+
+
Shares

चुनावी माहोलले सेयर बजारमा उत्साह, नेप्से ५८ अंक बढ्दा १४ अर्बको कारोबार 

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा देश होमिएपछि सेयर बजार सूचकमा उच्च अंकको सुधार देखिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशभरि चुनावी माहोल बढेसँगै नेप्से परिसूचक २७७२.१७ अंकमा पुगेर ५७.५५ अंकले वृद्धि भएको छ।
  • आइतबार नेप्सेमा २४० कम्पनीको सेयर मूल्य बढेको र कारोबार रकम करिब १४ अर्ब रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
  • बैंकिङ, जलविद्युत्, जीवन बीमा लगायत समूहगत परिसूचकमा उल्लेखनीय वृद्धि देखिएको छ र ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

११ माघ, काठमाडौं । देशभरि चुनावी माहोल बढेसँगै सेयर बजारमा उत्साह आएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा देश होमिएपछि सेयर बजार सूचकमा उच्च अंकको सुधार देखिएको हो ।

६ माघमा चुनावी उम्मेदवारको नाम दर्ता भएसँगै बढ्न सेयर बजार सकारात्मक हुँदै आएको छ । गत साता बुधबार ९ अंकले ‘करेक्सन’ भएको सेयर बजार सूचक अन्य कारोबार दिन बढेको थियो ।

गत साताभरि करिब ७० अंकले बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक यो साता पहिलो दिन आइतबार नै साढे ५७ अंकले बढेको हो ।

आइतबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा २७१४.६१ अंकमा रहेको नेप्से बन्द हुँदा ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका २ सय ४० कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको नेप्सेले जनाएको छ । सेन्सेटिभ इन्डेक्स समेत ८.०५ अंकले बढेको छ ।

तोकिएको समयमा निर्वाचन सम्पन्न भए पनि राजनीतिक स्थिरता आउने अपेक्षामा लगानीकर्ताले लगानी बढाउन थालेको देखिन्छ । त्यसैगरी नेप्सेमा सूचिकृत कम्पनीको चालु आर्थिक वर्ष दोस्रो त्रैमासको कार्यसम्पादन विवरण आउन थालेपछि सेयर बजार सूचक सुधारमा थप मद्दत पुगेको हो ।

आइतबार सेयर बजार सूचक मात्रै होइन, कारोबार रकममा पनि उच्च सुधार आएको छ । नेप्सेमा नयाँ लगानीकर्ता प्रवेश तथा पुराना लगानीकर्ताको लगानीमा वृद्धि भएपछि कारोबार रकम पनि बढेको हो । आइतबार नेप्से कारोबार रकम नै करिब १४ अर्ब रुपैयाँ हाराहारी पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २४.९१, विकास बैंक ९९.०९, वित्त ४५.२९, होटल २४६.२५, जलविद्युत् ९५.९९, लगानी २.९९, जीवन बीमा २६८.६८, उत्पादनमूलक २७५.२९, लघुवित्त ८१.१०, सामूहिक लगानी कोष ०.२०, निर्जीवन बीमा २२०.७५, अन्य ३७.९६ र व्यापार ५६.९३ अंकले बढेका छन् ।

आइतबार नेप्सेमा कारोबार भएका १९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । नेप्सेमा ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी नेप्सेमा ३  सय ३१ कम्पनीको १ लाख ३३ हजार ५ सय २९ कारोबारबाट १३ अर्ब ७८ करोड बराबरका ३ करोड ९ लाख १५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो कारोबार रकम गत साता बिहीबारको तुलनामा करिब ४ अर्बले धेरै हो । बिहीबार नेप्सेमा ९ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?