News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतस्थित ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सको नयाँ कार्यसमिति ट्राभल व्यवसायी विराज भट्टको अध्यक्षतामा सर्वसम्मत चयन भएको छ।
- कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायत र नेपालबीच सन् २०१९ मा कुल व्यापार ६०९ मिलियन पाउण्ड रहेको तथ्यांक प्रस्तुत गर्नुभयो।
- नवनिर्वाचित अध्यक्ष भट्टले आउँदो अक्टोबर २०२६ मा नेपालमा ट्रेड मिसन लैजाने र दोहोरो कर प्रणाली हटाउन निरन्तर प्रयास गर्ने बताउनुभयो।
११ माघ, लन्डन । बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था ‘ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स’ मा नयाँ नेतृत्व चयन भएको छ ।
लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी विराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । भट्ट यसअघि संस्थाको उपाध्यक्ष थिए ।
साधारणसभाले उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेललाई चुनेको छ भने सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा प्रभु न्यौपाने, कृष्ण भट्ट, सन्तोष मण्डल, नाडिया विलियम्स्, अन्जनी फुँयाल, प्रकाश ढुंगाना, अनिल न्यौपाने, दीपक श्रेष्ठ, मोसाद अन्जिज, बीपी खनाल, वसन्त नेपाल, विकास नेपाल र क्याम्पबेल मिचेल चयन भएका छन् । संस्थाको सीईयो स्टिभ बक्ले चुनिएका छन् ।
बीएनसीसी संरक्षक कार्यवाहक राजदूत विपिन दुवाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा निवर्तमान कार्यसमितिको सफल कार्यकालप्रति कृतज्ञता व्यक्त गरे ।
उनले बेलायत र नेपालबीच आयात र निर्यात गरि २५० मिलियन पाउण्ड व्यापार भएको तथ्यांक पेस गर्दै एक दशकयता सन् २०१९ मा कुल व्यापार ६०९ मिलियन पाउण्ड रहेको जानकारी दिए ।
उनका भनाइमा सन् २०१५ मा बेलायत नेपाल व्यापार तीनसय मिलियन पाउण्ड बढी थियो। तर, पछिल्ला वर्षहरुमा यो तीनसय मिलियन पाउण्ड भन्दा कम छ ।
कार्यवाहक राजदूत दुवाडीले गत वर्ष सन् २०२५ को ६ महिनामा यूकेबाट नेपाल निर्यात ६८ मिलियन पाउण्ड र आयात १८२ मिलियन पाउण्ड रहेको तथ्यांकसमेत पेस गरे ।
उनले वैदेशिक लगानीका लागि नेपाल उचित गन्तव्य भएको बताए । दूतावासले बीएनसीसीसँग सहकार्य गरि नेपालमा वैदेशिक लगानीका लागि पहल गरिरहेको उनले बताए। बेलायतस्थित नेपाली डायस्पोराले व्यापार तथा लगानीमार्फत देशको समृद्धिमा काम गर्नु कर्तव्य हुनेसमेत उनले बताए ।
नवनिर्वाचित अध्यक्ष भट्टले संस्थाले बेलायतमा रहेका नेपाली व्यवसायीहरुलाई थप समेट्दै नेपालमा लगानी वृद्धिका लागि निरन्तर पहल गर्ने बताए ।
उनले आउँदो अक्टोबर २०२६ मा नेपालमा ट्रेड मिसन लैजाने योजना रहेको बताउँदै संस्थाले दोहोरो कर प्रणाली हटाउने सम्बन्धमा निरन्तर प्रयास गर्ने पनि बताए ।
उनले बीएनसीसीले विगत र भविष्यमा पनि नेपाल सरकार, लन्डनस्थित नेपाली दूतावास, बेलायती विदेश मन्त्रालय (एफसीडीओ) लगायत निकायसंग निरन्तर सहकार्य गरी नेपाल र नेपाली व्यवसायीको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
निवर्तमान अध्यक्ष डा. कपिल रिजालले एक अर्का व्यवसायीहरुमा सहयोग गर्नु महत्वपूर्ण भएकाले त्यसैका लागि बीएनसीसी गठन भएको बताए ।
सन् १९९६ मा स्थापित संस्थाले बेलायत नेपाल व्यापार, पर्यटन प्रवर्धन एवं लगानी अभिवृद्धिका लागि निरन्तर पहल गर्दै आएको छ ।
प्रतिक्रिया 4