशील अङ्गहरू छुनु, यौन सन्तुष्टिका लागि बालबालिकालाई शारीरिक सम्पर्क वा स्पर्शमा संलग्न गराउनु लगायतका गतिविधि पर्दछन् ।
यो मुद्दामा सामान्यतया १० देखि १५ वर्ष वा सोभन्दा बढी जेल सजाय हुने प्रावधान भए तापनि लाफेभ केवल नजरबन्द र निगरानीको सजाय पाएर जेल जानबाट जोगिएकी थिइन् ।
सन् २००५ नोभेम्बरमा उनले एउटा ‘प्ली डिल’ (कसुर स्वीकार गरी सजाय कम गर्ने सम्झौता) स्वीकार गरिन्, जसअन्तर्गत उनलाई ३ वर्ष नजरबन्द, ७ वर्षको प्रोबेसन (निगरानीमा रहने अवधि) र शिक्षण लाइसेन्समा स्थायी प्रतिबन्धको सजाय सुनाइयो।
यो खुकुलो सजायले देशभर तीव्र बहस सिर्जना गर्यो। आलोचकहरूले अपराधी पुरुष शिक्षक र पीडित छात्रा भएको भए प्रतिवादीले दशकौँ जेल सजाय भोग्नुपर्ने भनेर विरोध गरेका थिए । यद्यपि, अभियोजन पक्षले पीडितकी आमाको आफ्नो छोराले सार्वजनिक ट्रायलको मानसिक आघात भोग्नु नपरोस् भनेर यस्तो सहमति दिएको बताएकी थिइन् ।
त्यस समयको सञ्चारमाध्यमको होहल्लाका बीच, तत्कालीन घरजग्गा व्यवसायी डोनाल्ड ट्रम्पले सन् २००५ अक्टोबरमा ‘एक्स्ट्रा’ नामक कार्यक्रमसँगको अन्तर्वार्तामा आफ्नो धारणा राखेका थिए ।
ट्रम्पले अन्तर्वार्तामा भनेका थिए, ‘मलाई लाग्छ उनीहरू (विद्यार्थीहरू) सायद यसको बारेमा धाक लगाएर हिँडिरहेका होलान्’, उनले थपे, ‘मलाई लाग्दैन कि यसबाट धेरै क्षति पुगेको छ ।’ उनले योस्थितिलाई ‘सामान्य रूपमा असामान्य’ भनी टिप्पणी गरेका थिए ।
ट्रम्पले ती शिक्षिकाका श्रीमानप्रति सहानुभूति प्रकट गर्दै उनी ‘संसारकै सबैभन्दा दुःखी व्यक्ति हुनुपर्छ’ समेत भनेका थिए ।
सन् २००५ मा यी टिप्पणीहरूलाई केवल ठट्टा वा सामान्य गफगाफका रूपमा हेरिएको भए तापनि अहिले मनोवैज्ञानिक विशेषज्ञहरूले भने यसको अँध्यारो पाटो औँल्याएका छन्। विशेषज्ञहरूका अनुसार यस्ता सम्बन्धहरू पूर्ण रूपमा अधिकारको दुरुपयोग हुन् ।
प्रतिक्रिया 4