+
+
Shares

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै

कुल ३ हजार ४ सय ८७ मध्ये कांग्रेसबाट ५५, एमालेबाट ५३, नेकपाबाट ३७, राप्रपाबाट ४५, रास्वपाबाट ३ र १११ स्वतन्त्र उम्मेदवार ६० वर्ष माथिका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ माघ ९ गते २१:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा ६० वर्ष उमेर पुगेकालाई कानुनत: ज्येष्ठ नागरिक मानिन्छ भने राजनीतिमा उमेरको अधिकतम हद छैन।
  • २१ फागुनमा हुने निर्वाचनमा ६० वर्ष वा माथिका ४९८ जना उम्मेदवार छन्, जसमा ८७ वर्षका समेत छन्।
  • नेपाली कांग्रेस, एमाले, नेकपा लगायत दलहरूले सयौं ज्येष्ठ नागरिकलाई उम्मेदवार बनाएका छन् र स्वतन्त्र उम्मेदवार पनि छन्।

९ माघ, काठमाडौं । नेपालको कानुनत: साठी वर्ष उमेर पुगेकाहरू ज्येष्ठ नागरिक हुन् । ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा २ ले ज्येष्ठ नागरिकको परिभाषा गरेको छ । जहाँ साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनेर सम्झनुपर्छ भनेर परिभाषित गरिएको छ ।

सरकारी कर्मचारी, सुरक्षा निकाय लगायतका कैयन जिम्मेवारीमा ज्येष्ठ नागरिकलाई बन्देज छ । तर, राजनीतिमा यस्तो छैन । जनप्रतिनिधि हुनका लागि उमेरको न्युनतमहद छ । अधिकतम उमेरहद राखिएको छैन ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन २५ वर्ष पूरा हुनुपर्छ । अधिकतम जति वर्ष भए पनि उम्मेदवारका लागि बन्देज छैन । यस्तो सुविधानको भरपुर उपयोग जेष्ठ नागरिकले गर्दै आएका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार ८७ वर्षका व्यक्ति समेत चुनावी मैदानमा उत्रिएका छन् । २१ फागुनमा हुने निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार चार सय ८७ जनाको उम्मेदवारी छ । यसमध्ये ६० वर्ष वा ६० वर्ष भन्दा माथिका उम्मेदवारको संख्या ४९८ रहेको छ ।

६० वर्षका मात्रै ६२ जना छन् । ६१ वर्ष देखि ८० वर्ष उमेर समूहका उम्मेदवारको संख्या ४२९ छ । ८० वर्ष वा सो भन्दा माथिका उम्मेदवारको संख्या सात रहेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा ८७ वर्षीय पूर्वप्रशासक मदनदेव आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रशासक आचार्यले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आफूले उम्मेदवारी दिएको बताएका थिए ।

झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट ८३ वर्षीय हिरण्यप्रसाद भट्टराईको उम्मेदवारी परेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा ८२ वर्षीय पञ्चकुमारी मानन्धरको स्वतन्त्र उम्मेदवारी छ ।

महोत्तरी–१ मा ८१ वर्षीय प्रेमबहादुर राना मगर र रुपन्देही–५ मा ८१ वर्षीय जयनारायण काफ्लेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

ओखलढुंगा १ मा राष्ट्रिय जनमोर्चाबाट ८० वर्षीय शेरबहादुर खत्री प्रत्यक्षतर्फ चुनाव लड्दैछन् ।

अर्का एक जना नागरिकतामा गलत मिति भएका कारणले ८० वर्ष माथिका उम्मेदवारको सूचीमा परेका छन् । ती हुन्– सर्लाही २ मा उम्मेदवारी दिएका महिन्द्र राय यादव । नागरिकता अनुसार उनको उमेर ८८ वर्ष छ । तर, उनको वास्तविक उमेर ७१ वर्ष हो । ७१ वर्ष आफैंमा जेष्ठ उमेर त हुँदै हो ।

