८ माघ, काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि पुस्तान्तरणको बहस चल्दै आएको छ । तर चुनावी प्रतिस्पर्धा भने पुरानो पुस्ता मात्र अघि बढाउने प्रबृत्ति थियो । तर अहिले उम्मेदवार दिन युवाहरू पनि अघि बढेको देखिन्छ । पछिल्लो उदाहरण हो– २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेवारका रुपमा अघि सरेका नयाँ अनुहार र उमेर समूह ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत आउँछन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष तर्फ मात्रै तीन हजार चार सय ८७ जना उम्मेदवार छन् । यसमध्ये ४० वर्षसम्मका उम्मेदवारको संख्या एक हजार ८० जना रहेको छ । यो ३१.०२ प्रतिशत हो ।
एकै व्यक्तिहरू दशकौँसम्म सत्ता र नेतृत्वमा रहँदा युवाले अवसर नपाएको गुनासो चुलिँदै गएको पृष्ठभूमिमा गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो ।
आन्दोलनका क्रममा २४ भदौमा तत्कालीन सरकार ढल्यो । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही दिन अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भयो र नयाँ चुनावको घोषणा भयो ।
त्यसपछि जेनजी आन्दोलनको प्रभाव कुनै औपचारिक संगठनको ब्यानरमा सीमित रहेन । सामाजिक सञ्जाल, कलेज–विश्वविद्यालय, नागरिक बहसमा राजनीतिमा पुस्तान्तरणको विषय स्थापित भयो । त्यसको प्रभावमा राजनीतिक दलहरू पनि परे । पुराना दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास भए ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन त भए तर, जेनजी आन्दोलन अगाडि नै नेतृत्व दोहोरिए । नेपाली कांग्रेसमा भने तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको ठूलो टिम नै पार्टीको नेतृत्व तहबाट बाहिरिएको छ । २०६३/०६३ सालको जनआन्दोलन वरिपरिबाट उदाएका ४९ वर्षीय गगन थापा कांग्रेसको नेतृत्वमा आएका छन् ।
दलहरूको आन्तरिक लोकतन्त्रमा जे जस्ता फेरबदल भएता पनि चुनावमा युवा उम्मेदवार उठाउनुपर्ने दबाबमा सबै दलहरू थिए । त्यही दबाबको परिणामस्वरूप प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा नयाँ र युवाले अवसर पाएका छन् ।
निर्वाचन आयोगका तथ्यांकअनुसार यसपटक कुल उम्मेदवारमध्ये ३१.०२ प्रतिशत उम्मेदवार ४० वर्षसम्मको उमेर समूहका छन्, जुन अघिल्ला चुनावको तुलनामा उल्लेखनीय वृद्धि हो ।
कुन दलमा कस्तो प्रभाव ?
सबै भन्दा धेरै ४० वर्षसम्मका युवालाई उम्मेदवार बनाउने दल हो– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । यो वैकल्पिक राजनीतिको वकालत गर्दै आएको दल पनि हो ।
२०७९ असारमा जन्मिएको रास्वपाले सोही वर्षको मंसिरमा भएको आमचुनावमा भाग लियो र प्रतिनिधिसभामा चौथो दलको रुपमा उदायो । उक्त निर्वाचनबाट आएको प्रतिनिधिसभाले पाँच वर्षे कार्यकाल पुरा गर्न पाएन ।
२१ फागनुमा हुने निर्वाचनमा फेरिपनि युवा मतदाताको मत तान्न यो पार्टीले युवाहरूलाई अधिकतम अवसर दिएको छ । रास्वपाले प्रत्यक्ष तर्फ १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ । त्यसमध्ये ७० जना उम्मेदवार ४० सम्मका छन् ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट ३८ जना उम्मेदवार ४० वर्षसम्का छन् । साम्पाङ २०७९ को स्थानीय चुनावमा स्वतन्त्र रुपमा चुनाव जितेर धरानको मेयर भएका थिए । श्रम संस्कृति साम्पाङको नेतृत्व ०८२ साल कात्तिकमा दर्ता भएको नयाँ दल हो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका ३० जना उम्मेदवार ४० सम्मका छन् ।
रास्वपा र श्रम संस्कृति दुवै दल नयाँ भएकाले युवाले अवसर दिनेमा जोड दिएका छन् । त्यसको दबाब अन्य दलहरूलाई पनि पर्यो । त्यसैले पुराना दलहरूले पनि युवा उम्मेदवारीलाई प्राथमिकता दिएको देखिन्छ ।नेकपा एमालेका तर्फबाट प्रत्यक्षतर्फ १६५ क्षेत्रमै उम्मेदवारी परेको छ । त्यसमध्ये १३ जना उम्मेदवार ४० वर्ष वा यो भन्दा कम उमेरका छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट १६४ क्षेत्रमा उम्मेदवारी परेको छ । यसमध्ये २० जना ४० वर्ष मुनिका उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट ३३ जना ४० वर्ष मुनिका उम्मेदवार रहेका छन् ।
