११ माघ, काठमाडौं । कर्णाली प्रदेशमा पनि राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान ९ बजेदेखि मतदान सुरु भएको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका लागि कर्णालीमा प्रदेशबाट एक महिला र एक अन्य कलस्टरमा निर्वाचन भइरहेको छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
कर्णालीमा नेपाली काँग्रेस र एमालेबिच गठबन्धन भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै चुनावी मैदानमा होमिएको छ । गठबन्धनतर्फबाट काँग्रेस प्रदेश सभापति ललितजंग शाही उम्मेदवार बनेका छन् । शाही ०७९ मा प्रदेश सभाको निर्वाचनमा पराजित भएका थिए ।
उनलाई कांग्रेसबाटै विद्रोह गरी स्वतन्त्र चुनाव लडेका देवेन्द्रबहादुर शाहीले जुम्ला (क)बाट पराजीति गरेका थिए ।
गठबन्धनकै तर्फबाट नेकपा एमालेले मिनासिंह रखाललाई उम्मेदवार बनाएको छ । दैलेख निवासी रखाल ०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेश सभा सदस्य बनेकी थिइन् ।
नेकपाले भने रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मा र महिलातर्फ डोल्पाकी अन्जु महतरा (शाही)लाई उम्मेदवार बनाएको छ । अन्जु साबिकको नेकपा एकीकृत समाजवादीकी हुन् भने शर्मा साबिकको माओवादी निकट नेता हुन् ।
अहिले चुनाव हुन लागेको अन्य कलस्टर यसअघि तत्कालीन माओवादीले जितेको थियो । मायाप्रसाद शर्मा निर्वाचित भएका थिए । यस्तै महिला कलस्टरतर्फको सिट एमालेको हो । एमालेकी सुमित्रा बिसी सदस्य छिन् ।
यो भन्दा अघिल्लो राष्ट्रियसभा निर्वाचनमा एमाले र माओवादी गठबन्धन गरेर चुनाव लडेका थिए ।
कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ । प्रदेशसभामा ४० सदस्य छन् भने ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको संख्या १५८ छन् ।
प्रतिक्रिया 4