+
+
Shares

यूरोप पठाउने भन्दै ४० जनाबाट करिब ३ करोड ठगी, आरोपित फरार

कात्तिक २४ गते पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पक्राउ नगर्दा माघ १ गते यादव विदेश गएर सुरक्षित भएको भन्दै पीडितहरले प्रहरी प्रशासनको आलटाल र ढिलासुस्तीबारे छानबिन हुनुपर्ने माग गरेका छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ माघ १० गते २०:४७

१० माघ, बुटवल । वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिने भन्दै रुपन्देहीको मायादेवी गाउँपालिका–२ का पिताम्बर यादवले ठूलो रकम ठगी गरेको पीडितहरूले गुनासो गरेका छन् । पीडितहरूले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न जिल्लाका करिब ४० जनाबाट झन्डै ३ करोड रुपैयाँ ठगी गरिएको सार्वजनिक गरेका हुन् ।

पीडितहरूका अनुसार यादवले आफू युरोप पठाउने भरपर्दो ‘एजेन्ट’ भएको दाबी गर्दै आकर्षक तलबको प्रलोभन देखाएर युवाहरूलाई नक्कली भिसा दिएर ठगेका छन् । तीन महिनामा भिसा लाग्ने, राम्रो आम्दानी हुने र कानुनी प्रक्रिया पूरा गरिदिने आश्वासन दिएर यादवले एक व्यक्तिबाट ४० लाख रुपैयाँसम्म रकम उठाएको पीडितमध्येका एक तिलोत्तमा वडा नं. ६ का गोपाल रिजालले बताए ।

रिजालका अनुसार बागलुङका खिम छन्त्यालबाट यादवले ४० लाख लिएपनि यूरोपमा रोजगारीका लागि पठाएनन् । ऋण लिएर यादवलाई लाखौं रकम दिएपनि यूरोप जान नपाएपछि छन्त्याल मानसिकरुपमा विक्षिप्त भएका र सम्पर्कविहीन बनेका रिजालको गुनासो छ ।

‘मलाई स्वीटजरल्याण्डसँग जोडिएको लेक्सिटाइन भन्ने देशमा पठाउने भनेर पटक पटक गरी १३ लाख ५० हजार लिए, थाइल्याण्ड गएर भिसा लाग्छ भनेर टुरिस्ट भिसामा थाइल्याण्ड पुर्‍याएर ४० दिन राखेपछि भिसा दिए तर पछि त्यो नक्कली भन्ने पुष्टी भयो,’ रिजालले भने, ‘ग्रील उद्योग बेचेर, ससुरालीसँग ऋण लिएर र घरजग्गा धितो राखेर झण्डै २० लाख खर्च भयो तर यूरोपमा रोजगारीमा जान पाइएन अहिले घर न घाटको भएको छु, दिमागमा ऋण कसरी तिर्ने भन्ने चिन्ता मात्र छ ।’

भिसा पाएपछि काठमाडौं आएर लेक्सिटाइन जाने तयारी गर्दा कसैले उक्त भिसा फेक हो भनेपछि वैदेशिक रोजगार विभाग र सम्बन्धित देशको दुतावासमा गएर बुझ्दा नक्कली भिसा भनेपछि आफू त्यहीं ढलेको रिजालले गुनासो गरे ।

यादवको समूहले थाइल्याण्डमा नक्कली इमिग्रेसन अफिस र नक्कली पोर्टल (वेबसाइट) बनाएर भिसा ट्रयाकिङ गर्दा निश्चित अवधिसम्म सक्कली नै देखाउने गरी संगठित र योजनाबटवद्ध ठगी गरेको दाबी उनले गरे ।

अर्का पीडित रोहिणी गाउँपालिका वडा नं. १ का सन्दिप कुमार यादवले अजरबैजान पठाउने भन्दै यादवले आफ्नो ६ लाख ७० हजार ठगेको बताउँदै आफूलाई पनि नक्कली भिसा दिएर ठगेको आरोप लगाए ।

अजरबैजान पठाउन नसकेपछि बोस्निया पठाउने भनेर अल्मल्याएको तर बोस्नियाको पनि नक्कली भिसा दिएर ठगेको यादवले गुनासो गरे ।

ठगिएको थाहा पाएर रकम फिर्ता माग्दा नदिएपछि आफूहरू वैदेशिक रोजगार विभाग भएर उजुरी गरेको र पक्राउ पुर्जी जारी भएपनि प्रहरीले चासो नदिँदा यादव र उनकी श्रीमती दुवै विदेश भागेको सन्दिपले गुनासो गरे ।

‘कात्तिक २४ गते पक्राउ पुर्जी जारी भएको थियो तर प्रहरीले पक्राउ नगर्दा माघ १ गते यादव विदेश गएर सुरक्षित भएको सूचना छ,’ सन्दिपले भने, ‘प्रहरी प्रशासनको आलटाल र ढिलासुस्तीबारे पनि छानबिन हुनुपर्छ ।’

पीडितहरूले यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा वैदेशिक रोजगार विभागमा पटक–पटक उजुरी लिएर जाँदा समेत हालसम्म कुनै ठोस कारबाही अघि नबढेको गुनासो गरेका छन् ।

तिलात्तमा १४ का अमरजित सेन्चुरी, मुक्ति कालिकोटे र शिव आलेलाई सर्बिया पठाउने भन्दै यादवले तीनजनाबाट १३ लाख रुपैयां लिएर नपठाएको  सेन्चुरीले गुनासो गरे ।

‘ठगिएपछि हामीले सबै प्रमाणसहित उजुरी दिन गएका थियौं तर प्रहरीले अनेक बहानामा आलटाल गर्दा पीडितहरू थप पीडामा परेका छौँ,’ सेन्चुरीले भने ।

गैडहवा गाउँपालिका ६ का भिसन लोधले आफूलाई  लेक्सिटाइन पठाउने भनी यादवले ९ लाख रुपैयां लिएर नक्कली भिसा दिएर ठगेको गुनासो गरे ।

भिसनका अनुसार उनका नातेदार सरकारी बैंकका जागिरे युवालाई पनि लेक्सिटाइन पठाउने भनी यादवले ८ लाख रुपैयाँ लिएर नक्कली भिसा दिँदा ती युवा नक्कली भिसा बोकेको अभियोगमा थाइल्याडबाट फर्किंदा मुम्बईमा पक्राउ परी ५२ दिन थुनामा बस्न बाध्य भए । उनको मुद्दा अझै नटुंगिएको र लामो समय सम्पर्कविहीन हुँदा बैंकको जागिर गुमेको भिसनले बताए ।

ठगीको शिकार बनेका युवाहरू रुपन्देहीका मात्र नभई पाल्पा, बाग्लुङ र कास्की जिल्लासम्मका रहेको पीडितहरूले जनाएका छन् ।

यादवको ठगी विरुद्ध पीडितहरू संगठित भएर कानूनी उपचार खोज्ने भएका छन् ।

 पत्रकार सम्मेलनमा पीडितहरूले यादव हाल दुबईमा रहेको जानकारी दिँदै उनलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् । पीडितहरूले वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रण गर्न राज्य संयन्त्र कमजोर देखिएको टिप्पणी गर्दै दोषीलाई संरक्षण गर्ने प्रवृत्तिविरुद्ध कडा कदम चाल्न सरकारसँग माग गरेका छन् । समयमै कारबाही नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । पीडितहरूले रुपन्देहीका ५ वटै क्षेत्रका उम्मेदवारहरूलाई ज्ञापनपत्र बुझाई यादवलाई पक्राउ गरी आफ्नो रकम फिर्ताको माग गर्ने जनाएका छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?