स्वतन्त्र र पुराना दलबाट धेरै

जेष्ठ सदस्यलाई उम्मेदवार बनाउनेमा पुराना दलहरू अगाडि छन् । स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि उल्लेख्य छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार ६० वर्ष उमेर समूहका स्वतन्त्र उम्मेदवारको संख्या १३ छ । स्वतन्त्र उम्मेदवारी दिनेमा ६१ देखि ८० वर्ष उमेर समूहका ९४ जना छन् । ८१ वर्ष माथिका ४ जना छन् । अर्थात्, कुल स्वतन्त्र जेष्ठ उम्मेदवारको संख्या १११ जना रहेको छ ।

नेपाली कांग्रेसले ६० वर्षका पाँच जनालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट ६१ वर्ष माथिका उम्मेदवारको संख्या ५० छ । यो पार्टीबाट कुल जेष्ठ उम्मेदवारको संख्या ५५ रहेको छ ।

चितवन ३ मा कांग्रेसबाट ७७ वर्षीय टेकप्रसाद गुरुङ र मोरङ ६ मा ७५ वर्षीय शेखर कोइराला उम्मेदवार छन् । सुनसरी ३ मा ७२ वर्षीय विजय कुमार गच्‍छदार उम्मेदवार छन् ।

बारा ३ का उम्मेदवार फरमुल्लाह मन्सुर, मोरङ १ का उम्मेदवार टेकबहादुर गुरुङ र रुपन्देही ५ का उम्मेदवार भरतकुमार साह ७१/७१ वर्ष पुगे ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट उम्मेदवार रहेका विनोदकुमार चौधरी र अछाम १ का उम्मेदवार भरतकुमार स्वार ७०/७० वर्षका भए ।

सुनसरी ४ मा उम्मेदवार रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, धनुषा ३ का उम्मेदवार विमलेन्द्र निधि, पर्सा ४ का उम्मेदवार रमेश रिजाल र पर्वत १ का उम्मेदवार अर्जुनप्रसाद जोशी ६९/६९ वर्ष पुगे ।

कांग्रेसबाट ६८ वर्षीय मिनेन्द्र रिजाल मोरङ २ बाट उम्मेदवार छन् । डोटी १ का उम्मेदवार भरतबहादुर खड्का पनि ६८ वर्ष पुगे ।

महोत्तरी ४ मा कांग्रेसबाट उम्मेदवार महिन्द्र यादव, नुवाकोट १ का उम्मेदवार प्रकाशशरण महत, चितवन १ का उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र जुम्ला १ का उम्मेदवार दीपबहादुर शाही ६६/६६ वर्षका भए ।

एमालेको पनि उस्तै तथ्यांक

नेकपा एमालेबाट ६० वर्षका ८ जना र ६१ वर्ष माथिका ४५ जना गरेर ५३ जना जेष्ठ सदस्य विभिन्न क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं ७४ वर्षका भए । उनी झापा ५ बाट उम्मेदवार छन् । उनी २०४८ साल यताका सदाबहार उम्मेदवार हुन् ।

पर्सा ४ मा ७८ वर्षीय जालिममिया मंसुरी एमालेबाट उम्मेदवार छन् ।  काठमाडौं ५ मा इश्वर पोखरेल उम्मेदवार छन् । पोखरेल ७२ वर्षका भए ।

निवर्तमान सभामुख समेत रहेका ६९ वर्षीय देवराज घिमिरे झापा २ बाट उम्मेदवार छन् । झापा ३ मै एमालेका उम्मेदवार हरिबहादुर राजवंशी र सुनसरी ४ का उम्मेदवार जगदीशप्रसाद कुशियेत ६६/६६ वर्षका भए ।

लमजुङ १ का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, सिरहा ३ का उम्मेदवार लिलानाथ श्रेष्ठ र दाङ १ का उम्मेदवार रेवतीरमण शर्मा घिमिरे ६८/६८ वर्षका भए ।

सप्तरी १ का उम्मेदवार सुमनराज प्याकुरेल र रुपन्देही १ का उम्मेदवार दधिराम न्यौपाने ६७/६७ वर्षका भए ।

