News Summary
Generated by OK AI. Editorially reviewed.- ९८ औं अस्कर अवार्डको मनोनयन नेपाली समयानुसार बिहीबार बेलुका घोषणा हुँदैछ।
- पल थोमस एन्डरसन निर्देशित ‘वान ब्याटल अफ्टर एनदर’ मुख्य दावेदार मानिएको छ।
- रायन कूगलरको ‘सिनर्स’ ले १५ वटा सम्म विधामा मनोनयन पाउन सक्छ।
लस एन्जलस । ९८ औं अस्कर अवार्डको मनोनयन नेपाली समयानुसार आज बिहीबार बेलुका घोषणा हुँदैछ । कलाकार लुइस पुलम्यान र ड्यानियल ब्रुक्सले सन् २०२६ को मनोनयन सार्वजनिक गर्दैछन् ।
यस संस्करणको मुख्य दाबेदारका रूपमा पल थोमस एन्डरसन निर्देशित ‘वान ब्याटल आफ्टर एनदर’ लाई हेरिएको छ । यसै महिना सम्पन्न ‘गोल्डेन ग्लोब्स’ अवार्डमा यसले फिल्म (ड्रामा) र निर्देशनसहितका ४ वटा विधा जितेको थियो ।
यस फिल्मका कलाकार टेयाना टेलर, लियोनार्दो डिकाप्रियो, सिन पेन र बेनिचियो डेल टोरो मनोनयनमा पर्ने सम्भावना छ । कलाकारसहित प्राविधिक टोलीले पनि विभिन्न विधामा अवार्ड जित्न सक्ने अनुमान छ ।
रायन कूगलरको फिल्म ‘सिनर्स’ पनि यस वर्षको अस्करमा चर्चामा हुनेछ । सन् १९३० को दशकको पृष्ठभूमिमा बनेको यो भ्याम्पायर ड्रामाले धेरै विधामा अवार्ड जित्न सक्ने अनुमान गरिएको छ ।
यसका मुख्य कलाकार माइकल बी. जोर्डन र वुन्मी मोसाकु उत्कृष्ट अभिनयको विधामा मनोनयनमा पर्न सक्ने सम्भावना छ । कूगलरको पटकथा र फिल्मका अन्य प्राविधिक विधामा पनि यसले कडा प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ ।
‘भेराइटी’ म्यागजिनका सम्पादक क्लेटन डेभिसका अनुसार, ‘सिनर्स’ ले १५ वटा सम्म विधामा मनोनयन पाउन सक्छ । यदि यसो भएमा, यसले अहिलेसम्मकै सबैभन्दा धेरै अस्कर मनोनयन पाउने फिल्मको नयाँ रेकर्ड राख्नेछ ।
अहिलेसम्म यो रेकर्ड ‘अल अबाइट इभ’, ‘टाइटानिक’, र ‘ला ला ल्याण्ड’ को नाममा छ जसले १४–१४ विधामा मनोनयन पाएका थिए । कोनन ओ’ब्रायनले सन् २०२६ को अस्कर अवार्ड संचालन गर्ने भएका छन् । समारोह मार्च १५ मा आयोजना हुनेछ ।
प्रतिक्रिया 4