+
+
Shares

रुग्ण आयोजनाको ठेक्का तोड्न मुख्यमन्त्री कँडेलको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १८:५१

८ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा काम नगरेर आयोजना अलपत्र पार्ने रुग्ण आयोजनाका ठेक्का प्रक्रिया मिलाएर तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिएका छन् ।

भौतिक योजना तथा शहरी विकास मन्त्रालयको अर्ध वार्षिक कार्यक्रममा मुख्यमन्त्री कँडेलले जतिसुकै पहुँच र शक्ति भए पनि समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री कँडेलले सरकारले आवश्यक बजेट छुट्टयाउने तर समयमा आयोजनाको काम सम्पन्न नगरेर अलपत्र पार्दा त्यसले सरकारप्रति नै नागरिकको अविश्वास पैदा हुने बताए ।

उनले भने, ‘पैसा छ, काम भइरहेको छैन र योजनालाई अलपत्र छाड्छ भने त्यस्ता निर्माण व्यवसायीप्रति हामी कुनै लचिलो हुनुपर्ने जरुरी र्छैन ।’

मुख्यमन्त्री कँडेलले सकेसम्म निर्माण व्यवसायीलाई सहजीकरण गरेर आयोजना सम्पन्न गर्ने दायित्व तिर लाग्न र सहजीकरणले समेत परिणाम नदेखिए नियमसंगत रूपमा ठेक्का अन्त्य गर्न मन्त्रालयलाई निर्देशन दिए ।

मुख्यमन्त्री कँडेलले प्रदेश राजधानी अन्तर्गतका सडक निर्माणमा लापरवाही गर्दा पूर्वमन्त्रीको समेत ठेक्का तोडिएको बताउँदै ठेक्का तोडदा तोडिएका ती आयोजनाहरूलाई पुनः सञ्चालन गर्न आवश्यक तयारी समेत गर्न निर्देशन दिए ।

उनले भने, ‘समयमा काम सम्पन्न नगरेपछि हामी बहालवाला सांसद र मन्त्रीसमेत संग्लन भएको ठेक्का तोडेका छौँ, पावरबाट नडराउनुहोस्, सरकार त्यसको जिम्मा लिन्छ।’

मुख्यमन्त्री कँडेलले काम सम्पन्न गरिसकेपछि भुक्तानीमा ढिलाई नगर्न पनि मन्त्रालयलाई निर्देशन दिए ।

उनले भने, ‘निर्माण व्यवसायीले काम गरेको छ भने बहाना नबनाउनुस, बोलाएर भएपनि भुक्तानी दिनुस् ।’

समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले पुरानै मानसिकताले नागरिकले खोजे जस्तो परिणाम दिन सम्भव नभएकोले सबैले कार्यशैली समेत बदल्नुपर्ने बताए ।

नागरिकको अपेक्षा र राज्य संयन्त्रका कार्यशैलीबीच निकै खाडल रहेकोले परम्परागत कार्यशैलीले परिणाम सम्भव नहुने मुख्यमन्त्री कँडेलको भनाइ छ ।

मुख्यममन्त्री कँडेलले नागरिकले रिजल्ट खोजिरहेको र नागरिकले खोजे जस्तै रिजल्ट दिने विषयमा पुरानै कार्यशैलीले सम्भव नहुने बताए ।

उनले भने, ‘हाम्रा र तपाईंका आफ्ना कुरा होलान तर अव पनि पुरानै मानसिकताले काम गर्नु भयो भने रिजल्ट सम्भव छैन ।’

बजेट र कार्यक्रम बनाउँदा राजनीतिक नेतृत्वको भूमिका रहने भएपनि त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी कर्मतन्त्रको हुने भएकोले कर्मचारीले कार्यकारी भूमिकामा रहेर काम गर्नुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

उनले नेता रिसाइहाल्छन् कि भनेर नहुने काम बोकेर नहिंड्न पनि कर्मचारीहरूलाई निर्देशन दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?