रुपन्देही २ का उम्मेदवार विष्णुप्रसाद पौडेल, कैलाली ४ का उम्मेदवार लेखराज भट्ट ६६/६६ वर्षका भए । कांग्रेस छाडेर एमालेबाट कपिलवस्तु ३ मा उम्मेदवारी दिएका वीरेन्द्रकुमार कानोडिया पनि ६६ वर्ष पुगे ।

सिरहा ४ मा ६५ वर्षीय धर्मनाथप्रसाद साह उम्मेदवार छन् ।

नेकपामा केही कम

कांग्रेस र एमालेको तुलनामा नेपाली कम्युनिस्ट पार्टीबाट केही कम संख्यामा जेष्ठ सदस्य उम्मेदवार छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट ६० वर्ष उमेर समूहका एक जना र ६१ वर्ष माथिका ३६ जना उम्मेदवार छन् । अर्थात्, यो पार्टीले ३७ जना जेष्ठ नागरिकलाई उम्मेदवार बनाएको छ ।

रुकुम पूर्वबाट उम्मेदवार रहेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ७० वर्षका भए । नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट १ मा उम्मेदवार छन् । नेपाल ७२ वर्षका भए ।

तेह्रथुम १ मा ६७ वर्षीय रणध्वज लिम्बू, मोरङ २ मा ७० वर्षीय चन्द्रवीर राई, खोटाङ १ मा ६७ वर्षीय हरि रोका, सिरहा ३ मा ७२ वर्षीय विश्वनाथ साह, धनुषा १ मा ६७ वर्षीय मातृकाप्रसाद यादव, धनुषा २ मा ७१ वर्षीय रामचन्द्र झा उम्मेदवार रहेका छन् ।

महोत्तरी १ मा ६८ वर्षीय गिरिराजमणि पोखरेल, महोत्तरी ३ मा ६९ वर्षीय राजकिशोर साह, सर्लाही ३ मा ६६ वर्षीय नारायणकाजी श्रेष्ठ, धादिङ १ मा ६९ वर्षीय राजेन्द्रप्रसाद पाण्डे, धादिङ २ मा ६६ वर्षीय रामबहादुर भण्डारी, कास्की ३ मा ७० वर्षीय गोपाल गिरी उम्मेदवार छन् ।

पाल्पा २ मा ७० वर्षीय सोमप्रसाद पाण्डे, दैलेख १ मा ७० वर्षीय अम्मरबहादुर थापा, अछाम १ मा ७० वर्षीय भीमबहादुर रावल, कञ्चनपुर ३ मा ७० वर्षीय मानबहादुर सुनार उम्मेदवार रहेका छन् ।

राप्रपामा ४५, रास्वपाबाट ३

राप्रपाबाट ६० वर्ष उमेर समूहका ९ जना उम्मेदवार छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ६० वर्षका भए । उनी झापा ३ बाट उम्मेदवार छन् । राप्रपाबाट ६१ वर्षमाथिका ३६ जना उम्मेदवार छन् । समग्रमा राप्रपाबाट ४५ जना जेष्ठ नागरिक उम्मेदवार छन् ।

जनता समाजवादी पार्टी नेपालबाट ६० वर्ष उमेरका २ जना र ६१ वर्ष माथिका १५ गरेर १७ जना जेष्ठ नागरिक उम्मेदवार रहेका छन् ।

उज्यालो नेपाल पार्टीबाट पनि १० जना जेष्ठ नागरिक उम्मेदवार छन् । एक जना ६० वर्षका छन् भने बाँकी ९ जना ६१ वर्ष माथिका छन् ।

श्रम संस्कृति पार्टीबाट ६ जना जेष्ठ नागरिक उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जेष्ठ नागरिक समूहबाट उम्मेदवार हुनेको संख्या ३ छ । ६० वर्षीय देवराज पाठक दाङ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार छन् । रास्वपाले ६३ वर्षीय विक्रम थापालाई कपिलवस्तु २ र ६५ वर्षीय सिताराम साहलाई सप्तरी ४ मा उम्मेदवार बनाएको छ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?