उल्लेख्य संख्यामा स्वतन्त्र
४० वर्ष मुनिका उम्मेदवारहरूमा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवार रहेका छन् । ४० वर्ष वा ४० वर्ष भन्दा कम उमेरका कुल उम्मेदवारको संख्या एक हजार ८२ छ । यसमा स्वतन्त्र उम्मेदवारको संख्या मात्रै ५७१ छ । यो ६१.७८ प्रतिशत हो ।
स्वतन्त्र उम्मेदवारीको संख्याले निर्वाचनमा मतदाताहरूको आकर्षण त देखाउँछ । तर, चुनाव जित्ने सम्भावना एकदमै कम हुने बताउँछन् राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल । उनी भन्छन्, ‘कहीँ जनाधार छ भने स्वतन्त्र पनि उठ्छन् र चुनाव जित्छन् । तर यो स्वतन्त्रको विजयी नगण्य मात्रामा रहन्छ ।’
पोखरेलका नजरमा नेपालमा आम निर्वाच्नमा स्वतन्त्र उम्मेदवारी पर्नुका मुख्यतः दुई कारण छन् ।
पहिलो : एकथरी मानिसहरूलाई राजनीतिमा चर्चित हुन मन लाग्छ । अलि अलि पैसा छ भने उठिहाल्छन् ।
दोस्रो : राजनीतिक दलले टिकट नदिएको आक्रोशमा स्वतन्त्र उठ्ने प्रवृति छ ।
राजनीतिमा चर्चित हुन मन लागेर होस् वा दलले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने प्रवृति होस् यी दुवैको उम्मेदवारी मनको शान्तिको लागि रहने गरेको प्राध्यापक पोखरेल बताउँछन् ।
यसबाहेक डमी उम्मेदवारका रुपमा समेत कतिपयले स्वतन्त्र उम्मेदवार खडा गर्दछन् । यस्तो अभ्यास नेपालमा भन्दा ज्यादा भारतमा देखिने गरेको पोखरेलको अनुभव छ ।
‘भारततिर स्वतन्त्र भनेको मत गणनामा प्रतिनिधि राख्नका लागि डमी उम्मेदवार बनाउने प्रवृति पनि छ । आफूलाई जित्न सजिलो हुन्छ भनेर अर्को स्वतन्त्र उठाउने अभ्यास पनि छ ।’
नेपालमा पनि यदाकदा डमी उम्मेदवारको चर्चा हुने गरेको छ ।
सबै उमेर समूहमा महिला न्यून
जुनसुकै उमेर समूहमा महिला उम्मेदवारको संख्या भने ज्यादै न्यून छ ।
४० वर्ष र ४० वर्ष मुनिका उम्मेदवारमा महिलाको संख्या १४५ अर्थात्, १३.४० प्रतिशत छ । जबकी यो उमेर समूहमा पुरुषको संख्या ९३७ अर्थात्, ८६.५९ छ ।
निर्वाचन आयोगका अनुसार कुल तीन हजार चार सय ८७ मा महिला उम्मेदवारको संख्या ३९५ छ । बाँकी तीन हजार ९२ जना पुरुष उम्मेदवार छन् । अर्थात्, कूल उम्मेदवारमा महिला उम्मेदवार केवल ११.३२ प्रतिशत छन् । कूल उम्मेदवारमा पुरुष उम्मेदवारको संख्या ८८.६७ प्रतिशत छ ।
जेनजी आन्दोलनको जगमा हुन लागेको निर्वाचनमा दलहरूले जेनजीलाई समेत उम्मेदवार बनाएका छन् । जेनजी उमेर समूहका व्यक्तिहरू स्वतन्त्र रुपले समेत उम्मेदवार भएका छन् । जेनजी उमेर समूहमा समेत महिला उम्मेदवारको संख्या न्यून छ ।
विभिन्न राजनीतिक र स्वतन्त्रबाट जेनजी उमेर समूह्का १५७ जना उम्मेदवार छन् । जसमा जेनजी महिला उम्मेदवारको संख्या केवल १५ (९.५५ प्रतिशत) र बाँकी ४२ जना पुरुष उम्मेदवार (९०.४४ प्रतिशत) रहेका छन् ।
अध्यापक डा. मिना पौडेल महिला उम्मेदवार कम हुनुमा समय नभएर चेतना महत्वपूर्ण रहेको बताउँछिन् ।
‘जेनजी पनि यही समाजका उत्पादन हुन् । यही समाजमा सामाजिकरण गरेर हुर्काइएका हुन्’ उनी भन्छिन्, ‘जबसम्म महिलाको सार्वभौम अस्तित्वलाई र विचारलाई स्वीकारिन्न । तबसम्म उनीहरुलाई साहायकको रुपमा राखिन्छ । महिलालाई मूलधारमा नल्याउने र आउन नदिने मुल कारण यही हो । यो संरचनात्मक कारण हो ।’
जेनजीले राजनीतिमा पुस्तन्तरणको बहस छेडेता पनि महिला र पुरुषबीच समानताको बहस जुन तहमा हुनुपर्ने थियो त्यो हुन नसकेको उनलाई लाग्छ । फेरि पनि संरचनात्मक रुपमै परिवर्तन नहुँदासम्म महिलाको उपस्थिति र नेतृत्वको विषय व्यवहारमा देखिन गाह्रो हुने उनको बुझाइ छ ।
‘हिजो आन्दोलनमा नेतृत्व गरेको भन्नुको अर्थ छैन । नयाँ र पुराना भन्नुको पनि अर्थ छैन । किनभने यो चेतनाको कुरा हो’ उनी भन्छिन्, ‘उमेरको हिसाबले नयाँ पुस्ता हो । तर, हुर्काइ र चेतानामा हिजोकै निरन्तरता छ । जो विभिन्न रुपमा प्रकट हुन्छ र हुँदै आएको छ ।’
प्रतिक्रिया 4